शरणार्थीहरु ११ बुँदे माग सहित युएनएचसीआरको कार्यालय अगाडि धर्नामा
प्रकाशित मिति : असार १४, २०७९ मंगलबार
शरणार्थीहरुले ११ बुँदे माग सहित युएनएचसीआरको गेटमा धर्ना दिएका छन् । शरणार्थीले संयुक्त राष्ट्रसंघको शरणार्थी मामिला हेर्ने निकाय युएनएचसीआरको कार्यालयमा धर्ना दिएका छन् ।
युएनएचसीआरको गेटमा धर्नामा बसेका शरणार्थीले आफ्ना बालबालिकालाई दिइँदै आएको शैक्षिक सुविधा, मासिक सहयोग, स्वास्थ्य सुविधा, रोजगारी लगायतका मागहरू प्रस्तुत गरेका छन् ।
काठमाण्डौको कपन क्षेत्रमा बस्दै आएका शरणार्थीहरुले आधारभूत माग पूरा गर्नुको साटो धरपकड गरिएको उनीहरुको गुनासो छ । महिला बच्चा सबैलाई कुटपिट गरेको फतिमा युसुफिले बताएकी छन् ।
आन्दोलनरत शरणार्थीहरुले क्यानेडियन पुनर्वास प्रक्रिया पनि पर्खिरहेको बताएका छन् । त्यसैगरी आफ्नै देश फर्किन चाहनेलाई जतिसक्दा चाँडो पठाइदिन आग्रह गरेका छन् । धर्ना कार्यक्रममा बङ्गलादेश, म्यानमार, पाकिस्तान, सोमालिया, अफगानिस्तान लगायत अन्य मुलुकका नागरिकहरू सहभागी रहेका छन् ।