भोट माग्न मात्रै गाउँ आउने नेतासँग खुसी छैनन् मतदाता,“चुनाव जित्ने नेताका व्यवस्था फेरिए, हाम्रो त अवस्था जस्ताको तस्तै छ”


प्रकाशित मिति : बैशाख १२, २०७९ सोमबार

– धु्रबसागर शर्मा

स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा म्याग्दीका विभिन्न राजनीतिक दलले आ–आफ्ना चुनावी अभियानलाई ग्रामीण क्षेत्रहरुमा केन्द्रित गर्न थालेका छन् ।  मनोनयन दर्ता गरेका दलका उम्मेदवारहरु आजदेखि भोट माग्दै जनताका घरदैलोमा पुग्न थालेका छन् । कतिपय राजनीतिक दलले बाजागाजा र कार्यकर्ताहरुसहित आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरिरहेका छन् ।

मध्य वैशाखको समय ग्रामीण भेगका मतदाताहरुलाई खेतीपाती स्याहार्ने र नयाँ बाली लगाउने कामकै चटारो छ । गाउँमै आयोजित चुनावी सभाहरुमा मतदाताहरु अपेक्षा गरे अनुसार नआए पछि विभिन्न पार्टीका उम्मेदवारहरु मतदातासँग भेटघाट गर्न र भोट माग्ने खेतबारीमै पुग्न थालेका छन् ।

उम्मेदवारी दर्ता गराएका दलका उम्मेदवारहरु गाउँगाउँ पुग्न थालेका छन् । यहाँका किसानलार्ई धानको बिऊ राख्ने, मकै गोड्ने, गहुँ थन्काउने लगायत कामको चटारो छ । नेताहरूलाई वैशाख ३० गते हुने स्थानीय निर्वाचन कसरी आफ्नो पोल्टामा पार्ने भन्ने चिन्ता छ । तर, किसानलाई भने चुनावले छोएको देखिएको छैन ।

खेती सम्हाल्न मै व्यस्त रहेका यी किसान आफूहरुको पीडा बुझिदिने नेताले जितोस् भन्ने चाहना राख्छन् । जौ, गहुँ थन्काउने, धानको बिऊ राख्ने, आलु लगाउने, मल हाल्ने, तरकारी खेती लगाउने जस्ता काममा यतिबेला कृषकहरू व्यस्त छन् ।

मालिका गाउँपालिका–५ देवीस्थानका टेकबहादुर बूढालाई वैशाख ३० को निर्वाचनमा कसलाई मत दिनेभन्दा पनि खेतीपाती लगाउने र स्याहार्ने कामकै चिन्ता छ । उहाँ भन्नुहुन्छ – “जसले जिते पनि गाउँको विकास गर्ने होइनन् । कुर्सी हात पार्न होडबाजी गरेर अनेक नारा बोकेर चुनावका बेला गाउँ आउँछन् । हामी त किसानी मान्छे आफ्नो काम ग-यो, बस्यो ।”

“पार्टीका उम्मेदवार घरदैलोमा आई भोट माग्छन्, एउटाले जित्छ तर, वर्ष दिनसम्म खाने खेती गर्न छाडेर निर्वाचनमै अल्मलिए हामीसँग साँझ बिहान हातमुख जोर्ने उपाय हुन्न,” बेनी नगरपालिका–२ का टेकबहादुर कार्कीले भन्नुभयो ।

मंगला गाउँपालिका–४ की राधिका सापकोटा पनि आफ्नो गाउँमा राजनीतिक दलले निर्वाचनलाई लक्ष्य गरी आयोजना गरेका बैठकहरुलाई छाडेर मेलापात मै व्यस्त हुनुहुन्छ । पुरानै उम्मेदवार, पुरानै योजना, पुरानै नेता भएका कारण यस पटकको निर्वाचनमा कुनै नौलोपना नपाइएको उहाँको भनाइ छ ।

बेनी नगरपालिका–५ पुरण्य गाउँमा पिउने पानी र विद्युत् विस्तार गर्ने मुद्दा २०७४ कै निर्वाचनमा उठाइए पनि समस्या जस्ताको तस्तै छ । “पहिलेका चुनाव अघि गरेका प्रतिवद्धता जनप्रतिनिधिले सबै बिर्सिए,” स्थानीय तुलबहादुर परियारले भन्नुभयो – “बेनी नगरपालिकाभित्र पनि सहज रूपमा पानी पाइँदैन । गाउँमा बिजुली बाल्न पाइएको छैन । छोरानातिलाई पढाउन सहज छैन । यस्ता समस्या भोग्दै बस्नुपरेको छ भने अब पनि हामीले किन भोट दिने ? सबै नेता त्यस्तै हुन् ।” राजनीति गर्ने नेताले प्रत्येक निर्वाचनमा जनतालाई ढाट्ने मात्रै काम गरिआएकाले राजनीतिभन्दा खेतीकै चिन्ता बढी लिनु श्रेयस्कर भएको यहाँका मतदाताहरुको भनाइ रहेको छ ।

दैनिक ज्याला मजदुरीमा गुजारा चलाउने यहाँका मतदातालाई पनि निर्वाचनप्रति खासै उत्साह छैन । तर, म्याग्दीको बेनी नगरपालिका–२ का डोलेन्द्र शर्मालाई कामको चटारो भए पनि छिटो काम सकेर दलहरुका चुनावी कार्यक्रममा जाने, कुरा सुन्ने र असल नेता छान्ने धोको छ । विगतका निर्वाचनहरुमा वैदेशिक रोजगारीमा रहेका कारण मतदान गर्न नपाउनुभएका शर्माले यस पटक भने जुनसुकै राजनीतिक दलको भए पनि असल उम्मेदवारलाई मत खसालेर चुन्ने अवसर नगुमाउने अठोट व्यक्त गर्नुभयो ।
“उम्मेदवारलाई भोट माग्न मतदाताको घरदैलो पुग्न हतारो छ,” उहाँले भन्नुभयोे – “हामीलाई भने नयाँ बाली लगाउने र लगाएको बाली थन्क्याउने चटारो छ ।”

निर्वाचन नजिकिए पनि जिल्लाका कतिपय युवा वैदेशिक रोजगारीमा जान गाउँ छोडेर राजधानीतिर हिँडिरहेका छन् । शिरमा कालो छाते टोपी र हातमा हरियो रङ्गको झोला बोकेका ४१ वर्षीय तीर्थबहादुर विक आइतवार बिहान बेनीको कालीपुल वसपार्कमा भेटिनुभयो । युएई हिँड्नुभएका उहाँको निधारमा बिदाइको रातो अच्छेता देखिए पनि निर्वाचनकै मुखमा देश छाड्नु परेकाले होला अनुहार मलिन छ ।
जिल्लाको धवलागिरि गाउँपालिका–४ का विकले आसन्न निर्वाचनमा मतदान गर्ने चाहना हुँदाहुदै पनि रोजगारीको बाध्यताले विदेशिन बाध्य भएको दुःखेसो पोख्नुभयो ।

विगत पाँच वर्षदेखि युएईमा रोजगारी गरेर परिवारको खर्च धान्दै आउनुभएका विक डेढ महिनाका लागि बिदामा घर आउनुभएको हो । विकजस्तै दैनिक सयौँ मताधिकार भएका नेपाली निर्वाचनको पर्वाह नगरी कालीपुल बसपार्कबाट बस चढी विदेश उड्न काठमाडौँ पसिरहेका छन् ।

“डेढ महिनाको बिदा लिएर घर आएको थिएँ,” विकले भन्नुभयो – “भोट हाल्नका लागि पर्खेर बसे उता जागिर नै रहन्न ।” यसअघिका निर्वाचनसम्म आफूले मताधिकार प्रयोग गरेको जानकारी दिनुहुने उहाँले आसन्न निर्वाचनमा भने आफ्ना परिवारले मतदान गर्ने बताउनुभयो ।

गाउँको विकास र रोजगारी सिर्जना गर्ने नेतालाई मात्रै मतदान गर्नू भनेर परिवारलाई सल्लाह दिएर आएको विक बताउनुहुन्छ । “यतिका चुनावमा मतदान गरिसकें, केही उन्नति भएजसो लागेन,” उहाँले भन्नुभयो । मुलुकमा नयाँ शासन व्यवस्था आए पनि बेरोजगार युवाको विषयमा सरकार गम्भीर नभएको उहाँको ठम्याइ छ ।
“चुनाव जित्ने नेताका व्यवस्था फेरिए होलान्, हाम्रो त अवस्था जस्ताको तस्तै छ,” निराश भावमा विकले भन्नुभयो ।-फाईल फोटो

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com