गुल्मीको रेसुङ्गामा साउने मेला, यस्तो छ धार्मिक र पर्यटकीय महत्व


प्रकाशित मिति : श्रावण १७, २०७९ मंगलबार

– बोधविकाश पन्थी

गुल्मीको धार्मिक एवं पर्यटकीयस्थल रेसुङ्गामा साउने मेला लागिरहेको छ । साउन महिनाभर रेसुंगामा विशेष पूजापाठ एवं धार्मिक क्रियाकलाप सहभागी हुन भक्तजनहरु आउने क्रम जारी छ ।

जिल्लाभरबाटमात्र होइन, बाहिरबाट पनि पर्यटक र भक्तजनहरु रेसुङ्गामा आइरहेका छन् । साउन महिनामा रेसुंगामा रहेको पोखरीमा स्नान गरेमा सम्पूर्ण पाप नष्ट भई पुण्य तथा समृद्धि प्राप्त हुने धार्मिक जनविश्वास रहेकाले पोखरीमा नुहाउन आउने भक्तजनहरुको संख्या पनि उल्लेख्य रहेको छ ।

चार धामबाट ल्याएको जल रेसुंगाको पोखरीमा मिसाइएकोले रेसुंगापोखरीमा स्नान गरेमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । रेसुंगापोखरीमा स्नान गरी यज्ञशालाको दर्शन गर्ने दर्शनार्थीहरु उल्लेख्य छन् ।

साउन १ गते लघुरुद्री गरि एक महिने साउने पुजा शुभारम्भ गरिएको थियो भने ८ गते एकादशीका दिन भक्तिसंगित कार्यक्रम गरियो । साउन १२ गते औंसीका दिन पनि विशेष कार्यक्रम रहेकोमा साउन २१ गते बिशेष भक्ति संगित प्रतियोगिता राखिएको छ । एक महिने पुजा सम्पन्न गर्न १३ वटा उपसमिति गठन गरिएको छ ।

रेसुंगामा रहेको भ्यु टावरबाट तराईका जिल्लाको समेत अवलोकन गर्न सकिने भएकाले रेसुंगाको महत्व अझ बढी छ । हिमशृङखला तथा तराईका फाँटहरू अवलोकन गर्न सकिने भएकाले रेसुंगा क्षेत्रको भ्रमण आन्तरिक पर्यटकका लागि रोजाइ बन्ने गरेको छ ।

यो क्षेत्र धार्मिक दृष्टिले महत्वपूर्ण हुनुका साथै जैविक विविधताले पनि महत्वपूर्ण छ । यहाँ विभिन्न किसिमका जडिबुटी, वनस्पति, चराचुरुंगी तथा प्रसस्त जैविक खानी छन् । यस क्षेत्रमा ११६ जातका वन्यजन्तु, ३१ प्रजातिका वनस्पति र १४५ जातिका जडिबुटी पाइन्छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com