प्रधानमन्त्री प्रचण्ड भारतको ४ दिने भ्रमणका लागि प्रस्थान
प्रकाशित मिति : जेष्ठ १७, २०८० बुधबार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली आज दिउँसो भारत प्रस्थान गरेको हो ।
उनी बुधबार दिउँसो १३ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर आरए २१७ बाट भारत प्रस्थान गरेका हुन् । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन् ।
प्रधानमन्त्री दाहाललाई विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, विशिष्ट कर्मचारी, संवैधानिक आयोगका प्रतिनिधिलगायत विशिष्ट पदाधिकारीले बिदाई गरेका हुन ।
उनीसँगै सरकारी ४७, निजी उद्योग व्यवसाय क्षेत्रका ४१, मिडिया प्रतिनिधि, ५ मन्त्री, डेढ दर्जन सचिव तथा सहसचिव सहभागी भएका छन् । प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीसँग बिहीबार दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता गर्दै छन् ।
दुई नेताबीच एक्लाएक्लै र प्रतिनिधिमण्डलस्तरको वार्ताका लागि समय छुट्याइएको छ । लगानी, व्यापार, प्रविधि विकास, विकास आयोजनाको निर्माण, अपराध अनुसन्धानमा सहकार्यलगायत विषयमा डेलिगेसन लेभलमा सहमति हुने परराष्ट्र स्रोतको भनाइ छ । भारतको सहुलियत ऋणमा बनेको न्यु मोदी–लेखनाथ प्रसारण लाइन, कसुहा–कटैया डबल सर्किट लाइन तथा नेपालगन्जमा बनेको एकीकृत जाँच चौकीको संयुक्त उद्घाटनको तयारी छ ।