क्रिकेटर सन्दीप लेख्छन्- घरेलु मैदानमा प्लेयर अफ द म्याच घोषित हुनु सौभाग्य
प्रकाशित मिति : फाल्गुन २९, २०७९ सोमबार
क्रिकेटर सन्दीप लामिछानेले घरेलु मैदानमा प्लेयर अफ द म्याच घोषित हुनु सौभाग्यको कुरा रहेको बताएका छन् । विश्वकप लिग २ अन्तर्गत सोमबार पीएनजीविरुद्ध ५ विकेट लिएपछि लामिछानेले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् ।
उनले आफ्नो टोली र शुभचिन्तकहरूको साथ बिना हासिल गर्न सम्भव नरहेको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा लामिछानेले लेखेका छन्, ‘घरेलु मैदानमा प्लेयर अफ द म्याच घोषित हुनु सौभाग्यको कुरा हो । मेरो टोली र शुभचिन्तकहरूको साथ बिना मैले यो हासिल गर्न सक्दिन।’
लामिछानेले शुभचिन्तकको मायाले आफूलाई उत्प्रेरित गरिरहेको बताएका छन् । लामिछानेले शुभचिन्तकले गरेको विश्वासले आफू नम्र रहेको बताउँदै हरेक खेलमा ल्याउने जोशबाट प्रेरित रहेको उल्लेख गरेका छन् ।
लामिछाने थप्छन्, ‘तपाईंको माया र दयाले मलाई उत्प्रेरित गर्छ। तपाईंले ममा राखेको विश्वासबाट म नम्र छु र तपाईंले हरेक खेलमा ल्याउने जोशबाट प्रेरित छु।’
लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो सय विकेट पुरा गर्ने विश्व कीर्तिमान बनाउने सम्भावना बलियो बनेको छ। लामिछाने सोमबार पीएनजीविरुद्ध ५ विकेट लिएपछि आफ्नो एकदिवसीय विकेटको शतकबाट दुई विकेट मात्रै टाढा छन् ।