‛अमेरिकी सपनामा करोडौँ डुब्यो’
प्रकाशित मिति : बैशाख २४, २०८० आईतबार
अमेरिका लगायतका विभिन्न मुलुकमा गएर ठूलो रकम कमाउने लोभमा फस्दा एक सय एकजना ठगिएको फेला परेको छ । पीडितहरु साढे तीन करोड बढी रकम ठगिएपछि प्रहरीकामा आएका छन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ६८ वर्षीय सीताराम बास्तोला लगातयको समूहको मिलेमतोमा अमेरिका, जर्मनी, बेलायत तथा जापान पठाउने भन्दै यसरी ठगी गरेका भेटिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
ती ठगी गर्ने समूहले मासिक चार लाख बढी तलब हुने भनी विश्वास दिलाई प्रतिव्यक्ति रु ३० लाख खर्च लाग्ने र सम्बन्धित देशहरूमा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने लोभ देखाएर ठगी गरेका भेटिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो ।
गिरोहले पीडितहरुबाट पटकपटक गरी जम्मा तीन करोड ५६ लाख आठ हजार लिएर फरार भएका भएकामा वैदेशिक रोजगार विभागको अनुरोधमा यसरी फरार भएकामध्य भक्तपुरका सीताराम बास्तोलालाई आज पक्राउ गरिएको रेग्मीले बताउनुभयो । उनलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ ।