नेपाली कला संस्कृति : त्याग्न नसकेको एक सपना
प्रकाशित मिति : जेष्ठ ५, २०८० शुक्रबार
–भेषराज कार्की/ भनिन्छ, चाहनालाई अभाव र परिधिभित्र सीमित गर्न सकिँदैन । अठोटका साथ लम्किएका पाइला र त्यसप्रतिको आफ्नै विश्वास सफलताको कारक हो । आफूभित्र रहेको इच्छालाई मेहनतबाट प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् यी युवा । जसले नेपालमा भुटानी शरणार्थी भएर रहँदा होस् या अमेरिकामा पुनर्वास भएपछि समय अभाव हुँदा पनि यी युवाको गायक बन्ने चाहनाले छोडेन ।
आफ्नो चाहनालाई सपनाकै रुपमा लिए र निरन्तर अघि बढे । सायद त्यही मेहनतको प्रतिफल यतिबेला ‘मेरो भ्वाइस युनिभर्स’मा प्रतियोगीका रूपमा उनीहरु प्रतिस्पर्धामा छन् । पूर्वी नेपालको शरणार्थी शिविर हुँदै अमेरिका पुगेर पनि नेपाली कला र संस्कृति नछोडेका उनीहरु यतिखेर काठमाडौँमा जारी सो प्रतियोगिताका सहभागी छन् । नेपाली गीतसङ्गीत र नृत्यलाई आफ्नो सपना बनाएका उनीहरु अहिले खुसी छन् ।
नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रममा अडिसनदेखि पछिल्लो समयसम्मको यात्रा तय गर्दा सपना झैँ लागेको छ, राजेश सुब्बालाई । उहाँ गायनसँगै गितार बजाउन खप्पिस हुनुहुन्छ । “पहिलो पटक साथीहरूसँग मिलेर मजदुरी गरेर गितार किनेको थिएँ । शिविरमा हुँदासमेत समय निकालेर नै साधना गर्ने गरेको थिएँ । आर्थिक अभावले धेरै सपना बाहिर निस्किन पाएका थिएनन्”, सुब्बाले भन्नुभयो । उहाँ अमेरिकामा भएको अडिसनमार्फत छानिएर नेपाल आउनुभएको हो ।
यो यात्राको त उहाँले कल्पनासमेत गर्नुभएको थिएन । शिविरमा छँदा गायनमा धेरै रहर भए पनि परिचय अभावले उहाँलाई अगाडि बढ्न दिएको थिएन । “मसँग राष्ट्रियता थिएन । त्यसैले गर्दा शिविर बाहिर हुने गतिविधिमा सहजै सहभागी हुने अवसर मिल्दैनथ्यो । तर पनि आफ्नो सपनालाई निरन्तरता दिएँ”, उहाँले भन्नुभयो । अमेरिकामा आफ्नै व्यावसाय गरिरहनुभएका सुब्बाले दैनिक केही घण्टा सङ्गीत साधनालाई छुट्याउनुभएको छ । जतिसुकै काम गरेर फर्किए पनि उहाँको त्यो दैनिकी नै बनिसकेको छ ।
शिविरमा रहँदा सुब्बाभन्दा केही सहज थियो तारा तिवारीलाई । “आर्थिक अभाव नभएको होइन । तर रहर त्याग्नुपर्ने अवस्था पनि थिएन । मैले जिल्लासम्म पुगेर साङ्गीतिक कार्यक्रममा सहभागिता जनाएको छु”, तिवारीले भन्नुभयो । उहाँ पनि सुब्बा झैँ गायनमा सुखदुःखको यात्रा गर्दै अहिले ‘रियालिटी शो’सम्म आइपुग्नुभएको छ ।
उहाँहरूभन्दा उमेरमा पाको हुनुहुन्छ जीवन गुरुङ । बाल्यकालदेखि क्यासेट सुनेर गुनगुनाउन थाल्नुभएका गुरुङ त्यही क्रममा गायनसँग नजिकिनुभयो । रेडियो र क्यासेटमा गीत सुनेर आफ्नो गुनगुनाउने कलालाई गायनमा बदल्नुभयो । गुरुङ अहिले पनि प्रतिस्पर्धामा हुनुहुन्छ । “गायनसँग रहरमै भए पनि धेरै वर्षसम्म सम्बन्ध जोडिएको छ । त्यही सम्बन्धले अमेरिकाबाट नेपाल ल्यायो”, गुरुङले भन्नुभयो ।
गुरुङ झैँ बाल्यकालमा पनि गीत सङ्गीतमै हुर्किने वातावरण पाउनुभयो टेक दूतराजले पनि । शिविरमा रहँदा आर्थिक अभावका कारण गीत सुन्नसमेत सङ्घर्ष गर्नुपथ्र्यो । नयाँ ठाउँ भएकाले सहजै शिविर बाहिर जाने अवस्था थिएन । “एउटा क्यासेट पाएपछि त्यहीँ गीत सुनेर बारम्बार गाउने गर्थेँ । अरू साथी पनि यस्तै गर्थे । पछिपछि सेवासुविधा थपिए । गायनको कक्षासमेत हुन्थ्यो तर आर्थिक अभावका कारण काममा जानु पथ्र्यो”, दूतराजले भन्नुभयो ।
मन मगरलाई भने बेलाबेलामा सङ्गीत छाड्ने विचार आउने गथ्र्यो । किनकी आफ्नो सपनालाई साकार पार्ने कुनै उपाय उनीसँग थिएन । शिविरको जीवनमा परिधिले सपना खुम्च्याउँदै थियो । “शिविरमा पाइने खाद्यान्नले नपुग्दा मजदुरी गर्थेँ । त्यो समयमा गायनलाई अगाडि बढाउने कुनै उपाय नै थिएन । अमेरिका पुगेपछि पनि दैनिकीले सहजता दिएन । सुरुआती समय घुलमिलमै गयो । तर रहर त कहाँ दबिएर बस्छ र रु”, मगरले भन्नुभयो, “यो यात्रा हाम्रो एउटा आँट पनि हो । हामीले दैनिकीलाई छाडेर आफ्नो सपना पूरा गर्न नेपाल आएका छौँ । यो हाम्रा लागि कर्मले जुराएको अवसर हो ।”
मगरले अन्तिम समयमा अडिसन दिनुभएको थियो । उन्नाइस घन्टाको यात्रा तय गरेर अडिसन दिन पुगेपछि आफ्नो सपनासँग उहाँ झनै नजिकिनुभयो । “तीन दिन बाँकी हुँदा मात्र मैले पाउने छुट्टी माग गरेर अडिसनमा आफैँ यात्रा तय गरेर सहभागी भएँ । मभित्र गायनको महत्व कस्तो रहेछ भन्ने त्यो यात्राले पनि जानकार गरायो, “ मगरले भन्नुभयो ।
मगर झैँ प्रतियोगितामा अहिले बाँकी रहेका पाँच ९शिविरमा रहेर अमेरिका पुगेका० छन् । उनीहरु ‘मेरो भ्वाइस युनिभर्स’ सम्म आइपुग्नुको श्रेय परिवारलाई नै दिन्छन् । हिजो रहरलाई छुट्याएर गरेको सङ्घर्षकै फल आज जीवन सोचेजस्तो भएको छ । त्यही कारण अहिले परिवारको साथ लिएर रहरको यात्रामा छन् यी युवा ।
शिविरमा रहँदा उहाँले बाहिरसमेत साङ्गीतिक कार्यक्रममा सहभागी हुने अवसर पाउनुभयो । अन्यले नपाएको अवसर पाउनुमा अग्रजकै राम्रो काम रहेको तिवारीले बताउनुभयो । “हाम्रा अग्रज शिविर बाहिर निस्किएर काम गर्न थाल्नुभयो । शिक्षा, सङ्गीतलगायतका विविध कामले हामीलाई हेर्ने मानसिकता र गरिने व्यवहारमा परिवर्तन भयो । त्यसकै कारण मेरो पुस्ताले सहजता पाएका थियौँ”, तिवारीले भन्नुभयो ।
नेपालबाट राष्ट्रियता नभएकै कारण अमेरिकामा पुनर्वासका लागि पुगेका पाँच जनाको परिचय छ । तर उनीहरु खुसी भने छैनन् । “हामीले थाहा नपाई अमेरिका पुगेका थियौँ । पहिला पुग्नेले केही समस्या पनि झेल्नुभयो । भाषाको समस्यादेखि आफ्नो भन्ने कोही थिएनन । तर पछि राम्रो भयो”, मगरले भन्नुभयो । सुब्बालाई भने ‘म नेपाली हुँ’ भन्दा गौरव लाग्छ । उहाँले आफूलाई यसरी नै परिचित गराउनुहुन्छ । तर, नेपाल रहँदा यो अधिकार उहाँले पाउनुभएको थिएन ।
“हामी नेपाली बोल्छौँ । आफूलाई परिचित गराउछौँ । हाम्रो मनमा त्यही भाव छचल्किएको छ”, सुब्बाले भन्नुभयो, “अहिले हाम्रो बच्चालाई हामीले सक्दो नेपाली कला र संस्कृतिसँग नजिक ल्याउने प्रयासमा हुन्छौँ । घरमा नेपाली नै बोल्छौँ ।” केहीले त घरमा नेपाली भाषामा मात्र कुरा गर्ने नियम झैँ बनाउनुभएको छ । नेपालीत्व नयाँ पुस्तामा पनि उस्तै होस् भन्ने उहाँहरूको चाहना छ ।
“नेपाली बोल्न गाह्रो नै छ, नयाँलाई । उनीहरु अमेरिकामै जन्मिए र हुर्किंदै छन् । यद्यपि हामीले सक्दो मेहनत गरेर सिकाउने र बुझाउने गरेका छौँ”, दूतराजले भन्नुभयो । उहाँ र गुरुङले नेपाली पढाउनेसँगै गीतसङ्गीतसँग बालबालिकाको सामीप्यता बढाउने गतिविधिसमेत गर्नुहुन्छ । गायन प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका यी पाँचकै ठूलो सपना छैन । आफ्नो रहरको उडान भरेका सबै प्रतिस्पर्धीका रूपमा प्रस्तुत हुन पाउँदा नै खुसी छन् ।
“हामीले निकै दुःखको समयमा पनि गायन छाडेनौँ । त्यसकै प्रतिफल आज यहाँ छौँ । सफलता वा असफलताभन्दा पनि हामी सबै यो क्षणलाई उत्सवका रुपमा लिइरहेका छौँ”, गुरुङले भन्नुभयो । गीत सङ्गीतको कुनै औपचारिक शिक्षा नलिनुभएका पाँचै जनाले सुन्दै, सिक्दै प्रतियोगितासम्म आइपुग्नुभएको हो । आउँदो समयमा उहाँहरूले गीत सङ्गीतमा कुन स्थान हासिल गर्नुहुन्छ भन्ने कुनै चिन्ता छैन । तर, गीत सङ्गीत भने आफूबाट कहिले टाढा नहुने उहाँहरु बताउनुहुन्छ ।
नेपालबाट अमेरिका जाँदा होस् या अहिले फर्किंदा सामान्य बनेर आएका पाँच जनाको अगाडि अहिले गायक पनि थपिएको छ । आगामी दिनमा उनीहरुलाई सम्बोधन गर्दा त्यो जोडिन्छ । अभावमा समेत आफ्नो सपनालाई त्याग्न नसकेका यी पाँच जनाले प्रतियोगीका रुपमा जित्ने वा हार्नेभन्दा पनि पाइरहेको परिचय र बाँचिरहेको सपनामा रमाइरहेका छन् ।
उनीहरुका हिजोका दिन के भए उनीहरुले भोगेका छन् । उनीहरु शरणार्थी शिविरमा हुर्किए, आफ्नो इच्छाअनुसार नभए पनि अमेरिका पुनर्वास हुनुपर्यो । तर यसपटक भने उनीहरु आफ्नो इच्छा र चाहना बोकेर नेपाल आएका छन् । अभाव र परिधिमा रहेर बाँचेको जीवनमा अहिले उनीहरु आफ्नो सपनाको उडान भरिरहेका छन् । यसमा नेपालमा आयोजना भएका रियालिटी शोमध्ये अहिलेसम्मकै सबैभन्दा धेरै राशिको पुरस्कारको व्यवस्था गरिएको छ । गायन र नृत्य गरी दुवैतर्फ प्रतियोगितामा छानिएका प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै समूह नृत्यका विजेतालाई पनि आकर्षक पुरस्कारको व्यवस्था छ ।
गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ का निर्णायकमा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, पुष्पन प्रधान, गायिका अञ्जु पन्त र सुजाता वर्मा हुनुहुन्छ । नेपाल टेलिभिजनमा बुधबार र बिहीबार ‘मेरो भ्वाइस युनिभर्स’ बेलुकी ८ः५० बजेदेखि प्रसारण भइरहेको छ । विश्वका ५२ भन्दा बढी देशबाट प्रतिस्पर्धामा छानिएर आएका प्रतिभाहरुको अब अन्तिम प्रतिस्पर्धासम्म आइपुगेका उनीहरु अब दौड जित्ने बाटो तय गर्दैछन् ।
नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायी डिल्ली अधिकारीलगायतले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरेको इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले विश्वमा बसोबास गरिरहेका नेपालीबीच सांस्कृतिक एकता कायम गर्न गायन र नृत्यका यी दुई प्रतियोगिताको आयोजना गरेको हो ।
सन् १९९० को दशकको सुरुमै भुटानी शासकको नेपालीभाषीप्रतिको व्यवहार फेरिन थाल्यो । ‘एक भाषा, एक संस्कृति’ नीतिका नाममा जोङ्खा भाषा लाद्न सुरु गरेपछि नेपाली भाषा र संस्कृतिमा प्रतिबन्धित लगाइयो । नेपाली भाषाका पुस्तक र सांस्कृतिक वेषभुषा जलाइयो । उक्त नीतिको विरोधमा भुटानको दक्षिणी भागमा बहुसङ्ख्यामा बस्ने नेपाली भाषीले शान्तिपूर्ण आन्दोलन गरे । फलस्वरुप उनीहरु देश निकालामा परे ।
यसरी लखेटिएका नेपाली भाषी भुटानी नागरिकलाई भारतले शरण नदिएपछि नेपाल आउनुपर्यो । नेपालमा शरणार्थी शिविरमा आफ्ना अभिभावकसँगै हुर्किएका यी युवा जसले शिविरदेखि अमेरिकासम्म नै नेपाली भाषा र संस्कृतिलाई त्याग्नु त परै जाओस सपनाका रुपमा लिए, अहिले खुसीसाथ नेपाली गायन र नृत्यमा उत्रिएका छन् ।