नेपाली क्रिकेट टिमलाई बधाईको ओइरो


प्रकाशित मिति : बैशाख १९, २०८० मंगलबार

नेपाली क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीको बधाई
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको विजेता टोली नेपाललाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले खेलाडीको योगदानप्रति उच्च सम्मानसहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री खेलाडीहरुलाई शुभकामना दिँदै भन्नुभयो, “एसिसी मेन्स प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

प्रधानमन्त्री ‘प्रचण्ड’को निर्देशनबमोजिम उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का खेलाडीहरुलाई हौसला बढाउन खेल मैदान पुग्नुभएको थियो । साथै, जितपश्चात् उहाँले सम्पूर्ण खेलाडीहरुलाई बधाई दिनुहुँदै जितको खुसी साट्नु भएको थियो ।

उक्त कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ । आज सम्पन्न एसिसी मेन्स प्रिमियर कपको फाइनलमा युनाइेटड अरब इमिरेट (युएई) लाई सात विकेटले पराजित गरेसँगै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा स्थान पक्का गरेको हो ।

यसैगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजेता नेपाली खेलाडीहरुलाई बधाई ज्ञापन गर्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले विजेता नेपाली टिम आगामी दिनमा पनि सफलता हात पार्दै अघि बढ्न सकोस् भनी कामना गर्नुभएको पनि उहाँको सचिवालयले जनाएको छ ।

यसैगरी पूर्वप्रधानमन्त्री एवम नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई ज्ञापन गर्नुभएको छ ।
अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत फाइनल खेलमा युनाइेटड अरब इमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेकामा नेपाली खेलाडीलाई बधाई दिनुभएको हो । उहाँले नेपाली क्रिकेट टोलीसहित सम्पूर्ण नेपालीलाई बधाई ज्ञापन गर्नुभएको छ ।

यसैगरी सभामुख देवराज घिमिरेले नेपाल एसिसी मेन्स प्रिमियर कप क्रिकेटमा जित्दै एसिया कपमा छनोट भएकामा बधाई तथा शुभकामना ज्ञापन गर्नुभएको छ ।

सभामुख घिमिरले आज शुभकामना दिँदै खेलको अभूतपूर्व जीतले नेपाल र नेपालीको शिर उँचो बनाएकोप्रति खुसी व्यक्त गर्दै नेपाली क्रिकेटको व्यवसायिकीकरणमा थप सहयोग गर्नु विश्वास व्यक्त गर्नुभएको छ ।

“नेपाल एसिसी मेन्स प्रिमियर कप क्रिकेट जित्दै एसिया कपमा छनोट भएकामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु”, सभामुख घिमिरेले जारी गर्नुभएको शुभकामनामा भनिएको छ, “अभूतपूर्व जीतले नेपाल र नेपालीको शिर उँचो बनाएको छ भने नेपाली क्रिकेटको व्यवसायिकीकरणमा थप सहयोग हुने विश्वास लिएको छु, खेलाडीलाई राज्यका तर्फबाट थप सम्मान र सहयोग आवश्यक रहेकोतर्फ ध्यानाकर्षण गराउँदछु ।”

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com