भूमण्डलीकरणको युगमा नागरिकताको रोइलो किन?
प्रकाशित मिति : जेष्ठ २३, २०८० मंगलबार
कुनै पनि ब्यक्तिको नागरिकताले ऊ कुन देशको नागरिक हो भन्ने जनाउछ । नागरिकताले सम्पत्तिको आधिकार र राजनीतिक अधिकार दिन्छ । यहाँ नागरिकताको विषयमा गैर राजनैतिक भन्दा अलिक भिन्न विश्लेशण गर्ने जमर्को गरिन्छ ।
मान्छे रुख जस्तै गाडिएर बस्दैन । रुखको आफु गाडिएको जमीन, फैलिएका जरा, आफुले पार्ने छायाँ, जमीनबाट सोस्ने मल, उपलब्ध हावा पानी र घाम बाहेक अरु आफ्नो छैन । जे लिन्छ वा जे दिन्छ केबल आफु गाडिएको ठाउँबाट/लाई दिन्छ/लिन्छ । उसको मृत्यु पश्चात वा मान्छेले काटेर गरिने प्रयोग अलग कुरा भयो । रुखलाई नागरिकता दिइन्थ्यो भने सायद निर्बिबाद दिइन्थ्यो होला । तर किटेर भन्न भने सकिन्न किनकि राज्य चलाउनेहरूका आफ्नै नियम र तर्क होलान् र प्राकृतिक तर्कको अर्थ नहुन सक्छ ।
जंगली जनावरहरू उनीहरू बिचरण गर्ने स्थान विषेशका बासिन्दा हुन् र नागरिकता दिइन्थ्यो भने कुनै बिबाद नगरी दिइन्थ्यो होला ।
त्यस्तै चरा र पुतलीहरूलाई नागरिकता दिइन्थ्यो भने के हुन्थ्यो होला? कतिपय चराहरू त एक देश बाट अर्को देशमा अनि एक महादेशबाट अर्को महादेशमा बसाइ सर्छन् अनि फेरी फर्केर पनि आउछन् । सायद दोहोरो नागरिकता पाउथे कि?
मान्छे जमीनमा गाडिएको रुख हैन, कुनै जंगलमा सीमित हुने जंगली जनाबर हैन र देश बिदेश भ्रमण गर्ने चरा र पुतली मात्र पनि हैन । मान्छे हुनुको अर्थ उसको सोंच, चिन्तन, बुद्धि, विवेक, ज्ञान र सीपको प्रगोगबाट उसले गर्ने उद्यम हो । त्यसैले मान्छे कुनै ठाउँ विषेशको मात्र हुनै सक्दैन । मान्छे ऋषि हो, महात्मा हो, वैज्ञानिक हो, राजनैतिज्ञ हो, इन्जिनियर हो, चिकित्सक हो, शिक्षक हो, दार्शनिक हो । आइन्स्टाइन, न्युटन, गालेलियो, कार्ल मार्क्स, महात्मा गान्धी, नेल्सन मण्डेला, ओशो, जिसस, बुद्ध, राम, सीता र यस्तै अनेकौं मानव र महामानव यो संसारका हुन् कुनै देशका मात्र हैनन् ।
विचार, मन, मस्तिष्क, कला सीप कुनै ठाउँमा सिमीत भएर बस्दैन । मेरो आफ्नै सवालमा म अमेरिका आएर विद्यावारिधि गरें । अमेरिकाले पहिचान दियो । अमेरिकाको हितमा अतुलनीय अनुसन्धान गरी योगदान गरेवापत मलाई स्थायी वसोवसको स्वीकृति दियो। विज्ञानको क्षेत्रमा गरेको मेरो अनुसन्धान अमेरिकाको लागि मात्र हैन सम्पूर्ण मानव समाजको लागि हो । अमेरिकाले अगाल्दा नेपालले प्रगेल्न पर्ने गरी नेपालको लागि मैले के बिगार गरें ?
शुरुमा मान्छे जंगलमा बिचरण गर्दा स्वतन्त्र रुपमा हिडडुल गऱ्यो । एक देशबाट अर्को र एक महादेशबाट अर्कोमा सहजै गयो नागरिकताको कुरा आएन । जब खेतिपाति र उद्योग गर्ने युग आयो अनि नागरिकताको कुरा आयो । आजको ४० बर्ष अघि म स्कुल पढ्ने र जान्ने बुझ्ने भइसक्दा को नेपालको गाउँको अबस्था आजको भन्दा निकै भिन्न थियो । मान्छेहरू खेतिपातिमा मात्र सिमीत थिए । चैत महिना देखि मानिसहरूलाई खानेकुराको अभाव हुन शुरु गर्थ्यो । अनिकाल पर्थ्यो र साउन भदौ सम्म आइपुग्दा मात्र मकै खेति स्याहार्ने हुन्थ्यो र मान्छे हरू राहातको महसुस गर्थे । चैत देखि भदौ सम्ममा कतिपयले ऋण गरेर खान्थे त कतिपय भोकमरिले मर्थे । आफु बाच्ने साहरा भनेको केबल आफ्नो खेतबारि नै हुन्थ्यो । मान्छे सँग पैसा हुदैनथ्यो । बैंकमा पैसा राख्ने कुरै थिएन । उनीहरू त्यस ठाउँका थिए र त्यो ठाउँ उनीहरूको थियो । नागरिकताको विवाद हुने कुरै भएन । नागरिकताको प्रमाण पत्रको कागज मिलोस वा नमिलोस ।
आजको स्थिति फरक हो । आज मानिसहरू पैसाको कारोवार गर्छन् गाउँ होस वा शहर । पैसा कमाउन मान्छेहरू गाउँबाट शहर लागे, शहरबाट राजधानी लागे अनि देश छोडे । मान्छेका चाहना र आवस्यकता फेरिए । बसाइसराइले गाउँहरू रित्तिदै छन् । त्यसैले नागरिकताको कुरा आएको छ । देश छोडेपछि, छोड्नेहरू कहाँका नगरिक हुन् त? आजको मुख्य प्रश्न यहि हो ।
यो भूमण्डलीकरणको युग हो । हामी विश्वब्यापि सन्जालमा समचार हेर्छौं र सुन्छौं । एक देशमा बसेर रिमोटबाटै अर्कै देशको अफिसमा जागिर खान्छौं । आफ्ना भावनाहरू सामजिक सन्जाल मार्फत एकै क्षणमा संसार भर पुराउछौं । पुस्तक किन्न पसल जानु पर्दैन, अनुसन्धान गर्न पुस्तकालय धाउनु पर्दैन । विद्यालय अनलाइमा भइसके । एक देशमा बसेर अर्कै देशको अफिसमा काम गर्ने, अर्कै देशमा पैसा पठाउने भएको छ । यस अर्थमा मान्छेका आजका कृयालकलापहरू कुनै ठाउँ विषेशमा सीमित छैनन् । आज हामी कुनै क्षेत्रमा सीमित छैनौं ।
मान्छे उसको शरीर होइन मन हो । बुद्धि, ज्ञान, विवेक र बिचार हो । मन सर्वब्यापि हुन्छ । जहाँ माया हुन्छ, आफन्तहरू हुन्छन् मन त्यही हुन्छ । सन्चो बिसन्चो र मनको कुरा थाहा पाउने दुइ पाइला परको छिमेकि नभएर सात समुद्र पारीका आफन्त हुन्छन् । यो शरीर अमेरिका, बेलायत वा जापान जतासुकै होस मन भने आमा बुबा, दिदी बहिनी, दाजु भाइ, र सबै आफन्तहरूसँगै हुन्छ । शरीर त जनाबरको पनि हुन्छ । रुख विरुवाको पनि शरीर हुन्छ । नागरिकता मान्छेको बुद्धि, ज्ञान, विवेक, विचार र उसको कामले पाउने हो कि उसको शरीर ले? मानिस जहाँ बसर पनि कुनै अर्को ठाउँको काम गर्न सक्छ र गरेको हुन्छ । त्यसैले नागरिकताको अड्चन हालेर मानिसलाई कुनै ठाउँ विषेशमा सीमित गरिनु हँदैन । कुनै असल काम गर्न अड्चन गरिनु पनि हुँदैन । खराब काम गर्ने नागरिक होस वा अनागरिक उसले कुनै हालतमा सजायँबाट उम्कनु पनि हुँदैन ।
शरीरले नागरिकता पाउने हो भने मान्छे जहाँ बसोबास गर्छ त्यहिको नागरिक भयो, हैन कामले पाउने हो भने मानिसलाई उसको बसाइको आधरमा नभएर उसले गरेको योगदानको आधारमा वा कामको आधारमा दिनु पर्ने हुन्छ । अहिले काम गर्न अफिस जानु पर्दैन । जहाँ बसेर पनि जहाँको काम पनि गर्न सकिन्छ । मान्छे कहाँ बस्छ भन्ने कुरा एकदमै गौण कुरा भएको छ आज । मान्छेले आफ्नो सम्पत्ति आर्जन गर्न, आफ्नो सम्पत्तिलाई एक ठाउबाट अर्को ठाउमा लैजान वा व्यापार व्यवसाय गर्न कुनै नागरिकताले रोक्न सक्दैन । देशको कानुन अनुसारको दस्तुर, कर तिर्नु पर्ने कुरा होला तर व्यक्तिको सम्पत्तिको भोग चलन गर्ने अधिकार हुन्छ नै । त्यसमा रोकटोक हुन सक्दैन र हुन पनि हुँदैन। भूमण्डलीकरणको यो आधुनिक युगमा नागरिकताको रोइलो किन ?
टेक्सास, अमेरिका