यात्रुमाथि लगाएको विभिन्न प्रतिबन्धप्रति चीनको विरोध, बदला लिने चेतावनी
प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार
चीनले कोभिडका कारण विश्वका अन्य देशले चिनियाँ यात्रुमाथि लगाएको विभिन्न प्रतिबन्धको विरोध गरेको छ । चीनले यस्तो भएमा त्यसको बदला लिने बताएको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले पत्रकारहरूसँग कुरा गर्दै चिनियाँ जनतामाथि लगाइएको प्रतिबन्धको कुनै वैज्ञानिक आधार नभएको दाबी गरे ।
अर्कोतर्फ, अन्तर्राष्ट्रिय स्वास्थ्य अधिकारीहरूले चीनले कोरोनाभाइरसको फैलावट र कथित नयाँ संस्करणसँग सम्बन्धित जानकारी साझा नगरेकोमा आलोचना गरेका छन्।
अमेरिकालगायत करिब एक दर्जन देशले चीनबाट आउने व्यक्तिको नेगेटिभ परीक्षण अनिवार्य गरेको छ ।
चीनमा हालै कोरोना सम्बन्धी प्रतिबन्धहरू खुकुलो पारिएको छ र धेरै चिनियाँहरूले विदेश यात्रा गर्न बुकिङ गरिरहेका छन्।