आज क्रिसमस डे मनाइँदै, राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त
प्रकाशित मिति : पुस ९, २०७९ शनिबार
इसाई धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर रुपमा मनाइँदै छ । हरेक वर्ष डिसेम्बर २५ मा क्रिश्चियन धर्मालम्बीले ‘क्रिसमस डे’ को रुपमा मनाउने गर्दछन् । नेपाल सरकारले ‘क्रिसमस डे’को उपलक्ष्यमा इसाई धर्मावलम्बीका लागि सार्वजनिक विदा दिएको छ ।
क्रिसमसका अवसरमा काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायत स्थानमा विशेष रौनक छ । क्रिसमस ट्रीलगायतले बजार र ठूला व्यापारिकस्थल सजाइएको छ । २ हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ ।
राष्ट्रपतिद्वारा क्रिसमस डेको शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन् ।
उनले शुभकामना सन्देशमार्फत यस्ता चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनुका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
विविधताबीचको एकता नै नेपालीको पहिचान : उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुनले हाम्रो विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताएका छन् ।
इसाई धर्मावलम्बीको पर्व क्रिसमस डेको अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिँदै उनले यस्ता पर्वले नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता, भातृत्व र सहिष्णुता कायम राख्दै सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाद्वारा क्रिसमसको शुभकामना
प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
उनले शुभकामना सन्देशमार्फत चाडपर्वलाई आफ्नो संस्कार र संस्कृतिको अभिव्यक्तिका रूपमा उत्साहपूर्वक मनाउँदा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूका बीच आपसी भाइचारा, सौहार्दता र राष्ट्रिय एकताको अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।