‘काँग्रेसले सत्ता र विचारका लागि सम्झौता गर्दैन’
प्रकाशित मिति : जेष्ठ २९, २०८० सोमबार
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता र विचारका लागि काँग्रेसले कसैसँग पनि सम्झौता नगर्ने बताउनुभएको छ । नेपाली कांग्रेस पद मात्र पाउने आशमा जन्मेको पार्टी नभएको भन्दै उहाँले अब काँग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन नगर्ने बताउनुभयो ।
नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ र २ को प्रदेशसभा ‘२’ को संयुक्त आयोजनामा आयोजित क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले पार्टीले अब चार वर्षभित्र काम गर्नुपर्नेमा जोड दिनुभयो ।
देशमा समस्या पर्दा निकास दिने पार्टीका रूपमा कांग्रेस रहेको बताउँदै उहाँले पार्टीभित्र विचारको आकर्षण रहेको औँल्याउनुभयो ।
बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जनताको मन जित्न विकासको एजेन्डा र भिजन आवश्यक रहेको बताउनुभयो । उहाँले पार्टी र नेतृत्वसँगको मनमुटाबलाई सामाजिक सञ्जालमा जथाभाबी रूपमा लेखेर समस्या समाधान नहुने बताउनुभयो ।