बमको धम्कीपछि मस्कोबाट गोवाका लागि उडेको विमानको आपतकालीन अवतरण


प्रकाशित मिति : पुस २५, २०७९ सोमबार

मस्कोबाट गोवा आउँदै गरेको चार्टर्ड विमानलाई सोमबार राति गुजरातको जामनगरमा बमको धम्की आएपछि आपतकालीन अवतरण गरिएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार विमानमा रहेका सबै २३६ यात्रु र ८ जना चालक दलका सदस्यलाई बाहिर निकालेपछि प्रहरी र बम डिस्पोजल टोलीले विमानमा सर्च गरेको थियो।

नयाँ दिल्लीस्थित रुसी दूतावासका एक अधिकारीले मस्कोबाट गोवा आउँदै गरेको अजुर एयरको विमानमा बमको धम्की आएको भारतीय अधिकारीहरूबाट जानकारी पाएको जनाएका छन् ।

विमान जामनगरस्थित वायुसेनाको एयरबेसमा अवतरण गरिएको र सबै यात्रु सकुशल रहेको अधिकारीले बताए । सावधानीका रूपमा यस विमानस्थलमा सुरक्षा व्यवस्था पनि बढाइएको छ ।

विमानलाई छुट्टै राखेर अनुसन्धान गरिएको थियो । तर विमानमा कुनै बम वा शंकास्पद वस्तु फेला परेको छैन ।

जामनगरमा आपतकालीन अवतरणपछि एनएसजीका दुई टोलीले विमानको जाँच गरेका छन् भने एनएसजीको टोलीले एयरपोर्टमा यात्रुहरूको सामान जाँच गरेको छ ।

सोमबार राति करिब १० बजे विमानमा बम रहेको सन्देश आएपछि जामनगर विमानस्थलमा आकस्मिक अवतरण गर्नुपरेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com