अष्ट्रेलियाका प्रधानमन्त्रीको अठोट,“मलाई फेरि निर्वाचित गरे औषधीको मूल्य घटाउछु”
प्रकाशित मिति : बैशाख १७, २०७९ शनिबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2022/04/PM-austrialiaa1639553761-1.jpg?fit=800%2C534&ssl=1)
क्यानबेरा, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफूलाई फेरि निर्वाचित गराएमा औषधीको मूल्य घटाउने अठोट व्यक्त गर्नु भएको छ ।
उहाँले सन् २०२३ देखि औषधीको मूल्य कम हुनेगरि अहिले आफूले गृहकार्य गरिरहेको र आफू फेरि निर्वाचित भएमा त्यो लागू गर्न सक्ने दावी गर्नु भएको छ ।
उहाँले आफूभन्दा अर्को व्यक्ति निर्वाचित भएमा त्यो व्यवस्था लागू गर्न सक्ने वा नसक्ने भन्न नसकिने पनि उहाँले स्पष्ट पार्नु भएको छ ।
आफू फेरि पनि प्रधानमन्त्रीमा निर्वाचित भएमा औषधीको खर्च घटाउने काम मुख्य हुने शनिबार उहाँले जानकारी दिनुभयो ।
उहाँले औषधीमा सरकारी अनुदान बढाउदै उत्पादक तथा बिक्रेताहरूलाई नाफा घटाएर उपभोक्ताका लागि औषधीको मूल्य घटाउन सकिने उहाँको भनाई छ ।
अष्ट्रेलियामा आगामी मे २१ मा नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन हुन लागेको छ । त्यसका लागि अहिले निर्वाचन प्रचार प्रसारको काम तीब्र रुपमा भइरहेको छ ।
औषधीको मूल्यसँग मानिसको जीवन जोडिएकाले त्यसलाई सस्तो बनाउनु हितकर र उपयोगी काम हुने उहाँले बताउनु भयो ।
अष्ट्रेलियामा अहिले प्रधानमन्त्री नेतृत्वको सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी लेबर पार्टीका बीचमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
दुवै पक्षले आफूलाई बलियो देखाउने र अर्कोलाई कमजोर देखाउने गरी आलोचनात्मक टिप्पणी गर्दै आएका छन् ।