एफ-१६ लडाकु विमानको पर्खाइमा युक्रेन, कुन-कुन देशले दिए शक्तिशाली प्रस्ताव ?
प्रकाशित मिति : जेष्ठ २४, २०८० बुधबार
रुस र युक्रेनबीच एक वर्षभन्दा बढी समयदेखि जारी युद्ध चलिरहेको छ । २४ फेब्रुअरी २०२२ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विरुद्ध सैन्य कारबाही गर्ने घोषणा गरेका थिए । अहिलेसम्म यो युद्धको कुनै निर्णय हुन सकेको छैन । योसँगै युक्रेन पनि रुसविरुद्धको युद्ध लड्नबाट पछि हटेको छैन ।
यसै शृङ्खलामा अब युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जुन ६ मा कीभलाई एफ–१६ लडाकू विमान उपलब्ध गराउन विभिन्न देशका नेताहरूबाट ‘गम्भीर र शक्तिशाली’ प्रस्ताव आएको र प्रमुख सहयोगीहरूसँग चाँडै नै अन्तिम सम्झौता टुंगो लाग्ने दाबी गरेका छन्।
जेलेन्स्कीले आफ्नो वेबसाइटमा एक विज्ञप्तिमा भनेका छन् – ‘हाम्रा साझेदारहरूलाई थाहा छ हामीलाई कतिवटा विमानहरू चाहिन्छ। मैले हाम्रा केही युरोपेली साझेदारहरूबाट विमानको संख्या प्राप्त गरिसकेको छु। यो गम्भीर र शक्तिशाली प्रस्ताव हो।’
जेलेन्स्कीले भने – ‘कीभ अब संयुक्त राज्य अमेरिकासँगको संयुक्त सम्झौता सहित आफ्ना सहयोगीहरूसँग अन्तिम सम्झौताको पर्खाइमा छ।’ यद्यपि, यो अझै स्पष्ट छैन, कीभका सहयोगीहरू मध्ये कुन युक्रेनमा जेटहरू पठाउन तयार छन्।
अमेरिकाले विमान पठाउने हो ?
अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिना जी-७ को बैठकमा नेताहरूलाई वाशिंगटनले एफ-१६ मा युक्रेनी पाइलटहरूका लागि संयुक्त सहयोगी तालिम कार्यक्रमहरूलाई समर्थन गर्ने बताएका थिए । तर अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले विमान पठाउने विषयमा वासिङ्टनले कुनै अन्तिम निर्णय नभएको बताएका छन् । जेलेन्स्कीले लामो समयदेखि एफ-१६ जेटका लागि अपील गर्दै आएका छन्।
रुसको चेतावनी
रुसले युक्रेनलाई एफ–१६ लडाकु विमान नदिन अमेरिकालाई चेतावनी दिएको छ । रुसले अमेरिकाले बनाएको एफ–१६ लडाकु विमानले आणविक हतियार ‘समायोजन’ गर्न सक्ने विश्वास गरेको छ ।