तीव्र गतिमा सवारी चलाउने चालकले एक घण्टा सचेतना कक्षा लिनुपर्ने


प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार

तीव्र गतिमा सवारीसाधन चलाउने चालकले अब अनिवार्य रुपमा ट्राफिक सचेतना कक्षा लिनुपर्ने भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी आगामी मङ्सिर १५ गतेदेखि तीव्र गतिमा सवारीसाधन चलाउने चालकले अनिवार्य रुपमा एक घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक नियमअनुसार कारबाही गर्दै एक घण्टाको सचेतना कक्षा लिएपछि मात्र छोडिने जानकारी दिनुभयो ।

“काठमाडौँ उपत्यकामा हुने धेरै सवारी दुर्घटना तीव्र गतिका कारण हुने गरेको पाइएको छ, उपत्यकाभित्रको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न उक्त अभियान सञ्चालन गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । ट्राफिक प्रहरीले यसअघि मादक पदार्थ सेवन गरेर चलाउने, लेन अनुशासन पालना नगर्ने र रातो बत्ति क्रस गर्नेलाई मात्रै सचेतना कक्षा लिँदै आएको थियो ।

काठमाडौँ उपत्यकामा आव २०७८÷०७९ मा तीव्र गतिका कारण तीन हजार पाँच सय ४३ सवारी दुर्घटना भएको सो कार्यालयले जनाएको छ ।

प्रवक्ता भट्टले चालू आवमा सडकमा गुडिरहेका यान्त्रिक अवस्था ठीक नभएका तीन सय ५२ सवारीसाधनलाई परीक्षण तथा कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाइएको बताउनुभयो । ठूलो ध्वनि निकाल्ने १८ वटा मोटरसाइकललाई पनि नियन्त्रणमा लिएर परीक्षण गरी कारबाही गरिएको छ । उहाँले स्कुल बस निर्देशिका २०७४ बमोजिम स्कुल बस नचलाउने एक सय ७० चालकलाई कारबाही गरिएको जानकारी दिनुभयो । जसमध्ये मादक पदार्थ सेवन गरेर सवारी चलाउने ३७ जना चालक रहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com