कोरियामा भिसा सकिएपछि कार्यरत कम्पनीमा फेरि जान पाउने
प्रकाशित मिति : असार ६, २०७४ मंगलबार
असार ६, २०७४- दक्षिण कोरियामा चार वर्ष १० महिना कार्यअवधिको भिसा सकिएपछि कार्यरत कम्पनीमै आउन पाउने इपिएस कामदारको पुनः प्रवेश सम्झौता गर्न सकिने समय थपिएको छ । यस्ता कामदारले भिसा अवधि सकिनेभन्दा ९० दिनअघि नै पुनः प्रवेश सम्झौता लिन सकिने भएका छन् । यसअघि ७ देखि ३० दिनअघि मात्र पुनः प्रवेश सम्झौता लिन सकिन्थ्यो ।
यही जुन ७ तारिखदेखि कोरियाको मानव संशाधन केन्द्र (एच.आर.डी) कार्यालयले सो परिवर्तित नियम लागू गरिसकेको सहजकर्ता श्याम खड्काले जनाएको छ । ५० जनाभन्दा कम कोरियन कामदार भएको कम्पनीमा सुरुदेखि नै कम्पनी परिर्वतन नगरेका कामदारले सो सुविधा पाउन सक्ने छन् । सुरुदेखि नै एउटै कम्पनीमा भिसा अवधिभर काम गरेका कामदारलाई जेहेन्दार कामदारको रुपमा कम्पनीले चाहेमा पुन ४ वर्ष १० महिना अवधिको भिसासहित बोलाउन सक्ने प्रावधान रहेको छ ।
पुनः प्रवेश सम्झौता लिन सकिने म्याद थपिएपछि भिसा नसकी कुनै कारणवस चाँडै नेपाल फर्कन परे कम्पनीले चाहेमा पुनः प्रवेश सम्झौता गरी नेपाल जान सकिने छ । यदि कम्पनीकै कारण कम्पनी परिर्वतन गर्नुपरेका कामदारले पनि यस्ता सुविधा लिन पाउने छन् । तर, सो कम्पनीमा काम गरेको १ वर्ष पुगेको हुनुपर्ने छ ।
आफैंले कम्पनी परिवर्तन गरेका कामदारको लागि भने यो सुविधा छैन । यस्ता कामदारले भने स्वदेश फर्केपछि कम्प्युटर बेस (सिविटी) परीक्षा दिएर पुनः कोरिया आउन सक्नेछन् । तर, हाल नेपालमा सिविटी परीक्षा स्थगित गरिएको छ ।