रुसी सेनाको आक्रमणबाट सिरियामा १ सय २० जना विद्रोही मारिए


प्रकाशित मिति : भाद्र २४, २०७९ शुक्रबार

रुसी सेनाले बिहीबार गरेको कारबाहीका क्रममा सिरियाको नुसरा फ्रन्ट नामक विद्रोही समूहका कम्तीमा पनि एक सय २० जना लडाका मारिएका छन् ।

सो समूह अल कायदा आतङ्ककारी समूहसँग आबद्ध रहेको बताइएको छ । सिरियाको उत्तर पश्चिमी क्षेत्रमा सो समूहका लडाकाहरुले हिंसा मच्चाइरहेका छन् ।

तिनै समूहका लडाकाहरुलाई लक्ष्य गरेर बिहीबार रुसी सेनाले सिरियाको उत्तरपश्चिमी एक प्रान्तमा हवाई कारबाही गरेको हो । रुसी सेनाको सो हवाई कारबाहीका क्रममा परेर कम्तीमा पनि एक सय २० जना लडाका मारिएका छन् भने अरु केही घाइते भएका छन् ।

सिरियाली इदलिब नगरको नजिक सो समूहको तालिम केन्द्र सञ्चालनमा रहेको सूचनाका आधारमा सो सैन्य हमला भएको थियो । बिहीबार सो क्षेत्रमा रुसी लडाकू विमानले १४ वटा आक्रमण गरेका थिए । त्यस क्रममा यहाँ रहेको सो तालिम केन्द्रका सामग्रीहरु पनि ध्वस्त भएका थिए भने सो तालिम केन्द्रमा आश्रय लिएर बसेका लडाकाहरु मारिएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com