अरु नाका खुले, अझै किन खुलेन टिपताला
प्रकाशित मिति : चैत्र १९, २०७९ आईतबार
चीनकोे तिब्बतसँग जोडिएको ताप्लेजुङको उत्तरी टिपताला नाका नखुल्दा सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा छन् । कोभिड १९ को सङ्क्रमण सुरु भएसँगै बन्द भएको नाका नखुल्दा सीमावर्ती क्षेत्रमा बसोबास गर्नेहरूको व्यवसाय सङ्कटमा परेको छ भने दैनिकीसमेत असहज बनेको छ ।
तिब्बतबाटै खाद्यान्नलगायतका सामान ल्याएर उपभोग गर्ने सर्वसाधारण तथा सीमापार व्यापारमा निर्भर रहेका याङ्मा, फले, घुन्सा, ओलाङ्चुङगोलालगायतका उद्योगी, व्यवसायी मर्कामा परेको ओलाङ्चुङगोलाका टाँसी शेर्पाले बताउनुभयो । “टिपताला हुँदै तिब्बतमा लगेर बेचिने गलैँचासहितका स्थानीय उत्पादन लामो समयदेखि घरैमा थन्किएका छन्, खाद्यान्नलगायतका उपभोग्य वस्तु सदरमुकामलगायतका ठाउँबाट महँगो भाडा तिरेर ल्याउनुपरेको छ, नाका खुल्ने अत्तोपत्तो छैन”, शेर्पाले भन्नुभयो ।
सडक सञ्जालसँग नजोडिएको ओलाङ्चुङगोलामा सदरमुकाम फुङलिङमा प्रतिकिलो ३० रुपैयाँ पर्ने नुन ८० रुपैयाँ पर्छ । तिब्बततर्फबाट निर्माण भएको सडक ओलाङ्चुङगोला बस्तीमा आइपुगे पनि सदरमुकामसँग अmभै नजोडिएकाले यातायात र ढुवानीमा समस्या छ । सदरमुकाम तर्पmबाट लगिएका सामान आधा बाटोबाट भरिया वा खच्चडमार्फत ढुवानी गर्नुपर्छ । लेलेपसम्म गाडीमा र त्यसपछि भरिया वा खच्चड र चौँरीलाई बोकाएर सामान लैजानुपर्छ । लेलेपदेखि ओलाङ्चुङगोला पु¥याएको ढुवानी भाडा प्रतिकिलो ५० रुपैयाँ पर्ने स्थानीयवासीले बताएका छन् । सामानको खरिद र ढुवानी खर्च दुवै तुलनात्मकरूपमा तिब्बततर्फ धेरै नै सस्तो पर्छ ।
वर्षौंदेखि सीमावर्ती क्षेत्रका बासिन्दाले आफ्ना उत्पादन तिब्बतमा पु¥याउने र तिब्बतबाट आवश्यक सामान खरिद गरेर ल्याउने गरेका छन् । घुन्सा, याङ्मा, ओलाङ्चुङगोलामा उत्पादन हुने ८० प्रतिशतभन्दा बढी गलैँचा चीनको तिब्बतमा निर्यात हुँदै आएको थियो । गलैँचा मात्रै नभई स्थानीयरूपमा पाइने जडीबुटी, घ्यू, छुर्पीलगायतका उत्पादन तिब्बतका बजारमा बेचेर उतैबाट खाद्यान्नलगायतका सामान स्थानीयवासीले लिएर घर फर्किने गरेका थिए । सीमा नाका बन्द भएसँगै आवतजावत पूर्णरूपमा ठप्प हुँदा यहाँको उत्पादनले बजार र मूल्य नपाएको र दैनिक उपभोग्य वस्तुसमेत महँगोमा खरिद गर्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन् ।
परम्परागत तानमा हातले मेहनतका साथ बनेका गलैँचा महँगो पर्ने गरेकाले नेपालतर्फका बजारमा भन्दा तिब्बतका बजारमा धेरै निर्यात भएका हुन् । तिब्बतका बजारमा भने जस्तो मूल्य पाउँदै आएको व्यवसायीले बताए । नजिकको बजार तिब्बत नै रहेकाले सीमा क्षेत्रका बासिन्दालाई आयात निर्यातमा सहज पनि छ । “नेपाली बजारमा लैजाँदा लागत मूल्य पाउन पनि मुस्किल हुन्छ, दूरदराजबाट बजार पु¥याउन त्यति सहज पनि छैन, लामो समयदेखि बनेका गलैँचा घरैमा थन्किएका छन्”, गलैँचा व्यवसायी यमुना सिवाँले भन्नुभयो ।
नाका बन्द हुँदा इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न क्षेत्रका किसानले उत्पादन गरेको र व्यवसायीले सङ्कलन गरेको चिराइतो झापाको बिर्तामोड हुँदै भारततर्फ निकासी भइरहेको छ । नाका बन्द नहुँदासम्म तिब्बतमा समेत निर्यात हुँदै आएको थियो । एकातर्फ मात्र निर्यात हुँदा भने जस्तो बजार र मूल्य नपाउने जस्ता समस्या भोग्नुपरेको व्यवासायीले बताए । “चिराइतो अहिले भारततर्फ नै निकासी भइरहेको छ, पहिलेको तुलनामा मूल्य पनि बढेको छ, तर समय समयमा माग र मूल्य तलमाथि भइरहने समस्या छ, तिब्बततर्फ पनि निर्यात हुने हो भने सायद यो समस्या नहोला”, व्यवसायी नरेन्द्र तिवारीले भन्नुभयो ।
यसरी लामो समयदेखि नाका बन्द हुँदा स्थानीयवासीले बेहोर्नुपरेको समस्या स्मरण गर्दै सरोकारवालाले नाका खोल्न पहल गर्ने बताउँदै आएका छन् । नेकपा ९एमाले० का नेता तथा ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले विभिन्न समयमा उक्त नाका खोल्न पहल भइरहेको बताउँदै आउनुभएको छ ।
यता केही दिनअघि गृह जिल्ला आउनुभएका डाक्टर सन्दुक रुइतले समेत उक्त नाका खोल्नुपर्नेमा जोड दिनुभएको थियो । कुनै समय चीनतर्पmका अन्य नाकामध्ये टिपताला धेरै अग्रसर रहेको स्मरण गर्दै उहाँले यो नाकासँग जोड्ने सडक मार्गको निर्माण चाँडो सम्पन्न गरेर मुलुकले फाइदा लिनुपर्ने बताउनुभएको थियो ।
बेला बेलामा नाका खुलाउन केही स्थानीयवासी विभिन्न सरोकारवाला व्यक्ति र निकायसम्म पुग्ने गरेका छन् तर सरकारले क्रमशः अन्यत्रका नाका खोल्ने निर्णय गरे पनि टिपताला नाकाबारे कुनै अत्तोपत्तो नभएकोमा स्थानीयको गुनासो छ । नेपाल–चीन सीमा व्यापार सङ्घको निर्णयअनुसार चीनले आगामी वैशाख १८ गतेदेखि तातोपानी र हिल्सा नाका खोल्ने जनाएको छ तर तीन वर्षदेखि बन्द भएको टिपतालाका सम्बन्धमा भने कुनै चर्चा भएको छैन ।
सदरमुकाम फुङलिङबाट सवारी साधन र पैदल गरेर ओलाङचुङगोला पुग्न झण्डै दुई दिनको समय लाग्छ । फुङलिङबाट साबिकको लेलेप गाविससम्म सवारी साधनमा र त्यसभन्दा माथि पैदल हिँड्नुपर्छ । ओलाङचुङगोला यसअघि नै तिब्बतसँग सडक सञ्जालले जोडिए पनि सदरमुकामसँग भने जोडिएको छैन । यता याङ्मा, घुन्सा, थुदाममा पुग्नसमेत दुईदेखि तीन दिनको समय लाग्छ । ओलाङचुङगोलामा ५३ परिवारको बसोबास छ भने याङ्मामा १३ परिवार बस्छन् ।