समुन्द्रमा ट्राफिक जाम : चीनको सांघाई बन्दरगाहमा हजारौं जहाज अलपत्र,यस्तो छ कारण
प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार
सांघाईमा कोरोनाका कारण विगत एक महिनादेखि लकडाउन छ । सडकमा सवारी साधन चलेका छैनन्, प्रहरी प्रशासन र अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई मात्र बाहिर निस्कन दिइएको छ । जसका कारण सांघाईभर आर्थिक गतिविधि पनि ठप्प भएको छ । लकडाउनको सबैभन्दा नराम्रो असर सांघाई बन्दरगाहमा देखिएको छ ।
यहाँ ठूलो संख्यामा कार्गो जहाज पार्क गरिएका कारण पूर्वी चीन सागरमा अघोषित ट्राफिक जाम भएको छ । सांघाई पोर्टमा जताततै जहाजहरू रोकिएका छन् ।
सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्विरहरूले सांघाईको बन्दरगाहमा जहाजहरू धेरै नै देखिन्छन्। जसका कारण पूरै बन्दरगाह कार्गो जहाजको चापले भरिएको छ ।
बन्दरगाहबाट केही किलोमिटर टाढा खुला समुन्द्रमा जहाज पनि उभिएको देखिन्छ । सामान ओसारपसार गर्न नपाउँदा जहाजका चालक दल पनि खुला समुन्द्रमा अलपत्र परेका छन् ।
धेरै जहाजहरूमा, खाना, पेय र दैनिक आवश्यकताहरूको पनि अभाव छ। यति हुँदाहुँदै पनि चीन आफ्नो कडा नियमलाई कत्ति पनि खुकुलो बनाउन तयार छैन।
यी जहाजहरूलाई कहिले बन्दरगाहमा प्रवेश गर्न दिइने वा बन्दरगाहमा उभिएका जहाजहरूलाई कहिले बाहिर निस्कन दिइने भन्ने अझै स्पष्ट छैन।