नयाँ नक्सा सार्वजनिक गरेपछि प्रधानमन्त्री पदबाट हटाइयो : अध्यक्ष ओली
प्रकाशित मिति : श्रावण १६, २०७९ सोमबार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि आफूलाई प्रधानमन्त्री पदबाट हटाइएको दाबी गरेका छन् ।
आज काठमाण्डौंमा पूर्वसचिव डाक्टर द्वारिकानाथ ढुंगेलद्वारा लिखित ‘चक्रब्यूहमा नेपाली जलस्रोत’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले लिम्पियाधुरा, लिपुलेक, कालापानीको भूभागलाई नेपाली नक्सामा सामेल गरेपछि प्रधानमन्त्रीबाट हट्नुपरेको बताए ।
सुगौली सन्धी अनुसार लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भएको दाबी गर्दै ओलीले उक्त क्षेत्र नेपालको नक्सामा समावेश गर्दा ठूलै उपद्रो मच्चिने कुरा आफूलाई पहिलै थाहा भएको उनको भनाई छ । सुगौली सन्धिले महाकाली नदीलाई सिमाना मानेपछि लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग नै भएकोमा विवाद नरहेको ओलीको भनाई छ ।
त्यसैगरी पहिलो पटक प्रधानमन्त्री हुँदा चीनसँग पारवहन सन्धि गरेपछि हटायएको ओलीको भनाई छ । उनले आफू प्रधानमन्त्रीबाट हटेकामा कुनै पीर चिन्ता नभएको छर देश गलत दिशातर्फ गइरहेकापति पीर लागेको बताए ।
ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा चीनसँग पारवहन सन्धि गरेपछि आफूलाई हटाइएको भन्दै दोस्रोपटक लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि हट्नुपरेकोमा कत्ति पनि हिनताबोध नरहेको बताए । उनले आफुहरु कसैका विरुद्ध नरहेको भन्दै आफ्नो राष्ट्रियताका पक्षमा रहेको बताए । ओलीले आफू शब्दजालले काम नगर्ने बताउँदै राष्ट्रिय हितप्रति समर्पित भएर सफलता प्राप्त गर्नु नै कुटनीति भएको बताए ।
फरक प्रसंगमा ओलीले नेपालको पानीको सदुपयोग हामी आफैले गर्न नपाएको बताएका छन् । कोशी नदी नेपालमै भएपनि त्यसको पानीबाट नेपालले फाइदा नभएको भन्दै त्यसका लागि राष्ट्रिय हित खोज्नुपर्ने ओलीको भनाई छ । ओलीले नेपालको जलश्रोत चक्रव्यूहबाट बचाउन हामी हाम्रा सबै प्राकृतिक श्रोत साधन उपयोग गर्न स्वतन्त्र रहेको बताएका छन् ।