‘अमेरिकालाई एक चीन नीतिबारे सम्झाउनुपर्छ’: नेपालका परराष्ट्रविज्ञहरु
प्रकाशित मिति : श्रावण १९, २०७९ बिहीबार
ताइवान सम्बन्धमा विश्वका दुई महाशक्ति राष्ट्र अमेरिका र चीनबीच तनावको स्थिती पैदा भएको छ । सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमणबाट चीन शशंकित बनेको छ । रुस र युक्रेनबीचको युद्धले विश्व समुदाय चिन्ता बढ्दै गएका बेला अमेरिका र चीनबीचको यसखाले गतिविधिले तेस्रो शीतयुद्धको सम्भावना बढेको परराष्ट्र जानकारहरुले बताएका छन् ।
एबीसी टेलिभिजनमा गरिएको संवादमा अष्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत अजय शर्माले सयुक्त राष्ट्र संघमा सन् १९७१ को महासभामा एक चीन नीति पारित भएको बताए । उनले यो नीतिलाई सम्मान गर्नुपर्ने बताउदै अब अमेरिकालाई यो सम्झाउनुपर्ने धारणा राखे ।
उनले भने, “युएनले १९७१ मा जनरल एसेम्बलीले पारित गरेको वान चाइना पोलिसी रेक्पेक्ट गर्नुपर्छ भनेर रिमाइन्ड गराउनुपर्छ । युक्रेन र रसियाको मामिलामा र चीन र ताइवान सम्बन्धमा भिन्नताबीच अन्तर छ । महासभाले पारित भएकाले युएनको कर्तव्य पर्छ ।”
‘अमेरिकाले घोषितरुपमा एक चीन नीति नछोडेको भन्दै उनले चीनले नगर भन्दाभन्दा अमेरिकी सभामुख न्यान्सी पोलेसीले ताइवान भ्रमण गरेको उल्लेख गरे । एक चीन नीतिको रक्षा गर्नुपर्छ र त्यसका लागि अमेरिकालाई मनाउनुपर्छ’, उनले भने ।
छिमेकी राष्ट्र चीनलाई चिढ्याएर वा टाढाको मित्र शक्ति राष्ट्र अमेरिकालाई चिढ्याएर नेपालको अस्तित्व नबच्ने उनको भनाइ छ । यसका लागि नेपालले पञ्चशीलमा आधारित सिद्धान्तमा अघि बढ्नुपर्ने उनले बताए । सैन्य एलायन्समा सामेल नहुने कुरा पहिले नै स्पष्ट पार्न सक्नुपर्नेमा पनि उनले जोड दिए ।
लक्ष्मण रेखा नाघे क्षति हुन्छ
भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले अमेरिका र चीनबीच उत्पन्न तनावलाई बुद्धिमतापूर्वक समाधान गर्नुपर्ने बताए । युद्ध नै हुने दुवैले क्षति नै व्यहोर्नुपर्ने कल्पना नगरेर केही घटना देखाउनलाई गरिएको पनि हुन सक्ने तर्क उनको छ ।
उपाध्यायले भने, “ताइवानको टेन्सनमा पनि नेपाल एक चीन नीति नै रहला । यसलाई बुद्धिमतापूर्वक समाधान गर्नु समयको माग हो, यसले क्षति हुनबाट जोगाउछ । हङ्कङमा चीनको जस्तो शासन कायम गर्छु भन्दा असर पर्छ । लक्ष्मण रेखा नाघ्नासाथ क्षति हुन्छ ।कुटनीतिमा अरुलाई दोष दिन मिल्दैन । आफैं सहमतिमा भेटघाट गर्ने, अनि यसो ग¥यो, उसो ग¥यो भन्नु तुक रहँदैन ।”
देशको राजनीतिक एवम् परराष्ट्र कुटनीति लगायतका क्षेत्रमा पारदर्शीताको कमीले झन्–झन् फसेर कमजोर भएको उनको बुझाइ छ । चीन र अमेरिकाबीचको शीतयुद्धको बाछिटा पनि नेपालमा बढ्दै गएको र यो कुराको हेक्का नेताहरुले राख्नुपर्ने उनको सुझाव छ ।
शीत युद्ध उत्कर्षमा पुगिसक्यो
भूराजनीतिक विश्लेषक प्राध्यापक डा. दिनेश पौड्यालले करिब एक, डेढ वर्षदेखि देशको राजनीति निरन्तर चुक्दै र फस्दै आइरहेको भन्दै अमेरिका–चीन बीचको शीतयुद्ध उत्कर्षमा पुगेको बताए । एकातिर चीन र अर्कोतिर अमेरिकाले यसको नेतृत्व लिएको पनि बताए ।
पोड्यालले भने, “नेपाली जनताको शीर निहुराउने र नेपाल फस्दै गएको छ, एसपीपी, एमसीसी यताउताको यी सबै खुद्रा, मसिना खुड्किलाहरु हुन् । शक्ति राष्ट्रको चेपुवामा र आफ्नो पक्षमा नेपाललाई प्रयोग गरेको छ ।”
उनले यतिबेला राजनीतिक पक्ष, विपक्षमा हेरिन नहुने र देशको पक्षबारे सबैले हेर्नुपर्ने बताएका छन् । अमेरिकाको स्वार्थका लागि त्यसो भन्ने सामन्तवादी भूराजनीतिक चेतले देशको अस्तित्व र राष्ट्रियतामा असर पर्ने उनको भनाइ छ ।