रामेछापमा बोलेरो दुर्घटना : नौ जना घाइते, तीनको अवस्था गम्भीर
प्रकाशित मिति : पुस २, २०७९ शनिबार
रामेछापको उमाकुण्ड गाउँपालिका–६ भुजीमा शनिबार दिउँसो बोलेरो दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँबाट उमाकुण्ड गाउँपालिकाको भुजीतर्फ जाँदै गरेको बा ११ च ७५१२ नम्बरको बोलेरो गाडी भुजीको एकराते पहरा फास्तुमा दुर्घटनामा परेको हो । घाइतेहरूको उद्धार गरी गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ ।
कच्ची सडकको मोडबाट गाडी अनियन्त्रित भई करिब ५० मिटर तल भिरमा खसेको छ । बोलेरोमा सवार सबै नौ जना घाइते भएका छन् ।
घाइतेमध्ये लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँका वडासदस्य विमल सुनुवार, सोही गाउँका विमला सुनुवार र राजकुमार थापालाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजुप्रसाद ढकालले बताए ।
त्यसैगरी, गाडी दुर्घटनामा लिखु तामाकोसी गाउँपालिका– १ दुरागाउँकै २३ वर्षकी सृष्टि सुनुवार, ३० वर्षकी सीता कार्की, ३० वर्षकै मनिता खड्का र ४० वर्षका दीप सुनुवारलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार गरी थप उपचारका लागि सदरमुकाम मन्थलीतर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये १६ वर्षीय नरेश खड्का र १९ वर्षीय सुजन भुजेलको अवस्था सामान्य रहेकाले उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ ।