मृत्यु जितेकी कोपाइलट अनिता भन्छिन्– ‘स्वस्थ भएपछि जहाज उडाउँछु’
प्रकाशित मिति : श्रावण १, २०७४ आईतबार
श्रावण १, २०७४- चार वर्षदेखि नेपाली सेनाको ‘नेपाल आर्मी ४८’ कलसाइन रहेको स्काई ट्रक उडाइरहेकी कोपाइलट मेजर (सेनानी) ३२ वर्षीया अनिता आलेमगरका लागि गएको जेठ १६ कालो दिन बनेर आयो । हुम्लामा चामल ढुवानी गरिरहेका थिए, जहाजका क्याप्टेन महासेनानी कैलाश गुरुङ र कोपाइलट अनिता । त्यही दिन तेस्रो उडान भर्दै गर्दा एकाएक सिमकोटको मौसम प्रतिकूल भएको खबर पाए । तत्कालै नजिकैको बाजुरास्थित कोल्टी विमानस्थलतर्फ मोडिए । अमेरिकाको टेक्सासबाट पाइलट कोर्स गरेर ६ वर्षअघि नेपाली सेनामा सहायक सेनानी पदबाट जागिर सुरु गरेकी अनिता मात्र होइन, गुरुङका लागि पनि कोल्टी विमानस्थलको धावनमार्ग नौलो थियो ।
जहाज अवतरण के हुँदै थियो, पाङ्ग्राले धावनमार्गको टचडाउन मार्क नटेकेर आधा भाग माथि नै ल्यान्डिङ गियर राख्न पुग्यो । प्रत्यक्षदर्शीका अनुसार जहाज सीधै तारजाली उछिन्दै करिब ६० मिटर पर उछिट्टियो र उत्तानो पल्टियो । क्याप्टेन गुरुङको जहाजभित्रै ज्यान गयो । बेहोस भएकी कोपाइलट अनितालाई भने कोल्टीस्थित सेना, प्रहरी र स्थानीयले गम्भीर अवस्थामा उद्धार गरे र बाजुराको कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याए । प्राय: अहेव र अनमीहरूको भरमा रहने स्वास्थ्य केन्द्रमा त्यस दिन संयोगले डाक्टर भेटिए । विकट क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न जिल्लाबाट हिँडदै गरेका डा. रूपचन्द्र विश्वकर्मा कोल्टीमै थिए । गम्भीर अवस्थामा रहेकी अनितालाई डा. विश्वकर्माले आपतकालीन उपचार गर्दै प्रविधिविहीन कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा नअल्मलिई जतिसक्यो चाँडो नेपालगन्ज पुर्याउने जोखिमयुक्त निर्णय लिए । उनले उडानकै क्रममा अनिताका घुँडाको ठूल्ठूला घाउमा टाँका लगाउन भ्याए । अक्सिजनलगायत आपतकालीन औषधि जहाजभित्रै दिएर अनितालाई जीवितै नेपालगन्ज पुर्याउन सफल भए ।
अनितालाई तत्काल नेपालगन्ज पुर्याउन सक्नु पनि सुखद संयोगै थियो । गोमा, सीता र सेनाको स्काई ट्रक सँगसँगै उडिरहेका थिए । सिमकोटको मौसम बिग्रेको जनाउपछि गोमाका दुइटा विमान नेपालगन्ज फर्केका थिए भने सीता र सैनिक विमान सिमकोट–नेपालगन्जको हवाई रुटमै पर्ने कोल्टीतर्फ डाइभर्ट भएका थिए । क्याप्टेन कैलाशले केहीबेर होल्ड गरेका भए पनि पछि उनीसमेत सीतासँगै कोल्टीतर्फ मोडिएका थिए । सीताको विमान कोल्टीमा अवतरण भएको करिब दुई मिनेटपछि सेनाको स्काई ट्रक अवतरणका लागि धावनमार्ग आइपुगेको थियो । तर टचडाउन मार्क (पहिलो पटक पाङ्ग्रा टेक्ने रेखा) भन्दा धेरै अगाडि टेक्न पुग्दा विमानले नियन्त्रण गुमाएको थियो ।
‘घटनाका बेला सीता एयरको जहाज त्यहीँ नभएको भए उहाँलाई जीवितै नेपालगन्ज पुर्याउन मुस्किल थियो,’ डा. विश्वकर्माले महिना दिनअघिको घटना सम्झँदै भने । त्यसपछि अनितालाई नेपालगन्ज शिक्षण अस्पतालको भेन्टिलेटर हुँदै काठमाडौंस्थित ग्रान्डी अस्पताल पुर्याइएको थियो ।
ग्रान्डीमा एक महिना तीन दिनको सघन उपचारपछि अनिता यसै साता डिस्चार्ज भएकी छन् । बिहीबार अपराहन ललितपुरस्थित अनिताको घर पुग्दा उनी स्टिलको सहारामा भित्री कोठाबाट आफंै हिँडेर बैठक कोठासम्म आइन् । भलाकुसारी गरिन् । घाँटी, पेट र खुट्टाका विभिन्न ठाउँमा मेजर अप्रेसन भएको छ । घाँटी राम्ररी घुमाउन सक्दिनन् ।
ग्रान्डीका चिकित्सक पाइलट अनितालाई बचाउन सक्नु दुर्लभ केस मात्र नभई राष्ट्रकै लागि गौरव भएको बताउँछन् । जहाज दुर्घटना हुने बेलाको कुनै सम्झना छैन उनलाई । अनिताले भावुक हुँदै भनिन्, ‘दुर्घटना हुने बेलाको मात्रै नभई त्यसअघिका कुनै पनि सन्दर्भ स्मरणमा छैनन् । रित्तो भयो मेरो मेमोरी ।’ होस खुलेको सुरुका एक–दुई दिन चिकित्सक र आफन्तले स्कुटर दुर्घटना भएको बताएका थिए । घटना सम्झिन कोसिस गराए तर उनले सम्झिन सकिनन् । अनिताले होस खुलेको सुरुको शब्द ‘कैलाश सर’ भनेको उनका श्रीमान् रुद्रले सुनाए ।
उड्डयन इतिहासमा अनिताको जस्तो सौभाग्य विरलैले पाउँछन् । अनिताले पुनर्जीवन पाएकामा श्रीमान्लगायत घरपरिवारमा खुसीको सिमै छैन । श्रीमान् रुद्र राष्ट्रसंघीय आर्मी अफिसरअन्तर्गत सोमालियामा कार्यरत छन् । घटनालगत्तै नेपाल आएर फर्केका उनी अनितालाई अस्पतालबाट डिस्चार्ज गर्ने बेला पनि बिदा लिएर नेपाल आए । ‘उपचारका लागि लाखांै रकम जुटाउँदाको दबाब व्यहोर्नुपरे पनि अनिताले पुनर्जीवन पाएकामा खुसी छु,’ रुद्रले भने, ‘डिस्चार्जका बेला उपचारमा लागेको २८ लाख आफैंले तिर्नुपर्यो ।’
शारीरिक अशक्तताबाहेक आफूमा कायम सबै क्षमताप्रति अनिताले गर्व गरिन् । तीन वर्ष उमेरकी गुडियाजस्तै छोरीको चञ्चलताले अनिताको पट्यारलाग्दो समय भुलाउन सहयोग गरिरहेको छ । घरपरिवारबाट प्राप्त मायाले ६ महिना वर्ष दिनभित्र पुरानै अवस्थामा फर्कन सक्नेमा उनी ढुक्क छिन् । ‘मलाई मृत्युको मुखबाट बचाउनु हुने नेपाल आर्मी परिवारलगायत सबैप्रति ऋणी छु,’ अनिताले भनिन्, ‘मैले केही समय आराम गर्नुपर्नेछ, स्वस्थ भएपछि जहाज उडाउँछु ।’