कांग्रेसले संसदीय दलको निर्वाचनका लागि समिति बनाउँदै
प्रकाशित मिति : पुस ३, २०७९ आईतबार
नेपाली कांग्रेसले पार्टीको संसदीय दलको निर्वाचनका लागि समिति बनाउने भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने बैठकले सो समिति गठन गर्ने बताइएको छ । बैठकमा संसदीय दलको निर्वाचनका लागि समिति बनाउनेलगायत कार्यसूची रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बस्ने बैठकमा निर्वाचनपछिको समीक्षा, समसामयिक राजनीतिकलगायत विषयमा समेत छलफल हुनेछ । कांग्रेसको विधानको दफा ४० मा पार्टीको संसदीय दल गठनसम्बन्धी व्यवस्था छ । सङ्घीय संसद्मा रहेका पार्टीका सांसदहरू कांग्रेस संसदीय दलका सदस्य हुन्छन ।
यसैगरी संसदीय दलमा प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने विधानमा व्यवस्था छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।
सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय सत्तागठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ । साथै कांग्रेसमा संसदीय दलको नेताको निर्वाचनको तयारीको पनि सुरु भएको छ । यसैगरी निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरी बिहीबार राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको चर्चा सुरु भएको छ ।