पूर्वाधारपछि पुनर्जीवनतिर कुम्मायक


प्रकाशित मिति : चैत्र २८, २०७८ सोमबार

–रवीन्द्र काफ्ले/

बर्सेनि वर्षा कम हुँदै जाँदा विसं २०६५ पछि यासोक, स्याबरुम्बा र रानीगाउँ गाविसमा खानेपानीको हाहाकार हुन थाल्यो । पिउने पानीसमेत घन्टाँैं लगाएर बोक्नुपर्ने भएपछि अन्नबाली उत्पादन र पशुपालन कठिन हुँदै गयो । खानेपानीका मुहान सुकेको र वर्षासमेत निकै कम हुन थालेपछि जिल्लाको पश्चिम–दक्षिण क्षेत्रमा पर्ने ती गाविसलाई सरकारले विसं २०६८ मा सुख्खाग्रस्त क्षेत्र घोषणा ग-यो । खानेपानी अभावपछि स्थानीयवासीको दिनचर्या कष्टकर त भयो नै, जीविकोपार्जनका माध्यम सीमित हुँदै जाँदा गरिबी, बेरोजगारी र खाद्यान्न अभाव हुन थाल्यो ।

निकै समय लगाएर गाग्रीमा पानी बोकेर ल्याई पिउनुपर्ने र वैदेशिक रोजगारीमा गएका आफन्त वा अन्य रोजगारी गर्ने परिवारका सदस्यको कमाइका भरमा जीवन गुजार्नुपर्ने बाध्यता कतिपय स्थानीयवासीलाई आइप¥यो । परिणामतः अन्यत्र बसाइँ सरेर गई जीविका चलाउन सक्नेहरूले आफ्नो थातथलो छाडे । घरहरू खाली हुँदै जाँदा गाउँबस्ती सुनसान हुन थाले । बसाइँ सर्न नसक्ने र खानेपानी अभावको समस्या सामान्य रहेका ठाउँका स्थानीयवासी भने पुराना दिन फर्किने आशामा बाँचिरहे ।

सुन्दा चलचित्रको कथाजस्तो लागे पनि यो कुम्मायक गाउँपालिकाका बासिन्दाको बिर्सनलायक विगतको यथार्थ हो । समय क्रमसँगै अप्ठ्यारामै जिउन धेरैको बानी प¥यो । ट्रयाक्टरमा प्लास्टिकका ट्यांकीमा पानी ल्याई पिउने र प्लास्टिक पोखरीमा वर्षात्को पानी जम्मा गरी गाईवस्तुलाई दिने गर्न थालियो ।

खानेपानीको चरम अभाव भएका ती स्थानमा सम्भव हुने मुहान कहीँ कतै थिएनन् । वर्षा कम हुँदा पुराना मुहानमा पानी रसाउने सम्भावना पनि थिएन । सबैमा खानेपानीको हाहाकार अनन्त पो होला कि भन्ने डर थियो।

विसं २०७० पछि भने तमोर नदीको पानी विद्युतीय पम्पिङमार्फत ती स्थानमा वितरण गर्न सकिने भनी चर्चा हुन थाल्यो । पम्पिङ खानेपानी आयोजना निर्माणका लागि निरीक्षण र सर्भेका काम हुन थाले । तमोरको पानी डाँडामाथि ल्याई वितरण गर्न सम्भव हुनेमा धेरै स्थानीयवासी विश्वस्त थिएनन् ।

खानेपानीको चरम अभाव भएकै क्षेत्र रानीगाउँका डम्बरसिंह सम्बाहाम्फे यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य तथा संविधानसभा सदस्य हुँदै राज्यमन्त्रीसम्म बन्नुभएको थियो । गाउँको समस्या सिंहदरबारमा पु¥याउने, सुनाउने र घच्घच्याउने बलियो माध्यम तिनै भएकाले स्थानीयवासी धेरै हदसम्म आशावादी थिए । यहाँका अगुवाले सिंहदरबारमा मन्त्रालयका ढोका दर्जनौंँ पटक ढक्ढक्याएपछि सरकार पनि समस्या अनुभूत गर्न तयार भयो ।

समय क्रमसँगै पम्पिङ खानेपानी निर्माणको सुरुआत भयो । सुख्खापनले प्रभावित तीन गाविस तथा माङ्जाबुङ गाविससमेत समेटिएको कुम्मायक गाउँपालिका बन्यो । गाउँपालिकाले ट्याङ्करमा पानी ल्याई सुलभ दरमा वितरण गर्न थाल्यो । यसरी ल्याइएको पानी घरघरमा वितरण सम्भव नभए पनि यासोक बजारसहित मुख्य ठाउँसम्म पुग्यो । “खानेपानीको चरम अभाव समाधान गर्न ट्याङ्करको सहायताले खानेपानी वितरण गर्ने कार्यले पनि नागरिकलाई ठूलो राहत दियो”, गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले सम्झनुभयो ।

लगत्तै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयो । सङ्घ र प्रदेशमा सरकार बने । सुख्खाग्रस्त क्षेत्रसम्म कालोपत्रे सडक विस्तार गर्न सङ्घ र प्रदेश सरकारले बजेट छुट््याए । यहाँका धेरै बासिन्दाले कल्पना नै नगरेको ‘तमोर कोरिडोर’ सडक निर्माणको चर्चा सुरु भयो । विसं २०७५ देखि तमोरको किनारैकिनार दुई लेनको सडकका लागि साधारण मार्ग खोल्ने काम भयो ।

सडकले बदल्यो जीवनशैली

कुम्मायक–५ स्याबरुम्बाकी मञ्जु आचार्यले विद्यालय, स्वास्थ्यचौकी र सानो बजारसमेत रहेको पिपलबोटे चोक छाडेर अहिले सोही वडाको भुल्के भन्ने ठाउँमा नयाँ घर बनाउनुभएको छ । तमोर कोरिडोर सडक निर्माण सुरु भएपछि आचार्यले भुल्केमा जग्गा खरिद गर्नुभएको थियो । तीन वर्षअघि रु दुई लाखमा एक रोपनी जग्गा खरिद गरी करिब रु २० लाखमा उहाँले दुईतले घर निर्माण गरिसक्नु भएको छ । उहाँले जस्तै भुल्केमा अन्य तीन जनाले सडक किनारामा घर निर्माण गरिसकेका छन् । “अहिले जग्गाको दाम मैले खरिद गरेको समयभन्दा ठ्याक्कै दोब्बर भएको छ”, आचार्यले भन्नुभयो, “घर बनाउने क्रम क्रमशः बढ्दै गएको छ ।”

उत्तर–दक्षिण सडकका रुपमा छिमेकी मुलुक भारत र चीनलाई जोड्ने तमोर कोरिडोर सडकका आसपासमा नयाँ संरचना निर्माणका लागि यहाँ जग्गा खरिद गर्ने लहर नै चलेको छ । यहाँ सामान्य रुपमा व्यवसाय चल्न थालेको छ । “सानो किराना पसलबाट व्यवसाय थालेका छौँ । अरूले पनि साधारण पसल खोल्न थालेका छन्”, आचार्यले भन्नुभयो ।

स्थानीयवासीका अनुसार भुल्के क्षेत्रमा मात्रै अहिलेसम्म ३० रोपनी जमिन खरिदबिक्री भइसकेको छ । सडकका दायाँबायाँका अधिकांश जग्गा बिक्री भएका छन् । रोचक त के छ भने यहाँ एक व्यक्तिले पाँच वर्षअघि ४० रोपनी जमिन रु ६० हजारमा खरिद गरेका थिए । खानेपानी, विद्युत्, सडकलगायत कुनै पूर्वाधार नहुँदा जति मूल्य पाए पनि मानिसले जग्गा बिक्री गर्थे । अहिले त्यो जमिन रु ४० लाखभन्दा बढी मूल्यमा बिक्री हुने अवस्थामा पुगेको छ ।

सानोतिनो व्यवसायसमेत चल्न थालेपछि स्थानीयवासीले तमोर कोरिडोर सडक तत्कालै कालोपत्रे गर्नुपर्नेमा जोड दिन दिइरहेका छन् । “तमोर कोरिडोरको निर्माण सुरुआत भएपछि सडक विस्तार गर्नेसम्मका काम तीव्र गतिमा भए”, भुल्केकै पदमबहादुर कार्कीले भन्नुभयो, “कालोपत्रेको काम अविलम्ब थालियोस् भन्ने हाम्रो चाहना हो ।”

ट्र्याक खुल्नेबित्तिकै सवारी साधन पनि गुड्न थाले । गत असोजसम्म सुनसरीको धरान तथा झापाको दमकका लागि पाँचथर र ताप्लेजुङबाट यात्रुबाहक बस र ट्याक्सी छुट्थे । बेमौसमी वर्षाका कारण भने हिलिहाङ–५ सुभाङमा कोरिडोरअन्तर्गतको सडक बगेकाले कुम्मायकको यासोक र तुम्बेवाको मौवाबाट मात्रै कोरिडोर हुँदै सवारी सञ्चालन हुँदै आएका छन् । “एक दशकअघिसम्म यहाँ एक्लै हिँड्न डरमर्दो हुन्थ्यो । बस्ती पातलिँदै थियो”, कुम्मायक–५ का पूर्णबहादुर थापाले भन्नुभयो, “अहिले हाम्रो गाउँ पनि बजार जस्तै बन्ला कि भन्ने लाग्न थालेको छ ।” पूर्वाधार निर्माणले जनजीवन सहज हुनाका साथै सेवा प्राप्त गर्न सहज भए पनि स्थानीयवासीमा खुसी छाउन थालेको छ ।

“पहिले हेरी धेरै सुविधा थपिएका छन् । बाटाले यो ठाउँ नै फेरिएको छ”, आचार्यले भन्नुभयो, “पहिले जङ्गल घारी रहेका ठाउँमा अहिले १० मिटर चौडा बाटो बनेको छ । पहिले के हुन्छ होला र भन्ने लागेको थियो । यति छिटो भाउ बढ्ला भन्ने मलाई नै लागेको थिएन ।” सडक बने पनि खानेपानी आयोजना सम्पन्न नभएको भए अहिलेको अवस्था नआउने उहाँको भनाइ छ ।

जीविकाका आधार खानेपानी र बिजुली

सडक निर्माण भएर मात्रै कुम्मायकवासीले शान्तिको सास फेर्न सक्ने अवस्था अवश्यै थिएन । सडकसँगै खानेपानी र विद्युत् विस्तार भएपछि स्थानीयवासीलाई जीविका चलाउन केही सहज भएको छ । ‘यासोक बृहत् पम्पिङ खानेपानी आयोजना’मार्फत पम्पिङ प्रविधिबाट तमोरको पानी कुम्मायक –१, ३, ४ र ५ मा वितरण थालिएपछि बसाइँ सर्ने क्रम क्रमशः कम हुँदै गएको छ । खानेपानीसँगै ती वडामा विद्युतीकरणको कामसमेत पूरा भएको छ । गाउँगाउँसम्म झलमल्ल बत्ती पुगेपछि सुख्खाको समस्या झेलेरै भए पनि स्थानीयवासी आफ्नै गाउँमा खुसी खोजिरहेका छन् ।

एकैसाथ ठूला पूर्वाधार निर्माण सामान्य प्रयासले सम्भव भएको भने अवश्य होइन । खानेपानीका मुहान सुक्दै गएपछि साविकका यासोक, स्यावरुम्बा र रानीगाउँ गाविसका लागि आर्थिक वर्ष २०७२÷०७३ देखि बृहत् पम्पिङ खानेपानी आयोजना निर्माण सुरु भएको थियो । रु ५१ करोड ३० लाख २० हजारको लागतमा बृहत् खानेपानी आयोजना सम्पन्न भएपछि यहाँका करिब दुई हजार ४०० घरपरिवारले अहिले नियमित खानेपानी उपभोग गर्न पाएका छन् । अझै करीब ६०० परिवारमा खानेपानी पु¥याउने प्रयासमा सरोकार पक्ष जुटिरहेको छ ।

कुम्मायक– ५ स्यावरुम्बाको लुबुघाटबाट तमोरको पानी एक हजार ४३४ मिटर उचाइमा रहेको यासोक बजारसम्म पु¥याई खानेपानी वितरण थालिएपछि गुजारा चलाउन बसाइँ जानैपर्ने बाध्यता केही हदसम्म अन्त्य भएको यासोक बृहत् पम्पिङ खानेपानी आयोजना उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष मेघराज निरौलाको भनाइ छ । आयोजनामा नियमित प्राविधिक जटिलता आए पनि खानेपानी नियमित वितरण भइरहेको छ । विद्युतीय पम्पिङ प्रविधिको प्रयोग गरी लुबुघाटबाट सात स्थानमा रहेका पम्पिङ स्टेसन ९ट्यांकी० का सहायताले डाँडासम्म पानी पु¥याई वितरण भइरहेको छ ।

यस्तै कुम्मायक–१, ३, ४ र ५ मा पुनर्संरचित साबिकका यासोक, स्यावरुम्बा र रानीगाउँ गाविस अँध्यारोमुक्त घोषणा भएका छन् । ती वडामा रु १० करोड ५१ लाख ५१ हजार ७७६ लागतमा विद्युतीकरण सम्पन्न भई विद्युत् विस्तार भएको दुई वर्ष भइसकेको छ । साबिक स्यावरुम्बा गाविसमा यहाँको स्यावरुम्बा विद्युत् सहकारी संस्थाको अगुवाइमा आठ सय घरमा सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युतीकरण सम्पन्न भएको थियो । सङ्घीय सरकारको रु दुई करोड ३५ लाख ३२ हजार ७४६ तथा उपभोक्ताबाट सङ्कलित रु। २६ लाख १४ हजार ७४९ का लागतमा यहाँ विद्युतीकरण पूरा भएको हो । यस्तै यासोक र रानीगाउँमा फिदिम विद्युत् सहकारी संस्था लिमिटेडका अगुवाइमा रु सात करोड ९० लाख चार हजार २८० का लागतमा विद्युतीकरण सम्पन्न भएको थियोे । यहाँ उपभोक्ताले रु ७९ लाख ४२८ सङ्कलन गरेको तथा सङ्घीय सरकारले रु सात करोड ११ लाख तीन हजार ८५२ लगानी गरेका छन् । यहाँ हालसम्म एक हजार ११५ घरमा विद्युतीकरण पूरा भएको छ ।

सबैको आशा जलाशययुक्त आयोजना

खानेपानीको अत्यधिक अभाव, उब्जनीमा ह्रास र भोकमरी हुन सक्ने अवस्था, बालीनाली लगाउन नसकिने तथा पशुपालनसमेत कठिन पर्ने ती स्थानले पूर्वाधारको विकासबाट पुनर्जीवन पाउने उत्कट चाहना राखिरहेका छन् । फलस्वरुपः बसाइँसराइ कम भएपछि गाउँमा लगानीसमेत बढ्दै गएको छ । कुम्मायकबासीको अर्को आशा तमोर जलाशययुक्त आयोजना हो ।

कुम्मायक–३ मा पर्ने लोरिपा दोभानमा बाँध निर्माण गरी तमोर जलाशययुक्त आयोजना निर्माणका लागि पटक–पटक सर्वेक्षण तथा नापजाँचका काम भएका छन् । आयोजना निर्माणका प्राविधिक काम सुरुआत भएपछि बाँध बन्ने स्थानसम्म पुग्ने नजिकैको बजार पिपलबोटेमा जग्गाको खरिदबिक्री बढेको छ ।

स्थानीयवासी टठबहादुर पाण्डेका अनुसार अहिले यहाँ एकैसाथ सात घर बन्दैछन् । “विगतमा यसरी एकैसाथ घर निर्माण भएका थिएनन्”, पाण्डेले भन्नुभयो, “ड्याम बन्यो भने यो मुख्य बजार हुन्छ भनेर लगानी हुँदैछ । बाहिरका मान्छे आउँदा खाने बस्ने ठाउँ छैन । त्यसैले धेरै नयाँ घर बन्न थालेका छन् ।” खानेपानीको समस्या हल हुँदै गएपछि बाहिर जाने मानिसले आफ्नै गाउँमा लगानी गर्न थाल्दा थप घर निर्माण भएको पाण्डेको बुझाइ छ । “जग्गा खरिदबिक्री पनि बढेको छ । विगतमा खानेपानीको अभावमा बसाइँ सरेर जाने क्रम अत्यधिक थियो । अहिले त्यो सङ्ख्या घटेको छ । केही परिवार त फर्केर पनि आएका छन्”, पाण्डेले भन्नुभयो ।

विदेशीलेसमेत जलाशययुक्त आयोजनामा चासो दिएको र चिनियाँ कम्पनीका प्राविधिक स्थलगत निरीक्षणमा आएपछि स्थानीयवासी जलाशययुक्त आयोजना बन्नेमा करिब ढुक्क देखिन्छन् । “पहिले रु १० हजारमा बिक्री नहुने जग्गा अहिले डेढ, दुई लाखमा बिक्री भइरहेको छ । धेरैले जग्गा किन्छौँ भनेका छन्”, पिपलबोटे क्षेत्रमा जग्गाको खरिदबिक्री गरिरहनुभएका पाण्डेले भन्नुभयो ।

सडक, विद्युत् र खानेपानीको सुविधा तथा जलाशययुक्त आयोजना निर्माण हुने चर्चाले तमोर किनारमा मानिसको चहलपहल बाक्लिएको छ । फाँटिला बगर आसपासका खेतबारीमा मानिस व्यस्त देखिन्छन् । द्रुतमार्गका रुपमा रहेको तमोर कोरिडोरबाट केही घन्टामै यहाँ उत्पादित सामग्री तराईका जिल्लामा पुग्ने र राम्रो मूल्य पाउने भएपछि कृषि र पशुपालनमा स्थानीयवासीको आकर्षण पनि बढेको छ । “तमोर जलाशययुक्त आयोजना निर्माणको प्रक्रिया अविलम्ब सुरुआत होस् भन्ने हाम्रो मुख्य माग हो”, कुम्मायकका अध्यक्ष जयबहादुर चेम्जोङले भन्नुभयो । त्यसअतिरिक्त सुख्खाग्रस्त लक्षित सिँचाइ आयोजना निर्माण गर्न तथा स्थानीयवासीको आम्दानी वृद्धिका योजनामा सहयोग गर्न गाउँपालिकाले प्रदेश र सङ्घ सरकारलाई आग्रह गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com