चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै
प्रकाशित मिति : चैत्र १०, २०७८ बिहीबार
चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी आज (शुक्रबार) नेपाल भ्रमणमा आउँदैछन् । तीन दिने नेपाल भ्रमणका लागि विदेशमन्त्री वाङ भारत हुँदै आज काठमाडौं आउन लागेका हुन् ।
नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएपछि आउने उनी पहिलो उच्चस्तरीय पाहुना हुन् । परराष्ट्रमन्त्री डा.नारायण खड्काको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने छन् ।
यसैगरी भ्रमणका क्रममा उनले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्ने तय भएको छ । विदेशमन्त्री वाङ चैत १३ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।
वाङको भ्रमणका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । वाङ बस्ने ठाउँदेखि सडक तथा औपचारिक र अनौपचारिक कार्यक्रम स्थलहरूमा विशेष निगरानीसहितको सुरक्षा सतर्कता बढाइने भएको छ ।