विश्वभरबाट सहानुभूति पाएका नागेन्द्रनलाई सिंगापुरले दियो मृत्युदण्ड
प्रकाशित मिति : बैशाख १५, २०७९ बिहीबार
सिंगापुरमा मलेसियाका ड्रग तस्कर नागेन्द्रन धर्मालिङ्गमलाई फाँसी दिइएको छ । उनकी दिदीले यसबारे पुष्टि गरेकी छिन् । सन् २००९ मा २१ वर्ष पुगेका नागेन्द्रनलाई मलेसियाबाट सिंगापुरमा हेरोइनको तस्करी गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो । एक दशकभन्दा बढी समयदेखि नागेन्द्रन धर्मालिङ्गम मृत्युदण्डको सजाय प्रतीक्षा गरिरहेका थिए ।
उनीविरुद्ध लागेको मुद्दा निकै विवादास्पद थियो । स्वास्थ्य विज्ञले नागेन्द्रनको मानसिक स्थिति कमजोर बताउँदै उनको आइक्यू स्तर ६९ मापन गरेका थिए । यो स्तरको आइक्यूलाई बौद्धिक अपाङ्गताको संकेत मानिन्छ । तर यति हुँदा हुँदै पनि मलेसियाली नागरिक नागेन्द्रनलाई फाँसीको सजाय दिइएको छ तर सरकारले ‘उनले जे काम गरिरहेका थिए, उनलाई त्यसबारे निकै राम्रोसँग थाहा भएको ’ बताएको छ ।
यसअघि एक बयानमा सरकारले भनेको थियो, ‘उनले जे काम गरिरहेका थिए, त्यो सही हो वा गलत भन्ने बारे निर्णय गर्न उनी सक्षम भएको हामीले पायौँ ।’
अदालतले यसअघि मंगलबार उनकी आमाको अन्तिम अपिल खारेज गरेको थियो जसमा नागेन्द्रनलाई कानुन अनुसार उचित प्रक्रिया प्रदान गरिएको बताइएको थियो । अदालतले लगभग ११ वर्षमा उनले अपिलका आफ्ना सबै अधिकार समाप्त गरेको बतायो ।
समाचार एजेन्सी रोयटर्सको एक रिपोर्ट अनुसार मंगलबार भएको सुनुवाईको अन्त्यमा रुँदै नागेन्द्रन र उनको परिवार एक–अर्काको हातलाई बेस्सरी समात्नका लागि एउटा काँचको स्क्रिनमा पुगेका थिए । उनकी आमाको पुकार अदालतको कोठासम्म सुन्न सकिन्थ्यो ।
सन् २००९ मा नागेन्द्रन जब पक्राउ परेका थिए तब उनको तिघ्रामा ४३ ग्राम हेरोइन बाँधिएको थियो । सिंगापुरको कानुन अनुसार १५ ग्रामभन्दा माथि हेरोइन पक्राउ गर्दा फाँसीको सजाय दिइन्छ । सिंगापुरको ड्रग्स कानुन विश्वभरीकै सबैभन्दा कठोर छ ।
बौद्धिक अपाङ्गताका शिकार थिए नागेन्द्रन रु
३४ वर्षका नागेन्द्रनले सुरुमा उनलाई ड्रग्स ओसारपसारका लागि बाध्य पारिएको बताइएको थियो तर पछि उनले आफूलाई पैसा चाहिएको भएर यस्तो अपराध गरेको बताएका थिए ।
अदालतले नागेन्द्रनले आफ्नो बचाउमा झुटो तर्क पेश गरेको बताउँदै उनलाई फाँसीको सजाय सुनाएको थियो ।
सन् २०१५ मा उनले बौद्धिक अपाङ्गताद्वारा पीडित भएको भन्दै आफ्नो सजायलाई आजीवन कारावासमा परिवर्तन गर्न अपिल गरेका थिए । उनका वकिलले अन्तर्राष्ट्रिय मानवाधिकार कानुन अन्तर्गत मानसिक रुपमा बिरामी व्यक्तिलाई फाँसी दिन प्रतिबन्ध भएको तर्क पेश गरेका थिए ।
सन् २०१७ मा एक मनोचिकित्सक डाक्टर केन उंगले नागेन्द्रनलाई मध्यम स्तरको बौद्धिक अपाङ्गता भएको र उनी रक्सी पिउने लतका पनि शिकार भएको जानकारी दिएका थिए । यदि डाक्टर केनले यो तर्क स्वीकार गरेको भए नागेन्द्रनको मुद्दालाई यसले निकै हदसम्म प्रभावित पार्न सक्थ्यो ।
पछि अदालतमा सवाल–जवाफका बेला डाक्टरले आफ्नो तर्क उल्ट्याउँदै आफूलाई नागेन्द्रन बोर्डरलाइन इन्टेलेक्चुअल फङ्सनिङद्वारा प्रभावित भएको लाग्ने बताएका थिए ।
जबकी अन्य तीन मनोवैज्ञानिकले अदालतसँग नागेन्द्रनलाई कुनै प्रकारको मानसिक रोग नभएको बताएका थिए । एक मनोवैज्ञानिकले उनको बोर्डरलाइन इन्टेलिजेन्सले नै उनको अपराध गर्ने निर्णयलाई प्रभावित पारेको हो कि भन्ने तर्क दिएका थिए ।
अदालतले लामो बहसपछि उनी मानसिक रुपमा कमजोर नभएको निष्कर्ष निकाल्यो । अघिल्लो वर्ष राष्ट्रपतिले पनि उनको दया याचिका खारेज गरेका थिए ।
नागेन्द्रनलाई माफीका लागि प्रदर्शनः
एमनेस्टी इन्टरनेशनल र ह्युमन राइट्स वाचजस्ता अन्तर्राष्ट्रिय मानवाधिकार संगठनले अदालतको निर्णयको आलोचना गरेका छन् ।
सिंगापुरको गृह मन्त्रालयले पहिले नै आफ्नो बयानमा भनेको थियो, ‘अपिलमाथि सुनुवाई गर्दा यो काम एक आपराधिक दिमागका व्यक्तिको नै गरेको हो भन्ने निष्कर्ष अदालतले निकालेको थियो ।’
६० हजारभन्दा बढीले एक याचिकामाथि हस्ताक्षर गरेर सिंगापुरका राष्ट्रपतिसँग नागेन्द्रनको सजाय माफ गरिदिन अपिल गरिसकेका थिए ।
नागेन्द्रनको फाँसीका सजायको विषयमा सोसल मिडियामा पनि असाध्यै बहस भएका थिए ।
सिंगापुरकी किर्स्टन हानले नागेन्द्रनको एउटा तस्बिर जारी गरेकी छिन् जसमा उनले कथित रुपमा आफूलाई मनपर्ने कपडा लगाएको देखाइएको थियो । किर्स्टन हान फाँसीको सजायमाथि विरोध गर्ने कार्यकर्ता हुन् । सिंगापुर सरकारले अन्तरराष्ट्रिय कानुनले मृत्युको सजायलाई प्रतिबन्धित गर्न नसक्ने र यसको प्रयोगमा कुनै अन्तरराष्ट्रिय सहमति नभएको बताउँछ ।
मलाई घरको खाना खानु छः
नागेन्द्रन धर्मालिङ्गमकी दिदी शर्मिलाका अनुसार भाइले आफूलाई बारम्बार फोन गर्ने गरेको बताइन् । उनले भनिन्, ‘उसले हामीलाई धेरै नै फोन गर्दथ्यो र उनलाई फाँसी दिनै लागिएको बताउँथ्यो र आफू यसका लागि तयार हुनुपरेको पनि उनले भन्ने गर्दथ्यो ।’
उनकी दिदीका अनुसार नागेन्द्रनले आफूलाई घर आउन मन लागेको र घरको खाना असाध्यै मन लागेको बताउने गर्दथे ।
यसअघि शर्मिलाले सिंगापुर जेलबाट एउटा पत्र पाएकी थिइन् जसमा उनलाई सन् २०२१ नोभेम्बर १० मा फाँसी दिइने जानकारी लेखिएको थियो ।-बीबीसीबाट