आगामी ५ वर्षमा नेपालमा १ अर्ब डलरभन्दा बढी सहयोग गर्ने अमेरिकी उपविदेशमन्त्रीको घोषणा
प्रकाशित मिति : माघ १६, २०७९ सोमबार
दुई दिने नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले नेपाल र अमेरिका बीचको सम्बन्ध र सहकार्यलाई थप अघि बढाउने बताएकी छन् । उनले नेपालको आर्थिक विकासमा अमेरिकी सरकारले आगामी ५ वर्षमा नेपालमा १ अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग गर्ने बताएकी छिन् । सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएकी हुन् ।
प्रधानमन्त्री र राजनीतिक दलका प्रमुखसँग भेटवार्ता :
नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डले आज मुख्य तीन राजनीतिक दलका अध्यक्षहरुसँग भेटघाट गरेकी छिन् । दुई दिने नेपाल भ्रमणका लागि आइतबार काठमाण्डौ आएकी उनले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर भेटघाट गरेकी छिन् ।
भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री दाहालले नेपालको विकासमा अमेरिकाले पु-याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा थप वृद्धि हुँदै जाने अपेक्षा राखेको सचिवालयले जानकारी दिएको छ । यसैगरी उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि आजै शिष्टाचार भेटवार्ता गरेकी छिन् ।
भेटमा द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, विकास र सुशासनमा प्राप्त सहयोग अझ सुदृढ बनाउने विषयमा छलफल भएको पूर्वप्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । भेटमा देउवाले नेपाललाई अमेरिकाबाट निरन्तर प्राप्त सहयोग र समर्थनको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गरेका थिए ।
यसैगरी उपविदेशमन्त्री भिक्टोरियाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भेटवार्ता गरेकी थिईन । भेटमा दुई देशको हित र समसामयिक विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
भिक्टोरिया नुल्याण्ड :
भिक्टोरिया नुल्याण्डले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्रीका रूपमा शपथ लिएकी हुन् । त्यसअघि उनी वासिङ्टन डिसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत थिईन ।
उपविदेश मन्त्री नुल्यान्ड ब्रुकिङ्स इन्स्टिच्युसनमा गैर–आवासीय सिनियर फेलो, येल विश्वविद्यालयमा वृहत् रणनीतिकी विशिष्ट अभ्यासकर्ता र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीको सञ्चालक समितिकी सदस्य पनि थिईन ।
तेत्तीस वर्षयता अमेरिकी कूटनीतिज्ञ रहेकी उनी अमेरिकी राष्ट्रपति ओबामा र विदेश मन्त्री केरी मातहत सन् २०१३ को सेप्टेम्बरदेखि २०१७ को जनवरीसम्म युरोपेली तथा युरेसियन मामिलासम्बन्धी सहायक विदेश मन्त्रीका रूपमा सेवारत थिईन । उनी अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनको कार्यकालताका विदेश मन्त्रालयकी प्रवक्ता थिइन भने राष्ट्रपति जर्ज डब्ल्यु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटोका लागि अमेरिकी राजदूत बनेकी थिइन ।
उप-विदेश मन्त्री नुल्यान्डले सन् २०१० देखि २०११ सम्म युरोपमा पारम्परिक हतियार नियन्त्रण सन्धिसम्बन्धी विशेषदूत तथा प्रमुख वार्ताकारका रूपमा र सन् २००३ देखि २००५ सम्म अमेरिकी उपराष्ट्रपति चेनीकी उपराष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा सेवा गरेकी थिईन। उनले ब्रसेल्सस्थित नेटोमा दुई कार्यकालका साथै अमेरिका बाहिर रसिया, चीन र मङ्गोलियाका साथै वासिङ्टनस्थित विदेश मन्त्रालयमा विभिन्न ओहोदामा रही काम गरिसकेकी छिन् । उनले ब्राउन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातक गरेकी छिन् ।