मेलम्ची खानेपानी वितरण जेठ ५ गतेदेखि बन्द हुने


प्रकाशित मिति : जेष्ठ १, २०८० सोमबार

मेलम्ची खानेपानी वितरण यही जेठ ५ गतेदेखि मात्र बन्द हुने भएको छ । मर्मतका लागि सोमबारदेखि दुई हप्ता बन्द गर्ने भनिएकामा सरोकारवालाहरूको सुझावअनुसार पाँच दिनपछि मात्र मर्मतको काम सुरु गरिने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दुई हप्ता जति मर्मत कार्य भएपछि पुनः पानी पठाइने छ ।

हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो ।

सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उहाँले बताउनुभयो ।

मेलम्ची खानेपानी आयोजनामा सरकारको विशेष ध्यान जानुपर्छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको टोलीले आज मेलम्ची खानेपानीको मुहान स्थल हेलम्बु–१ अम्बाथानमा अवलोकन तथा निरीक्षण गरेको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, समिति सभापति दिलकुमारी रावल थापा पार्वती एवं अन्य सदस्यहरू टोलीमा सहभागी हुनुहुन्थ्यो ।
मुहान निरीक्षणपछि कुराकानी गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले मेलम्ची खानेपानी आयोजना काठमाडौँवासीका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले सरकारले विशेष ध्यान दिएर दीर्घकालीन रूपमा पानी लाने काम गर्नुपर्ने बताउनुभयो । अन्य क्षेत्रलाई भन्दा महत्त्व दिएर मेलम्ची खानेपानीलाई बजेट विनियोजन गर्नुपर्ने उहाँको भनाइ छ ।

अध्यक्ष शर्माले बाढीले  मेलम्ची आयोजनाको मुहान स्थल र यस भेगमा पु-याएको क्षतिको पुनःनिर्माणसरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताउनुभयो । आयोजनासँगै मुहान स्थल पुग्ने सडक मर्मत कार्य पनि महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ । यहाँका स्थानीयवासीको आवश्यकतालाई पनि सरकारले ध्यान दिएर सहयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले विपद् जुनसुकै बेला आउने भएकाले ध्यान दिनुपर्ने बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले खानेपानी समिति खारेज गर्दा काम गर्न असहज भएको गुनासो आएकाले सरकारले यस्ता समिति खारेज गर्दा ध्यान पु-याउनुपर्ने बताउनुभयो ।
आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाका विगतदेखि वर्तमानसम्मका अवस्था र उपलब्धिका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले अस्थायीरूपमा वर्षामा पनि पानी पठाउन प्रयास भइरहेको बताउनुभयो ।-रासस
© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com