आज मन्त्रिपरिषद् विस्तार : कुन पार्टीलाई कति र कुन मन्त्रालय ?
प्रकाशित मिति : माघ २, २०७९ सोमबार
आज (मंगलबार)मन्त्रिपरिषद् विस्तार हुँदै छ । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । शपथ दिउँसो १ बजे हुने तय गरिएको छ । सोमबार साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबन्डाको टुंगो लगाएको थियो । गृहमन्त्री रवि लामिछानेले भागबण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको बताए ।
दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । नेकपा एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । राप्रपाले पनि तीन मन्त्री र एक राज्यमन्त्री पाउनेछ । जनमत पार्टीले एक मन्त्री पाउनेछ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गत पुस १० मा ७ दल र केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। पुस ११ मा उनले ८ मन्त्रीसहित शपथ लिएका थिए। मन्त्री भएकामध्ये केहीलाई मन्त्रालयको जिम्मेवारी दिइएको थिएन भने १७ मन्त्रालय प्रधानमन्त्री आफैंले हेर्दै आएका थिए।
प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दल एमाले अध्यक्ष ओलीसँग पटकपटक भेटवार्ता गर्दै मन्त्रिपरिषद विस्तारलगायत विषयमा कुराकानी गरेका थिए। गत पुस २६ मा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोसपालगायत दलले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए। यसपछि मन्त्रिपरिषद विस्तारमा झन् अन्यौलता सिर्जना हुँदै आएको थियो।