देश फर्क अभियान र पुष्कर शाह
प्रकाशित मिति : जेष्ठ १३, २०८० शनिबार
पुष्कर शाह यिनै व्यक्ति हुन् जसले मागेर नै साइकल मार्फत् ११ वर्ष,चार हजार १५ दिन दुई लाख २१ हजार किलोमिटर १५५ देशमा विश्व घुम्दा एक करोड सत्तरी लाख खर्च गरे । विश्वका सातै समुन्द्रको पानी पिए / नुहाए । पृथ्वीको चारै दिशाको माटो छोए । सातै महादेशमा नेपाल बोकेर पुगे । देश छोडेर विदेश पलायन हुने अनेक अवसर छोडेर देश बोकेर, नेपालको झण्डा फहराउँदै संसार चाहारे तर माटोको माया भुलेनन् । स्वदेशमा नै फर्के ।
अमेरिका जान भुटानी शरणार्थी बनाएर पठाउने पचासौ लाख तिर्ने र तिराउने गिरोहको रूपमा पूर्व उपप्रधानमन्त्री र पूर्वगृहमन्त्री सहित बहालवाला सचिवको समेत मिलेमतो र चलखेल भएको भनेर अनुसन्धान प्रकृया अघि बढेको छ । पुष्कर शाह त्यही व्यक्ति हुन् जसले विश्वका जुनसुकै मुलुकमा बस्न सक्ने अवसर छोडेर नेपाल फर्किए । द्रव्य मोह राखेनन्, नेपाल मोह राखे ।
नेपालको प्रतिनिधित्व गर्दै विदेश गएका थुप्रै कलाकार, खेलाडी, उच्च पदस्त, नेता, कर्मचारीलगायत यावत मान्छे लुकेर उतै बसे, हराएको दृष्टान्त धेरै छन् । अवसर पाएर पनि आफ्नो माटोप्रति बेइमान नगर्ने पात्रको रूपमा पुष्कर शाहलाई लिन सकिन्छ । राज्यको एक पैसा पनि खर्च नगरी नेपालको झण्डा संसारलाई देखाए,संसारका हजारौं संचार माध्यममा नेपाल बारे बोले, चिनाएँ । संसार भरका सबै देशका झन्डा सगरमाथामा लगेर फहराए ।
आफ्नो वैंशको ऊर्जा देश चिनाउन र संसार चिन्न खर्चिएका पुष्कर देश बनाउने महाअभियानको हिस्सा बन्न पुन कस्सिएका छन् । विश्व्यात्राका एउटा अनौपचारिक महाविद्यालय हुन् पुष्कर । संसार भोकको संग्राहलय हो । भोक हो, संसार यही भोकले घुमायो पुष्कर भन्छन् । २०४६ को जन आन्दोलनमा हातमा गोली लागेका पुष्कर जिउदा सहिद पनि हुन् । सहिद हुने सौभाग्य नपाएको कारण नै आज विश्वमा साहसी साइकल यात्रीको जिउदो मान्छेको मानक यिनको नामको अघिपछि जोडिएर आउछ । पुष्कर संसारभरका मिडियाले कभरेज दिएका एडभेन्चर्स व्यक्ति हुन् । विश्वका हजारौ अखबारका पानामा अटाएका छन, हजारौ मिडियामा छाएका मान्छे हुन् । करोडौ मान्छेले पुष्करको साहस र हिम्मतलाई सुनेका छन पढेका छन ।
पुष्कर नेपालका मात्रै सेलिब्रेटी होइनन विश्व कै सेलिब्रेटी हुन् । नेपाल आमाका सुपत्र संसारकै विरल कोटिका जीवित सम्पदा हुन् । आम नेपालीका गर्वका पात्र हुन् । यद्दपि यिनको ज्ञान,सीप,अनुभव र क्षमतालाई राज्यले आफ्नो संरक्षण र अभिभावकत्व दिएर हुर्काएको छैन । तथापि उनको गुनासो छैन बरू अठोट छ : ‘म जे सक्छु देशको लागि एक चिम्टी सास रहुन्जेल बुताले भ्याएको र अक्किलले दिएको काम गरिरहन्छु । देशले मेरो अनुभव प्रयोग गर्यो भने देशलाई घाटा हुँदैन ।’
विश्व भाइचार,शान्ति ,सद्भाव र सहासका दूतको रूपमा यिनको ऊर्जा र क्षमता राज्यले सदुपयोग गर्नुपर्छ । पर्यटन,यात्रा र विश्वमा प्रत्यक्ष अनुभव यिनमा जति अरूमा पाउन मुश्किल छ अथाह ज्ञान, सूचना, अनुभव र जानकारीका इनसाइक्लोपिडिया नै हुन् जस्तो लाग्छ पुष्करसँग बस्दा ।
पुष्करसँग विश्वका महान भनिएका मान्छेदेखि अत्यन्तै निकृष्ट भनिएका मान्छेसँगको पनि सङ्गतको अनुभव छ । विश्वमा चलेका पुँजीवाद, समाजवाद. सामन्तवाद, साम्यवाद, राजतन्त्र, गणतन्त्र, धर्मतन्त्र सबै वाद र सिद्दान्तले चलेका मुलुकको शासन व्यवस्था र परिपाटी तिनका गुण र दोष सबैको बारेमा धेर थोर ज्ञान छ ।
घत लाग्दो र स्मरणीय के छ भने पुष्कर आज पनि हिजो जहाँ जहाँ पुगे त्यो ठाउँ र यात्रा त्यो देशको हावापानी मौसम राजनीति सबैको बारेमा रिठ्ठो नबिराई सविस्तार वर्णन गर्न सक्छन् । वर्णन मात्रै गर्दैनन् आफ्नो दृष्टिकोण र विश्लेषण पनि पस्कन्छन् ।
संसारमा म जहाँजहाँ पुगे ,त्याँहा एकै सुर्य , एकै चन्द्र, एकै आकाश र एकै धर्ति देखे यसर्थ धर्ति मान्छेको साझा घर हो यहाँ कोही आस्था ,बिश्वास, भूगोल अनि जन्म र रुप रंगले ठुलो सानो छैन प्रकृतिले हामीलाई विभाजन गरेको छैन मानवीयता भुलेर कृतिम विभाजन गर्नु हुन्न । मानवीयता अविभाजित र अविभाज्य रहन्छ भन्ने पुष्करको आत्मबोध र स्वानुभूति छ । कृत्रिम विभाजनले मानवीयपन छेकिनु हुन्न, वन्चित गरिनु हुन्न पुष्कर भन्छन् ।
नवीन काम गर्ने युवा र नौला यात्रीको लागि पुष्कर एउटा विश्व विद्यालयको औपचारिक ज्ञान भन्दा पनि ठूला ज्ञान रहस्य र प्रेरणाका उचाई हुन् । खोतल्न सक्यो भने यी भित्र अनुभव र भोगाईको ज्ञान गंगा नै पाउन सकिन्छ । पुष्करसँग सम्मोह्नको सरिता नै बगेकी छिन शायद पुष्कर बिरानो मुलुकमा पनि छिटै साथी बनाएर आफ्नो प्रभावमा राख्न खप्पिस छन । त्यसो नहुदो हो त घुमन्ते फकिरको उहिल्यै ब्रेक लागिसक्थ्यो ।
पश्चिम अफ्रिकाको सहारा मरुभूमिमा काकाकुल बनेर तिर्खाएका क्षणहरू छन् । तातो मरुभूमिका अत्यासलाग्दा समयदेखि विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथालाई होचो पारेका अनुभवहरू छन् । संसारका सबै आश्चर्य देखेका आँखा छन् । पाँच तारे होटलमा ननिदाएका क्षणहरू छन् भने सडक पेटीमा मस्त निदाएका रातहरू छन् । सुन्तलाका बोक्राको सिला खोजेर टन्न अघाएका क्षण र पिजा र बर्गर नरुचेका क्षणहरू छन् । जङ्गली हिंस्रक जनावरबाट बच्दै हिडेका कहालीलाग्दा अनुभवहरू छन् । आफ्नै साइकल चोरी हुँदा देखि चोर सम्झेर आफै पक्राऊ परेको अनुभूतिहरू छन् । उत्तर अमेरिकाको रक्की माउन्टेनमा माइनस पाँच डिग्रीमा साइकल दौडाएका समय छन् ।
नेपाल आमा यतिवेला आफ्ना होनहार सन्तानको अभावमा व्यथित छन् । आफ्ना सन्तानले संसारका कुना कुना पुगेर त्यहाँको रुखा सुखा बन्जडभूमि मलिलो र हराभरा बनाउँदा आफ्नो खोरिया, खेत खलियान उजाड र मरुभूमि तुल्य भएका छन् । नेपाली श्रम,सीप,जाँगर र पसिनाले विदेशीमाटो मलिलो बन्ने र सुन फल्ने नेपाली माटो रूखो र मृतप्राय भएको छ ।
बलिया पाखुरी नेपाल बाहिर पुगेको कारण नेपाल आमाले दरिलो साथ र भरोसा पाएकी छैनन् । आफ्ना सन्तानको यादमा नेपाल आमाको आँखाबाट आँशु होइन रगत बग्ने गरेको छ । यसर्थ नेपाल आमाले पुकार गरेकी छन् छोराछोरी अब घर ( नेपाल ) फर्क । विश्वमा छरिएर रहेका नेपालीलाई सन् २०३० सम्म घरदेश फर्काउने वातावरण बनाउन पुष्कर फेरि पनि विश्व यात्राको तयारीमा छन् । उनी नेपालीलाई मात्र होइन नेपाल घुमेका र घुम्न चाहने विश्वका सबै मान्छेलाई नेपाल घुम्न प्रेरित गर्न चाहन्छन् । नेपाल फर्कौ अभियान लिएर साइकल यात्रमा विश्व भ्रमण गर्ने ताकमा छन् ।
व्याक टु नेपाल अभियान
नेपाल बनाउने उनको सपना छ,तसर्थ विश्वमा छरिएर रहेका नेपालीलाई आफ्नै भूमिमा फर्कन आव्हान गर्दै पुष्करले ‘व्याक टु नेपाल’ को उदघाटन माननीय उपसभामुख इन्दिरा रानामगर मार्फत २०८० बैशाख २९ गते होटेल एयरपोर्टमा एक समारोह बिच गराए । उक्त समारोहमा उपसभामुख रानामगरले ‘नेपालमा नै बसेर विश्वमा काम गर्ने वातावरण सिर्जना गर्न नयाँ नयाँ टेक्नोलोजीमा पोख्त बनाउने शैक्षिक वातावरण यहीं बनाउनुपर्ने’ कुरामा जोड दिइन् । सोही अवसरमा संचारकर्मी टिकाराम यात्रीसँग पुष्करको रोमान्चक वार्तालाप र नेपाल फर्काउने आफ्नो उदेश्यप्रतिको अठोट र पुन विश्वका मान्छेलाई नेपाल आकर्षित गराउन साइकल मार्फत् देश देशावर गर्ने सङ्कल्पमा देशको माया र निष्ठा प्रतिबिम्वित भएको सुनिन्थ्यो ।
पुष्करको अपिल छ : ‘हाम्रो देश संसारकै हिरा हो । हामी आफै कोहिनुर हौ तर सुनको थाल थापेर माग्न बसेका छौ । आफ्नो हिरा चम्काउने हाम्रै शिल्प र सामर्थ्यले हो । हामीलाई हाम्रो माटोले खोजेको छ । हाम्रो माटोमा हिरा मोति फलाउने ल्याकत छ । हामी जल जमिन र जडिबुटीले पनि उत्तिकै धनी छौ । हाम्रा हिमाल हाम्रा पैसा फल्ने कारखाना हुन् । हाम्रो कृषियोग्य तराईको भुमि अन्न भण्डार हो । यी यावत चिज छोडेर अब पनि हामीलाई बिदेशी रहन सुहाउँदैन । प्रथमत: विदेशमा बसेर सीप,ज्ञान, प्रविधि, शिक्षा, अनुभव र रकम जोहो गरेकाहरू फर्केर देश बनाउने अभियानमा जुटौ । यहीं उद्योगधन्दा कल-कारखाना,पर्यटन र कृषिमा लगानी गरौ । नेपालमा अथाह सम्भावना छन् बस् केही समयको धैर्य, लगानी,साधना र सरकारको सपोर्टको जरूरी छ ।
कृषिको व्यावसायिकरण, औधोगीकरण, वैज्ञानिककीकरण, बजारीकरण व्यवस्थापन र बजारीकरण गरौ । सम्भावना नै सम्भावना छन् । विश्व बजार अहिले साँघुरो भइसकेको छ । हामी हाम्रा उत्पादन हाम्रा सामग्री जतासुकै सहजै लैजान सक्छौं । अब नेपाल फर्कने महा अभियान ‘व्याक टु नेपाल’ आवश्यक छ । नेपाललाई तपाईको खाँचो छ । प्लिज फर्कनुस । आफ्नै माटो सुम्सुम्याओ । आफ्नै माटोको स्पर्शमा स्वर्गीय आनन्द छ ।
पृथ्वी साझा घर हो यद्दपि मान्छे आफू जन्मेको माटो धर्तीमा पहिले पाइला राखेको माटो, स्वास लिएको हावा,पिएको पानी सालनाल गाढेको जमिनप्रति विशेष कृतज्ञ हुनुपर्छ । आफ्नो जन्मभूमिप्रति हाम्रा विशेष दायित्व र भूमिकाहरू पनि हुन्छन् । आफ्नो माटो आफ्नो हो विशेष हो । आफ्ना पुर्खाको रगत पसिना मिसिएको माटोको सुगन्ध बेग्लै हुन्छ । त्यसैले हाम्रो पूर्वीय दर्शन भन्छ : ‘जननी जन्मभूमिश्च स्वर्ग दपि गरियसी’ कृपया देश फर्कौ । नेपाल बनाउँ ।’
देशको झन्डा साइकल फहराएर नेपालको माटो झोलामा राखेर माटोको टीकालाई पवित्र चन्दन सम्झने पुष्कर देशको माया मुटुमा बोकेर साइकलबाट संसार दगुरे । विश्वलाई नेपाली झन्डा चिनाए, देखाए आफ्नो पहिचानलाई झण्डासँग जोडे नेपाललाई माया गरे । पर्यटनको उचित गन्तव्य भनेर भेटे जति मान्छेलाई नेपालको भौगोलिक विविधता,हावापानी संस्कृति,धर्म,संस्कार र नेपालीपन र मनको बारे बताए । शान्तिका अग्रदूत भगवान गौतम बुद्दको शान्ति प्रियता अनि सर्वोच्च शिखर सगरमाथा बारेको भ्रम चिरेर ती नेपाली माटोका धरोहर भएको जानकारी पस्के । पर्यटनको लागि संसारमै नेपाल अब्बल रहेको सूचना सम्प्रेषण गरिरहे एक व्यक्तिको प्रयास र इच्छाबाट विश्वलाई नेपाल चिनाउने प्रयास सम्भवत यो भन्दा अघि कसैले यतिधेरै गरेको छैन, गर्न भ्याएको छैन ।
निकै रसिक, सौखिन र लहडी पुष्कर
झन्डै १९ सय प्रकारको बियरको स्वाद लिएका पुष्कर आफूले खाएका सबै प्रकारका बियरको बिर्को बटुलेर राखेका छन् । सबै देशको सिक्का, हुलाक टिकट, दशौ हजार नोटहरू,उपहार पाएका चिजहरूको सङ्ग्रह गरेका छन् । सातै समुन्द्रको माटो, सातै महादेशको पानीलाई जतन गरेर राखेका छन् । विश्वका साथीभाइसँग माइतीघरको छ्यांङ् पसलमा छ्यांङ्को नशामै विश्व साइकल यात्रा गर्ने उदघोष गरेका पुष्करले यात्राको क्रममा ३ साइकल,२७० टायर, १९५ ट्युब , १४० साइकल चेन, २६ जोडी पेडल,१४ हेल्मेट, ५३ जोडी पन्जा र ११४ जोडी साइक्लिङ्ग कस्ट्युमको सहायताले आफ्नो अभियानलाई पूर्णता दिएको लेखेका छन् । फोटोग्राफीमा पनि पुष्करका उत्तिकै रूची देखिन्छ । विश्वका सवै गोलार्धका हजारौ फोटो पुष्करले खिचेर राखेका छन् । यथा समयमको त्यसको पनि एल्बम निकाल्ने उनको धोको छ । ‘संसारलाई साँढे पाँच फन्को’ पुस्तकका लेखक पुष्कर अर्को त्यस्तै पुस्तक प्रकाशनको पनि तयारीमा छन् ।
संसार घुम्न साँचिकै बहुलाउनु पर्छ । संसारमा अरबौ सकरात्मक तरंगहरु आउछन जान्छन त्यस्तै सकरात्मक तर एकदमै साहसिक तरंग पुष्करको मस्तिष्कमा तरंगित हुन पुग्यो र त्यसले घर गर्यो तब छ्यांग खाएकै बेला पुष्कर मात्तिएर घोषणा गरे म साइकल चढेर विश्व भ्रमणमा निस्कन्छु । धेरैलाई अपत्यारिलो लाग्ने घोषणा गरेर पुष्कर बहुला बने । चिन्तक र दार्शनिकहरु भन्छन नबहुलाउने मान्छेले अपत्यारिला काम गर्ने सामर्थ्य र हिम्मत जुटाउन सक्दैनन् । मान्छेहरुको लागि बहुला बन्नुनै अर्थात् अरुले जे भने पनि बेपर्वाह गरेर अघि बढ्दा सफलताको चुचुरोमा पुग्छ ।
छ्याङ् खाएर भन्दा बढी, निष्ठा, अठोट, समर्पण, त्याग र साहसको भोकले मात्तिनु पर्छ । २०५५ श्रावण १६ गते आफ्नी आमाले दिएको सय रूपैया बाटो खर्च र आशिर्वाद लिएर चरिकोटबाट साइकल यात्रा शुरु गर्दै १५५ देश भ्रमण गरे । २०६७ जेठ ४ गते सगरमाथा आरोहण पश्चात विश्व किर्तिमान कायम गर्दै साइकल यात्रा पूरा गरेका पुष्करले संसारलाई साँढे पाँच फन्को लगाउन पुग्ने समय त्यतिबेला नै साइकलको पाइडल चलाएर तय गरे । त्यस यता पनि नेपालको कुना कुनामा साइकल लिएर पुष्कर दौडेका छन् । विश्व साइकल सम्मेलन आयोजना गरेका छन् । साइकल लेनको चिन्ता गरेर विभिन्न सरकारी निकाय धाएका छन् । ट्राफिकलाई साइकल यात्रीको मर्म सुनाएका छन् ।
त्यसैले साइकलसँगको आफ्नो अभिन्न सम्बन्धको कारण साइकललाई कतै निषेध बन्देज गरिँदा साइकल चढ्नेलाई अण्डरमाइण्ड गरिँदा पुष्कर विक्षिप्त बन्छन् । साइकलसँग आफूलाई अलग गरिँदा आफू अपुरो अधुरो रहेको मान्छन् । आन्तरिक पर्यटन प्रवर्द्दनदेखि विश्व पर्यटन पर्यटन प्रवर्द्दनसम्म पुष्कर लागेकै छन् । आजसम्म उनको साइकल यात्राले संसारलाई अरू दुई फन्को लगाउने यात्रा सम्पन्न गरिसकेको छ । आज जति साइकल यात्री छन् ति सबैको प्रेरणा र ऊर्जा पुष्कर हुन् ।
संसार डुलुवा पुष्कर शाहले थालनी गर्न लागेको व्याक टु नेपाललाई आम नेपालीले आफ्नो अभियान बनाउनु पर्छ । नेपाल सरकारले यथोचित सपोर्ट गर्नुपर्छ । विश्वमा रहेका सबै नेपालीले यसको मर्म र उदेश्यलाई आत्मसात गर्नु पर्छ । नेपाल हामी आफैले बनाउने हो । देश विदेश जो जहाँ रहेर पनि देश बनाउन योगदान दिन सकिन्छ । नेपाल फर्क अभियान एक अनुष्ठान हो सबैले मिलेर सम्पन्न गरौ । आफू विश्व घुमेर पनि नेपाल नै फर्केको कारण पुष्करलाई नेपाल फर्क भन्ने नैतिक हक छ ।
‘चुमौं देशको माटो, फर्कौ मातृभूमि’