अष्ट्रेलियाको न्यू साउथ वेल्समा बस दुर्घटना : दश जनाको मृत्यु, ११ जना घाइते
प्रकाशित मिति : जेष्ठ २९, २०८० सोमबार
अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको हन्टर क्षेत्रमा बस दुर्घटना भएको छ । यस दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ११ यात्रु घाइते भएका छन् ।
प्राप्त जानकारी अनुसार आइतबार राति करिब ११.३० बजे सिड्नीबाट १८० किलोमिटर उत्तरपश्चिममा रहेको ग्रेटा सहर नजिक बस दुर्घटना भएको हो । तर, यस दुर्घटनामा १८ यात्रु भने जोगिएका छन् । बिहे गरेर फर्किएका बसमा ४० जना यात्रु सवार थिए ।
बस दुर्घटनामा ११ यात्रु घाइते भएकालाई हेलिकप्टर र सडकबाट अस्पताल लगिएको प्रहरीले जनाएको छ । यद्यपि अन्य १८ यात्रु भने सकुशल छन् ।
५८ वर्षीय बस चालकलाई अनिवार्य परीक्षण र मूल्याङ्कनका लागि क्षेत्रीय अस्पताल लगिएको प्रहरीले जनाएको छ । अहिले दुर्घटना के कारणले भएको हो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।