अमेरिकी विश्वविद्यालयमा पहिलो नेपाली महिला डीन
प्रकाशित मिति : असार १२, २०७४ सोमबार
-सान शूमेकर
काठमाडौंमा हुर्कंदै गर्दा शबनम कोइराला–आजादलाई शिक्षक बन्छु भन्ने लागेकै थिएन । तर उनको घर र बाहिरको वातावरणले थाहै नदिई उनलाई यो पेशातर्फ धकेल्यो ।
२०४६ सालको जनआन्दोलनका बेला शवनम स्कुलमा पढ्दै थिइन् । लोकतन्त्रको पुनर्स्थापनापछि मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रगतिको ठूलो आशा गरिएको थियो । उनी नेपालकै राम्रोमध्येको विद्यालयमा पढिरहेकी भए पनि केही कुरा नपुगे जस्तो लागिरहन्थ्योे ।
“नेपालमा जीवन गज्जब रमाइलो थियो, बाल्यकाल सम्झँदा अहिले पनि रमाइलो लाग्छ, तर हामीले जसरी पढ्यौं त्यो पढाईको तरिकाले बालबालिकामा रचनात्मक क्षमताको विकास गराउँदैन ।” अमेरिकाको सान फ्रान्सिस्को विश्वविद्यालयको स्कुल अफ एजुकेशनमा हालै डीन नियुक्त कोइराला भन्छिन, “यहाँ जसरी पढाइन्थ्यो त्यसले मेरो रचनात्मक आवश्यकताको पूर्ति गर्न सकेन ।” उनी अमेरिकाकोे विश्वविद्यालयमा डीन नियुक्त हुने पहिलो दक्षिण एशियाली महिला हुन् ।
अरु साथीहरु जस्तै ललितपुरस्थित स्कुल र घरमा दैनिक ओहोरदोहोर गरिरहँदा उनलाई आफ्नो बाल्यकाल अरु साथीहरु भन्दा फरक महशुस हुन्थ्यो । उनी द्विसांस्कृतिक परिवारमा हुर्किरहेकी थिइन् । उनका बुवा नेपाली हुन् भने आमा इरानी थिइन् ।
रचनात्मक शिक्षाको तिव्र भोकले गर्दा विद्यालयको पढाई सकिएपछि उच्चशिक्षा लागि विदेश जानुपर्छ भन्नेमा कोइरालालाई कुनै द्विविधा थिएन । उनले म्यासाचुसेट्सको माउन्ट होलियोक कलेजमा छात्रवृत्ति पाइन् । अमेरिकाको महिला कलेजमा उनको ‘लिवरल आर्ट्स’ अध्ययन् शुरु भयो ।
पहिलो दिनकै कक्षामा प्राध्यापकले सोधे, “तिमी के सोच्छ्यौ ?” एउटा सिधा र सामान्य जस्तो लाग्ने प्रश्न भए पनि यसले उनको जीवनमा ठूलो प्रभाव पार्यो ।
“मैले के सोच्छु, के महशुस गर्छु वा तथ्यहरुलाई कसरी लिन्छु भन्नेबारे कहिले पनि ध्यान दिएकी थिइन,” कोइराला भन्छिन् । त्यसैबेलादेखि उनले आफूले के पढ्ने, कुन क्षेत्रमा काम गर्ने भन्नेबारे गहिरिएर सोच्न थालिन् ।
शिक्षाप्रतिको यो आवेग उनको रगतमै थियो । उनी आफ्नी आमा पट्टीबाट चौथो पुस्ताकी शिक्षिका हुन् । इरानमा शिक्षिका रहेकी उनकी हजुरआमा बहाई धर्मप्रतिको विश्वासका कारण निकै सताइएकी थिइन् । पढाउनु उनका लागि खतरनाक र विवशता पनि थियो । शवनमका पिता भारतदत्त कोइराला म्यागसेसे पुरस्कार प्राप्त पत्रकार र मिडिया शिक्षक हुन् ।
“शिक्षाका बारेमा मलाई के लाग्छ भने, सबैका लागि एकै खालको मास एजुकेशन भन्दा निश्चित समूहका लागि निश्चित प्रकारको शिक्षा आवश्यक हुन्छ । समाजमा पछि परेकाहरुलाई विशेष ध्यान दिनुपर्छ,” कोइराला भन्छिन्, “ठिक तरिकाले शिक्षा दिइयो भने यसले मानिसलाई सशक्त बनाउँछ ।”
नेपालमा छँदा कोइरालाले विकासशिल देशमा वैदेशिक सहयोगको प्रभावारे बुझ्ने अवसर पाइन्, अनुगमनको कमी र भ्रष्टाचारबारे उनले बुझिन् । शिक्षा र सामाजिक परिवर्तन कसरी अगाडि बढ्छन् भन्नेमा उनको उत्सुकता झन् बढ्यो । यो उत्सुकतासँगै उनले युनिभर्सिटी अफ क्यालिफोर्निया एट बर्कलेबाट स्नातकोत्तर र विद्यावारिधी गरिन् ।
अहिले डिनको नियुक्ति लिइसकेकी कोइराला आफूभित्रको नेपालीपन जोगाएर निष्ठापूर्वक अगाडि बढ्न चाहन्छिन् । त्यो भनेको उनका लागि धैर्य, करुणा, आतिथ्य, समझदारी र आत्मसम्मानको बलियो भावना हो ।