रुसको लडाकु विमानसँग ठोक्किएर अमेरिकी ड्रोन दुर्घटना
प्रकाशित मिति : फाल्गुन ३०, २०७९ मंगलबार
रुसको एक लडाकु विमानसँग अमेरिकाको ड्रोन ठोक्किएर दुर्घटना भएको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् । ब्ल्याक सीमाथि उडिरहेको अमेरिकी एमक्यू–९ रिपर ड्रोन दुर्घटनामा परेको हो । एक अमेरिकी अधिकारीले घटनाको पुष्टी गर्दै भनेका छन्, रुसी जेटले मंगलबार ब्ल्याक सी माथि उडिरहेको अमेरिकी एमक्यू–९ रीपर ड्रोनको प्रोपेलरमा क्षति पुगेको छ।
अमेरिकाले रीपर ड्रोनलाई रुसी वायुसेनाका दुई एसयू–२७ लडाकु विमानले कालो सागरमा खसालेको दाबी गरेको छ । यसै क्रममा रीपरको अगाडि एउटा जेट उड्यो र त्यसमा इन्धन फ्याँकियो । अमेरिकी अधिकारीले भने यसले मक्यू–९ रीपर ड्रोनको पछाडिको प्रोपेलरमा क्षति पुगेको छ। अमेरिकी ड्रोन समुद्रमा नै खसेको थियो ।
अमेरिकी वायुसेनाले एक विज्ञप्ति जारी गर्दै रुसी लडाकु विमानहरू लापरवाह उडान र अव्यवसायिक गतिविधि गरेको आरोप लगाएको छ। यो घटनापछि अमेरिकी वायुसेना र नौसेनाका विमानहरूलाई अलर्ट गरिएको छ। अमेरिकाले ड्रोनको भग्नावशेष फेला परेको हो वा नभएको बताएको छैन ।
अमेरिकी वायुसेना युरोप र वायु सेना अफ्रिकाका कमाण्डर जनरल जेम्स बी हेकरले एक विज्ञप्तिमा भनेका छन् लगभग बिहान ७ः०३ मा (CET) मा रूसी एसयू-२७ विमानहरू मध्ये एउटा मक्यू–९ को प्रोपेलरमा ठोक्कियो, जसले गर्दा यो दुर्घटना भयो। टक्कर हुनुभन्दा धेरै पटक एसयू-२७ ले इन्धन खसाल्यो र मक्यू–९ को अगाडि लापरवाह, असुरक्षित र अव्यवसायिक रूपमा उड्यो।
अमेरिकाले युद्ध सुरु हुनुअघिदेखि नै ब्ल्याक सीमाथि रिपर ड्रोन उडाउँदै आएको छ। अमेरिकी वायुसेनाका अनुसार रिपर ड्रोनले ५० हजार फिटको उचाइसम्म उड्न सक्छ र गुप्तचर जानकारी सङ्कलन गर्नुका साथै हवाई आक्रमण पनि गर्न सक्छ।