विष्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु
प्रकाशित मिति : श्रावण २७, २०७९ शुक्रबार
अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
राजधानीमा भएको विस्फोटमा हक्कानी मारिएका टोलो समाचार समितिले जानकारी दिएको छ ।
अफगानिस्तानमा पछिल्ला हप्ताहरुमा शृङ्खलाबद्ध विस्फोटहरु भएका छन् । राजधानी काबुलको चन्दवाल, पुल–ए–सोख्ता र सरकारिजलगायतका धेरै क्षेत्रमा विस्फोटहरू भएका छन् ।
अगस्ट छ मा काबुलको पश्चिममा पर्ने पुल–ए–सोख्ता क्षेत्रनजिक भएको विस्फोटमा कम्तिमा तीन जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएका थिए ।
अफगानिस्तानमा भर्खरै भएको विस्फोटको संयुक्त राष्ट्र सङ्घले निन्दा गरेको छ ।
यसमा परी एक सय २० भन्दा बढी व्यक्ति मृत्यु र घाइते भएका छन् । यस विस्फोटको इस्लामिक स्टेट्सले दाबी गरेको छ । अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसङ्घको परिवारले अल्पसंख्यकहरूको लागि ठूलो सुरक्षाको आग्रह गरेको छ ।