महानगरले सडक, विद्युत, टेलिकम र खानेपानीको कामको अनुगमन गर्न पाउनुपर्ने मेयर साहको माग


प्रकाशित मिति : जेष्ठ २९, २०७९ आईतबार

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सडक, विद्युत, टेलिकम र खानेपानीको कामको अनुगमन महानगरले गर्न पाउनुपर्ने माग गर्नुभएको छ । महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।

सडक विभाग, विद्युत प्राधिकरण, टेलिकम र खानेपानी विभागसँग समन्वय गरेर काम गर्ने विषयमा छलफल भइरहेको समेत उहाँले बताउनुभएको छ । उहाँले आफूले सडक, विद्युत, टेलिकम र खानेपानीका प्रमुखहरूसँग एक चरण छलफल गरिसकेको पनि बताउनुभएको हो ।

 

उहाँले प्रत्येक महिनाको पहिलो सोमबार उनीहरूसँग छलफल गर्ने सहमति समेत भएको बताउनुभयो। त्यस्तै उहाँले फोहोर कुहिने र नकुहिने गरी छुट्याएर उठाउन थालेलगत्तै कम्पोस्ट मल उत्पादनको काम पनि थाल्नुपर्ने भएको बताउनुभएको छ ।

 

बञ्चरेडाँडास्थित ल्याण्डफिल साइटको एउटा सेक्सनमा कम्पोस्ट मलको कारखाना सञ्चालन गर्ने विषयमा  छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी ल्याण्डफिल साइटमा जीवजन्तु र पर्यावरणमा असर नपुगोस भनेर दुर्गन्ध हटाउन जैविक रसायन प्रयोग गर्ने पनि उहाँले बताउनुभयो ।

बैैठकमा वडाध्यक्षहरुले धुलो बढार्ने ब्रुमरको प्रयोग हुन नसकेको विषय उठाएकोमा मेयर साहले ३ दिनभित्र ब्रुमरको चालक ब्यवस्था हुने र त्यसपछि ब्रुमर सञ्चालनमा आउने जानकारी दिनुभयो ।

बैैठकमा सहभागी वडाध्यक्षहरूले ढल ब्यवस्थापन विभागले सहयोग सर्वसाधारणबाट पैसा प्रत्येक महिना उठाउनुपर्ने समेत बताएका छन् । तर ढलको ब्यवस्थापन नगर्दा अप्ठेरो भएको भन्दै त्यसमा तत्काल कदम चाल्नुपर्नेमा पनि वडाध्यक्षहरूले जोड दिएका छन् ।  साथै उनीहरुले बैठकमा फोहोर बापत घरघरबाट उठाउने गरिएको पैसा कहाँ गएको छ भन्ने विषयमा पनि महानगरपालिकाले खोजी गर्न ध्यानाकर्षण गराएका छन् । त्यस्तै फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएपछि फोहोर बापत तिर्नुपर्ने शुल्क पनि घट्नुपर्ने माग पनि वडाध्यक्षहरुले गरेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com