अर्थमन्त्रीबारे छानविन समिति बनाउन माओवादी तयार


प्रकाशित मिति : असार २२, २०७९ बुधबार

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानविनका लागि संसदीय समिति बनाउन नेकपा माओवादी केन्द्र तयार देखिएको छ ।आजको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कुरा राखेपछि छानविन समिति गठन गर्न माओवादी केन्द्र तयार भएको हो ।

तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री शर्मालाई बहिस्कार गर्दै आएकाले छानविन समिति गठनका लागि माओवादी नेताहरुले एमालेसँग छलफल गर्न चाहेका छन् । आज बिहान बसेको पूर्वस्थायी कमिटीका नेताहरुको बैठकले प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको छ ।

एमाले भने अर्थमन्त्रीलाई सुन्न तयार देखिएको छैन ।संसदमा बजेट प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरिएको भन्दै नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै आएको छ ।

सो दिनको सीसीटीभी फुटेज पनि मेटाइएको भन्दै अर्थमन्त्रीको आलोचना हुँदै आएको छ । अर्थमन्त्रीको विषयमा चौतर्फी आलोचना भइरहँदा पनि सरकार मौन बसेको भन्दै एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको नियतमा पनि प्रश्न उठाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com