सामाजिक सञ्जाल प्रयोग गरेको आरोपमा साउदी अरबमा महिलालाई ४५ वर्षको जेल सजाय


प्रकाशित मिति : भाद्र १६, २०७९ बिहीबार

साउदी अरेबियाले सामाजिक सञ्जाल प्रयोग गरेर देशलाई नोक्सान पु¥याएको आरोपमा एक महिलालाई ४५ वर्षको जेल सजाय सुनाएको छ । साउदी अरबमा यो दोस्रो यस्तो घटना हो ।

साउदी अरेबियाको एक आतंकवाद अदालतले नौरा बिन्त सईद अल–काहतानीलाई सामाजिक सञ्जाल मार्फत सामाजिक पूर्वाधारमा खलल पु¥याउने प्रयास गरेको र सरकारी आदेशहरूको उल्लंघन गरेकोमा दोषी ठहर गरेको छ । साउदी अरबको सबैभन्दा ठूलो जनजातिसँग सम्बन्धित नौराविरुद्ध कुनै रेकर्ड उपलब्ध छैन ।

यसअघि ९ अगस्टमा अर्की एक महिलालाई ट्वीटरमा गरेको गतिविधिमा ३४ वर्षको जेल सजाय सुनाइएको थियो । यी महिला लीड्स विश्वविद्यालयमा पीएचडी गर्न लगेकी विद्यार्थी थिइन्।

उनी यसैवर्षको जनवरीमा साउदी अरबमा छुट्टी मनाउने क्रममा पक्राउ परेकी थिइन । सलमा शाहाबलाई सरकारी आदेशको उल्लंघन लगायत अन्य कैयौं आरोपमा दोषी ठहर गरिएको थियो ।

उनीहरुलाई आतंकवाद विरोधी र साइबर अपराध विरुद्धको कानुन अन्तर्गत कारबाही गरिएको छ । गत वर्षदेखि सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा केही अन्य महिला पनि पक्राउ परेका छन् । अब उनीहरुलाई पनि कडा सजाय हुने आशंका गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com