गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्छ : सांसद श्रेष्ठ


प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार

राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले नेकपा (एमाले)को अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भनेर उल्लेख भएको र त्यो उहाँको संक्षिप्त नाम हो भन्ने रहेको उल्लेख गर्नुभयो ।

विसं २०७३ मा उक्त विभागमा महाप्रसाद अधिकारीको नाममा रहेको र अहिले एम अधिकारीको नाममा रुपान्तरित भएर अर्थ तथा योजनाविद् भनेर राखिएको उहाँको दाबी छ । “विवाद भएर सबैलाई उहाँ नै हो भन्ने लागेकाले कि त होइन भन्ने पुष्टि भएको कागज सार्वजनिक गर्नुप-यो, होइन भने विवाद आयो भनेर उहाँले राजीनामा दिनुप-यो”, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेतासमेत रहनुभएका सांसद श्रेष्ठले भन्नुभयो । यस विषयमा उहाँले एमाले र सम्बन्धित अधिकारीको ध्यानाककर्षण समेत गराउनुभएको छ ।

“अधिकारिको विषयमा एमालेले विश्वसनीय ढङ्गले खण्डन गरेको छैन, गर्न सक्ने स्थिति पनि होला की नहोला भन्ने प्रश्न गम्भीर छ”, नेता श्रेष्ठले प्रश्न गर्नुभयो, “राष्ट्र बैंकको ऐन २०५८ को दफा २१ ले गभर्नर, डेपुटी गभर्नर वा कुनै सञ्चालक सदस्य कुनै पनि राजनीतिक दलमा संलग्न हुनु हुँदैन भन्ने स्पष्ट व्यवस्था रहेको छ भने उहाँ त्यहाँ बसिरहन मिल्छ की मिल्दैन ?”

सांसद श्रेष्ठले संवैधानिक परिषदसम्बन्धीको विधेयक फिर्ता लिनसमेत आग्रह गर्नुभएको छ । अघिल्लो सरकारले त्यही काम गर्दा विरोध गरिएको जानकारी गराउँदै उहाँले सरकार हुँदा एउटा र नहुँदा अर्काे कुरा गर्न नहुनेमा जोड दिनुभयो । उहाँले निर्वाचनमा विदेशी सहयोग नलिन पनि अनुरोध गर्नुभएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com