आहाराको व्यवस्थाले लोपोन्मुख गिद्ध बढे


प्रकाशित मिति : माघ २६, २०७९ बिहीबार

तनहुँको व्यास नगरपालिकाद्वारा सञ्चालित शिवालय गौ संरक्षण केन्द्रमा मरेका गाई गाड्न थालिएकाले आहारा खोज्न गिद्धलाई सजिलो भएको छ ।प्रकृतिको कुचिकारको रुपमा चिनिने गिद्ध बढ्दो बजारीकरणका कारण अग्ला रुख तथा आहाराको अभाव हुँदा लोपोन्मुख अवस्थामा पुगेकामा हाल आहाराका लागि व्यवस्थापन हुन थालेकाले उनीहरुको आगमन बढेको हो ।

गौसंरक्षण केन्द्रमा बुढा भएर मरेका गाई तथा गोरुलाई आहाराको रुपमा राख्न थालेपछि गिद्धको बथान यहाँ देख्न थालिएको छ । गिद्धको संरक्षण गर्ने उद्देश्यले व्यास नगरपालिका–१०, दुम्सीस्थित शिशुवा भतेरीमा आहाराको व्यवस्थाका साथै बासस्थानका लागि अग्ला रुख तथा आहाराको व्यवस्था हुन थालेपछि विभिन्न प्रजातिका गिद्धका बथान देखिन थालेको शिवालय गौ संरक्षण केन्द्रका अध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो ।

नगरपालिकाको सहयोगमा स्थापना गरिएको केन्द्रले मरेका गाईवस्तुलाई मादी नदी किनारको चौरमा आहाराको रुपमा राखिदिएकाले गिद्ध आउन थालेको उहाँले बताउनुभयो । अध्यक्ष सापकोटाका अनुसार यसरी व्यवस्थापन हुन थालेपछि छाडा चौपायाका कारण सडक अवरुद्ध भएर हुने दुर्घटनामा पनि कमी आएको छ । “यस क्षेत्रमा गौ संरक्षण केन्द्र राखिनु अघि गिद्धका बथान देखिदैनथियो तर अहिले दैनिक विभिन्न प्रजातिका गिद्ध थपिएका छन्, विज्ञलाई ल्याएर अध्ययन गराउँदा दैनिक नौ प्रजातिका करिब एक सय गिद्ध आउने गरेको पाइएको छ”,उहाँले भन्नुभयो ।

नगरप्रमुख वैकुष्ठ न्यौपानेले आहाराको कमी र विषाक्त आहाराका कारण गिद्ध बिरामी हुने, मर्ने तथा लोप हुँदै जाने अवस्था रहेकोमा हाल आहाराको व्यवस्था फेरी देखिन थालेको बताउनुभयो । उहाँले गाई संरक्षण केन्द्रमा तीन कर्मचारीको तलबलगायत वार्षिक रू १० देखि १५ लाखको पराल, चोकरजस्ता खाद्य पदार्थका लागि बजेट छुट्याउँदै आइएको जानकारी दिनुभयो । नगरपालिकाले रू १२ लाखको तारबार लगाएर उक्त केन्द्र संरक्षण पनि गरेकोे छ ।

“प्राकृतिमा सबै प्राणीले बाच्न पाउनुपर्छ र हामीले सबै खाले प्राणीलाई बाच्ने वातावरण बनाउनुपर्छ, लोपोन्मुख अवस्थामा रहेका गिद्ध पनि आहारा पाएपछि आएका हुन्”, नगरप्रमुख न्यौपानेले भन्नुभयो, “गौ संरक्षण केन्द्रमार्फत आहाराको व्यवस्था गरेका छौँ, यस क्षेत्रमा पूर्णरुपमा इकोसिस्टम लागू भएको देखिन्छ ।” उहाँका अनुसार विद्युत् हाइटेन्सन तारमा परेर गिद्ध मर्ने गरेकाले संरक्षणका लागि नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण समेत गराइएको छ । “यहाँ देखिने सबै प्रजातिका गिद्धको नाम त थाहा छैन”,ं केन्द्रका अध्यक्ष सापकोटाले भन्नुभयो, “घाँटी खुइले, हिमाली, गरुड, सेतो, राजा, घाँटी लामो भएका र स्थानीय जातका गरी करिब नौ प्रजातिका गिद्ध देख्न सकिन्छ ।”

चार वर्ष अघि गौ संरक्षण केन्द्र स्थापना गरिएकामा अहिले तीन वटा ब्लक बनाएर गाई तथा गोरुको व्यवस्थापन गर्ने योजना छ । उक्त क्षेत्रमा तीन सय रोपनी सार्वजनिक जग्गामा गौ संरक्षण गरिनाका साथै गाईको मलमूत्र र कुहिने फोहरबाट बायोग्यास प्लान्ट निर्माण गरिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गाईवस्तु बिरामी हुँदा पशु चिकित्सक तथा औषधि उपलब्ध गराउँदै आएको छ । चिकित्सको सल्लाहबमोजिम बासस्थान बनाएर गिद्धले सिनो खाने क्रममा उपयुक्त औषधिसमेत खुवाउने गरिएको पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार रू पाँच लाखको लागतमा गाईको बसोबासका लागि टहरो निर्माण गर्नाका साथै औषधि उपचारमा सहयोग गरिएको छ । यसबाट छाडा गाईवस्तुको व्यवस्थापन हुनाका साथै गिद्ध संरक्षणमा पनि सहयोग पुग्ने हुनाले वातावरणीय सन्तुलन राख्न सकिन्छ ।सरकारले २०६३ जेठदेखि ‘डाइक्लोफेनिक’ औषधि बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । उक्त औषधिले गिद्ध मर्ने भएकाले प्रतिबन्ध लगाइएको केन्द्रले जनाएको छ ।

वातावरण प्रदूषण हुन नदिई मानव जातिका लागि सन्तुलित वातावरण निर्माण गर्न गिद्धको मुख्य भूमिका हुने डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताउनुभयो । गिद्ध संरक्षण गर्न नगरपालिकाले गरेको प्रयास उदाहरणीय भएको बताउनुभयो । “कोभिडलगायत सङ्क्रामक रोगबाट जोगाउन वातावरणले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले प्रकृतिमैत्री तरिकाबाट विकास निर्माण र खानपानको व्यवस्था गर्न जरुरी हुन्छ”, उहाँले भन्नुभयो ।

केही वर्ष लोपोन्मुख अवस्थामा पुगेकोे गिद्ध यस क्षेत्रमा पुनः बथानमै देखिन थालेको छ । शिशुवा भत्तेरी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष यज्ञप्रसाद शर्माले भन्नुभयो, “गौ संरक्षण केन्द्र सञ्चालनपश्चात् आहाराको व्यवस्था भएपछि जिल्लाबाट हराइसकेको गिद्ध अहिले बथानै देखिन थालेको छ”, उहाँले बताउनुभयो । बीस वर्ष अघि सिनो छाड्ने ठाउँमा तथा अग्ला सिमलका रुखमा गुँड लगाएर बसेका गिद्ध देखिन्थ्यो । सिमलका रुख काट्न थालेपछि हराएका गिद्धले आहार पाउन थालेपछि फेरि देखिन थालेका हुन् ।

गिद्धलाई वातावरण सरसफाइ र दुर्गन्ध रोकथामको प्रतिकका रुपमा लिने गरिन्छ । गिद्धले वातावरणमा भएको फोहरमैला, सिनोलगायत वस्तु प्रमुख आहाराका रुपमा खाने गरेकाले वातावरण सन्तुलन हुने स्थानीयवासीको भनाइ छ । विश्वमा ३२ प्रजातिका गिद्ध पाइने गरेकोमा एसियामा नौ र नेपालमा आठ प्रजातिका गिद्ध पाइने विज्ञको भनाइ छ । सानो खैरे, राज हिमाली, खैरे, हाडफोर डङ्गुर, सुन र गोब्रे प्रजातिका गिद्ध नेपाल पाइने विज्ञको भनाइ छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com