नगरप्रमुख साम्पाङको श्रमदान अभियान
प्रकाशित मिति : श्रावण १३, २०७९ शुक्रबार
–देवेन्द्र कार्की/ सामाजिक अभियन्ताको चर्चा पाएर एकाएक धरान उपमहानगरपालिकाको नेतृत्वमा पुगेका प्रमुख हर्कराज राई (साम्पाङ) यतिबेला जनताका कामदेखि विकास निर्माणमा अहोरात्र खटिनुभएको छ । धरानमा भएको खानेपानी समस्या हल गर्न विभिन्न साना खोलाको पानी सङ्कलन गर्न उहाँले अभियान नै सुरु गर्नुभएको छ । उहाँको अभियानमा धराने अधिकांश जनता सहभागी भएका छन् ।
धरानको नेतृत्वमा नआउँदासम्म उहाँ हप्ताको सातै दिन जनताको कामका लागि सडकमा देखिनुहुन्थ्यो । त्यसबेला उहाँले गरेको काम र अभियानको चर्चा खासै थिएन । कतिपय उहाँले चलाएको अभियानमा असफल पनि हुनुभयो साम्पाङ । तर उहाँ सफलता नै सफलताको कडी हो भन्ने बुझेर उहाँले आफ्नो अभियान निरन्तर जारी राख्नुभयो ।
दक्षिण एशियाको उत्कृष्ट अस्पताल तथा शिक्षण संस्था बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको बेथिति र जनताले स्वास्थ्य उपचार सेवामा भोग्नुपरेको समस्या समाधानका लागि उहाँले अभियान चलाउनुभयो । खानेपानी समस्याका विषयमा उहाँको अझ बढी चासो र चिन्ता थियो । खानेपानी बोर्डका कार्यकारी निर्देशक, तत्कालीन नगर प्रमुख तिलक राई, धरान उपमहानगरपालिकाका अधिकृत खगेन्द्रप्रसाद खतिवडालाई उहाँले टेलिफोनमा थर्काएका भिडियो जनताले प्रत्यक्ष हेर्न पाएका थिए । जनताका लागि पदमा बसेका व्यक्तिलाई गरेको खबरदारीले धराने जनताबाट पाउनुभएको गहिरो सहानुभूतिले उहाँलाई प्रमुख भएर त्यही समस्या समाधान गर्ने स्थानमा पु-यायो ।
गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा करिब पाँच हजार मतान्तरले धरान उपमहानगरपालिकाको प्रमुखमा सानदार जीत निकाल्न सक्नुभयो । धरानको कुल मतदाता एक लाख ३२४ जना रहेकामा ६२ हजारले मतदान गरेका थिए । त्यसमध्ये २० हजार ८२१ मतदाताले प्रमुख राजनीतिक दलका उम्मेदवारलाई पन्छाएर स्वतन्त्र उम्मेद्वार साम्पाङलाई मत दिएका थिए । आर्थिक अवस्था त्यति राम्रो नभएका उहाँलाई चुनाव खर्च पनि उहाँहरुकै समर्थकले जुटाइदिएका थिए ।
नेतृत्वमा पुगेपछि जनतासँग गरेको वाचा मात्र बिर्सने कतिपय नेताहरुका लागि उहाँ प्रमुखमा जित्दै गर्दा यस विषयमा निकै सचेत देखिनुभयो । उहाँ प्रमुखको कुर्सीमा बसेपछि पनि धराने जनताको साथ लिएर सडकमै उत्रिनुभएको छ । जनता पनि उहाँको साथ छाडेका छैनन् र उहाँका समर्थक, शुभचिन्तक अझ बढेको बताउनुहुन्छ अभियानका सहयोगी हरि श्रेष्ठ । तीन लाख जनसङ्ख्या बस्ने धरानमा विगतका जनप्रतिनिधिले खानेपानीको विषयमा कसैले ध्यान नदिएको लिएको ऋणको पनि सदुपयोग नभए पनि जनताले स्वतन्त्र उम्मेदवारलाई रोजेको उहाँको भनाइ छ ।
उहाँले आफ्नो सम्पूर्ण समय पदीय जिम्मेवारीमै लगाउनुभएको छ । साताको दुई दिन शुक्रबार र शनिबार समर्थक र शुभचिन्तकका साथमा कार्यस्थलमै जानुहुन्छ भने बाँकी दिन उपहानगरको दैनिक र प्रशासनिक कामका लागि दिनुहुन्छ । उहाँले निर्वाचनमा प्रतिबद्धता जनाएको काम निर्वाचित भएर पदभार ग्रहण गरेकै दिनदेखि कार्यान्वयनका लागि लाग्नुभयो ।
धरानको प्रमुख समस्याका रुपमा रहेको खानेपानी समस्या समाधान गर्न पानी व्यवस्थापनका लागि उहाँले यतिबेला आफ्नो बढी समय खर्चनुभएको स्थानीयवासी बताउँछन् । उहाँले दैनिक गर्ने हरेक कामको जनतालाई आफ्नो फेसबुक पेजबाट जानकारी गराउँदै आउनुभएको छ । आफूले जिताएको जनप्रतिनिधिले के गर्दैछ भन्ने जानकारी फेसबुक पेजबाट जनताले थाहा पाउँदा मतदाता पनि खुसी लागेको धरान १५ का विष्णु लिम्बू बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “त्यही सूचनाका आधारमा जनता आफ्ना जनप्रतिनिधिको काममा सहयोग गर्न जाने गरेका छौँ ।”
नगर प्रमुख भएर आउनेबित्तिकै उहाँले उहाँले खानेपानी स्रोत व्यवस्थापनका लागि प्राविधिक टोलीसहित स्थलगत अध्ययन गर्नुभयो । धरानका साना खोला र सप्तकोसीबाट पानी ल्याउन अध्ययनका लागि जानुभयो । उहाँले धरानको वडा नं २० मा पर्ने पकुवा खोलामा खेर गइरहेको पानी व्यवस्थापन गर्न पहिलो अभियान चलाउनुभयो । फेसबुकबाट श्रमदानको आह्वान र पाइप सहयोगका लागि गरेको आह्वानले देश विदेशमा रहनुभएका धराने जनताले सहयोग गरे । धरानमा हुनेले श्रमदान र विदेशमा हुनेले आर्थिक सहयोग गरे ।
शनिबार, शुक्रबार र अन्य सार्वजनिक बिदाका दिन प्रमुख आफैँ पुगेर श्रमदान गरे । अन्य दिन धराने जनताले श्रमदान गरेर तीन हप्ताको मेहनतमा पहाड छेडर पकुवाको पानी पाइपमार्फत सर्दुखोला हुँदै धरान–११ स्थित पानेपानीको ट्याङ्कीसम्म जोडिएको छ । सरकारी बजेट हुने हो भने यो करिब रु ६०÷७० लाखको योजना हुने प्राविधिकले बताएका छन् ।
पकुवा खोलाको पानी खानेपानीको ट्याङ्कीसम्म ल्याउन सफल भएपछि प्रमुख साम्पाङ सामाजिक सञ्जालबाटै आह्वान गरेर धरान–४ बाट बग्ने निशाने खोलाको पानी व्यवस्थापनमा लाग्नुभएको छ । एक सातादेखि उहाँ धराने जनतासँगै श्रमदान गर्दै आउनुभएको छ । पर्यावरण सन्तुलन कायम गर्न साप्ताहिकरुपमा उहाँ वृक्षरोपण कार्यक्रम बनाएर पाखाभित्तामा फलफूलका बोटबिरुवा रोप्दै आउनुभएको छ । वन, जङ्गल अभाव र भएको वन जङ्गलमा चराचुरुङ्गी, बाँदरलगायत पशुपक्षीले खाने आहाराको अभावले बाँदर सहर पसेको र अन्य पशुपक्षी मासिएको उहाँको बुझाइ छ । त्यही भएर उहाँ वृक्षरोपण कार्यक्रममा पनि उत्तिकै समय दिँदै आउनुभएको छ । शुक्रबार उहाँ सार्वजनिकरुपमा लागुऔषधसम्बन्धी सचेतना जगाउन धरानका चोकमा नियमित ‘प्ले कार्ड’ बोकेर ‘नो ड्रक्स’ को अभियान पनि चलाइरहनुभएको छ ।
प्रमुख साम्पाङले भविष्यमा कोसीको पानी धरान ल्याउने योजना रहेको र अध्ययन भइरहेकाले उक्त पानीलाई ठूलो जलाशय बनाएर जम्मा गर्ने र त्यसबाट नै बिजुली पनि निकाल्ने आफ्नो अवधारणा सुनाए । त्यसका लागि जलाशय बनाउन भनेर प्रस्तावित ठाउँसम्म प्राविधिक, इञ्जिनीयरलाई अवलोकन गराउनुभएको छ ।
पूर्वाञ्चल प्राविधिक कलेका इञ्जिनीयरले कोसीको पानी जम्मा गर्न जलाशय बनाउने ठाउँ उपयुक्त भए पनि त्यस स्थानको सोइल टेष्ट गरेर मात्रअघि बढ्न सुझाव दिनुभएको छ । अहिले वर्षाको समयमा पनि खर्दु खोलाको पानीबाट ४० किलोवाट बिजुली उत्पादन गर्न सकिने र हिउँदमा पाँच÷छ किलोवाटसम्म बिजुली उत्पादन गर्न सकिने सुझाव दिएको प्रमुख साम्पाङले बताउनुभयो । पकुवा खोलामा जनश्रमदान गरेर पानी ल्याउने प्रमुख साम्पाङको योजना सफल भएपछि कोसी राजमार्गको धरान धनकुटे सडकखण्डमा पर्ने निशाने खोलामा पनि श्रमदान अभियान सुरु गरिएको छ ।
जङ्लमा जमिनमुनिको पानी तान्ने पम्प महिनामा दुई÷तीनपटक बिग्रिने र एउटा पम्प बनाउन रु दुई लाखसम्म खर्च हुने गरेको छ । वर्षायाममा खोला खोल्सीमा भएको सतहको पानी ल्याउनसके पम्प चलाइरहन नपर्ने र वर्षायामभरि पम्प बिग्रेर बनाउनु नपर्ने तथा बिजुली चलाएको खर्च जोगिने प्रमुख साम्पाङले बताउनुहुन्छ । दीर्घकालीन समाधान भने कोसीबाट पानी ल्याउनैपर्ने उहाँ बताउनुहुन्छ ।
उहाँ खोटाङको खार्ताम्छाबाट धरान झरेर राजनीतिशास्त्र र समाजशास्त्र पढ्दै गायनमा आफ्नो स्थान बनाउन सङ्घर्षरत पात्र हुनु हुनुहुन्छ । विसं २०३९ फागुन १५ गते खार्ताम्छामा जन्मनुभएका साम्पाङ त्यहीँको शुक्रबारे माविबाट एसएलसी गरेर २०५६ सालतिर उच्च शिक्षा अध्ययन गर्न धरान झर्नुभएको थियो । उहाँले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीति र समाजशास्त्रमा स्नातक गर्नुभयो । अध्ययनकै क्रममा उहाँले धरानमा एउटा ल्याङ्ग्वेज सेन्टरमा अङ्ग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गर्नुभयो । त्यसमा पनि चित्त नबुझेपछि अफगानिस्तान जानुभएका उहाँ त्यहाँबाट फर्किएर पुनःइराकतिर लाग्नुभयो ।
विदेशमा छ वर्ष काम गरेपछि नेपाल फर्किनुभएको उहाँ देशमै केही गर्नुपर्छ भनेर सामाजिक काममा लाग्नुभयो । धरानको धनकुटे मार्ग भएर जाने १०५ मिटर चौडाइको मदन भण्डारी राजमार्गमा परेका स्थानीय बासिन्दाको घरजग्गा जोगाउने अभियानबाट उहाँको चर्चा सुरु भएको हो । सडक विस्तारका नाममा नगरवासीलाई सुकुम्बासी बनाउन नहुने कुरा उठाएसँगै उहाँको परिचय फैलियो र धेरैले उहँँलाई जनताका पक्षमा बोल्ने अगुवाका रुपमा चिन्न थाले ।
सन् २०१२ मा धरान खानेपानी आयोजना सम्झौता भएको थियो । भूमिगत खानेपानीका लागि काम सुरु भएर पानी वितरण त भयो तर समस्या भने ज्युँकात्युँ रह्यो । अहिले पनि धरानमा खानेपानी अभाव छ । उहाँले पहिलोपटक हिक्मत गरेर आयोजनाप्रति नै प्रश्न गर्न थाल्नुभयो । खानेपानीमा राजनीतिक दलले गरेका बद्मासीबारे खुलेर विरोध गर्नुभयो । उहाँ एक्लै सडकमा उत्रिनुभयो । विस्तारै अरुले साथ दिन थालेका थिए ।
कतिपय अभियानमा असफलता भए तर कहिल्यै निराश भने हुनु भएन । सामाजिक, राजनीतिक र स्थानीय तह र सार्वजनिक संस्थामा हुने गरेका विकृति र विसङ्गतिविरुद्ध उहाँले निरन्तर प्रश्न उठाउनुभयो । आज पनि उहाँको अभियान जारी छ ।
धरानको खानेपानी आयोजना, बिपी प्रतिष्ठानको भ्रष्टाचार र बेथिति र महँगीविरुद्ध उहाँले आवाज बुलन्द पार्नुभयो । दलको कामबाट दिकदार भएका धराने जनता फाट्टफुट्ट उहाँको आन्दोलनमा साथ दिन थाले । उहाँको आन्दोलनबारे राजनीतिक दल, सञ्चारमाध्यामले कुनै चासो नदिए पनि उहाँ निरन्तर खबरदारीमा लागि रहनुभयो ।
राजनीतिक दल र नेताहरू सुध्रिनुपर्छ, भ्रष्टाचार, कमिसन र लुट शासनको अन्त्य हुनुपर्छ भन्ने उहाँको मान्यता रहेको छ । यस्ता विषयमा उहाँ निरन्तर फेसबुकमा लाइभ गर्दै आउनुभएको छ । प्रमुख भएपछि पनि उहाँ सार्वजनिक चासोका विषय, धरान उपमहानगरपालिकाले गरिरहेको गतिविधि नियमित सामाजिक सञ्जालमार्फत जानकारी गराइ राख्नुभएको छ ।
एक दशकदेखि धरानका सडकमा कहिले एक्लै कहिले सानो समूह लिएर प्लेकार्ड, ब्यानर, पर्चा लिएर सधैँ भेटिइरहने सामाजिक अभियन्ता हुनुहुन्छ । उहाँले सर्दु जलाधार क्षेत्र संरक्षण अभियान पनि योगदान छ । सर्दु जलाधर क्षेत्रमा मुआब्जा पाइसकेका मानिसले पनि भू–माफियासँग मिलेर फेरि जमिन हड्प्ने र बेचबिखन गर्ने गरेपछि कृष्णनारायण पालिखे नेतृत्वको ‘जनसरोकार मञ्च’ले अभियान चलाइरहेको थियो । हर्क साम्पाङ पनि त्यसमा जोडिनुभएको थियो । पोलिखे उहाँको मृत्यु भएपछि त्यो काम साम्पाङले गर्नुभयो ।