‘संघर्षमैं छौं, देशलाई नयाँ युगमा लैजाने नेपालीको हुटहुटीलाई साकार पार्छौं’ (अन्तर्वार्ता)


प्रकाशित मिति : असार ३, २०८० आईतबार

नेपाली राजनीतिको कान्छो दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो एक वर्ष पूरा गर्दैछ । नेपालका पूराना दहरुको विकल्पमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले एक वर्षको अवधिमा उल्लेखनीय प्रगती हासिल गर्यो । तर, पार्टी भित्रका विवाद, सरकारप्रतिको लोभ, सस्तो लोकप्रियताको पछि लाग्दा आलोचना पनि खेप्न बाध्य भयो । गत वर्षको असार ७ गते चुनाव चिह्न घन्टीको घोषणा गर्दैै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ को आम चुनाव र वैशाखमा भएको उपनिर्वाचन गरि २१ सिटसहित संसदमा चौथो शक्ति बन्न सफल भएको छ । यसैसन्दर्भमा, पछिल्लो एक वर्षको स्मरण, योगदान, संघर्षका साथै आगामी योजनाको विषयमा पार्टीका सह-महामन्त्री कविन्द्र बुर्लाकोटीसँग खसोखासले गरेको कुराकानीको सम्पादित अशं :

– राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको एक वर्ष पुग्दैछ । कस्तो लागिरहेको छ ?
विगतको एकवर्षमा हामीले मुलुक बदल्न रेखा कोर्नुपर्छ भन्ने संघर्ष गर्यौ । त्यो संघर्ष गर्दै गर्दा खेरी हामीले सन्तोषजनक चित्त बुझाउने उपलब्धि पनि हासिल गर्यौ । अपार जनअपेक्षालाई वास्तविकतामा बदल्ने चुनौतीको सामना गरिरहेका छौं । हामी अहिले संघर्षमै छौं ।

– यो एक वर्षको अवधिमा तपाइँहरुले सोँचेजस्तो उपलब्धि हासिल गर्न सक्नुभयो त ?
सुरुमा योजना गरेजस्तो अलि रहेन । हामी पनि राजनीतिमा नयाँ नै भएको कारणले देशको राजनीतिक अवस्थालाई अझै मसिनोसँग केलाउने अवसर प्राप्त भयो । अहिलेको हिसाबमा हामीले जुन उपलब्धि सोँचेका थियौं, त्यो भएन, तर अहिले जे जति भयो, यसमा हामी अत्यन्तै शही तरिकाले चल्न सक्छौं भन्ने सोचिरहेका छौं ।

– यो एक वर्षको दौरानामा आलोचना पनि त्यत्तिकै खेप्नुभयो नि ?
यो त स्वभाविक नै हो, समाजमा अत्यन्तै सौहार्दपूर्ण वातावरणमा बसिराखेको, एउटा कमेन्ट पनि नखेपेको हिसाबले पनि चलिराखेका हुन्छौं । राजनीतिमा आइसकेपछि, आलोचना हुने, विवाद हुने विषयलाई अस्वभाविक मान्नु हुँदैन ।

– सोँचेजस्तो लक्ष्य हासिल गर्न अवरोध कहाँ सिर्जना भयो ? समस्या कहाँ रहेछ ?
समस्या र अवरोध चाहीँ, मुलुकमा सही र गलत नछुट्याइ प्रतिक्रिया दिने र सहीलाई पनि सही नभन्ने जुन हाम्रो सामाजिक अवस्था बनेको छ । त्यो चाहीँ सबैभन्दा ठुलो चुनौती हो जस्तो लाग्छ ।

– रास्वपा सत्ताकै पछाडी लाग्यो भन्ने आरोप पनि छ । सत्तामा हुँदा र नहुँदा फरक के पाउनु भयो ?
हामी राजनीतिमा आएको अवस्था बदल्नको लागि हो । यसलाई हेर्ने मात्रै भएको भए त हामी बाहिर नै ठिकै थियौं । हामीले त मुलुक बदल्ने सपना बोकेर राजनीतिक दल नै घोषणा गरेर राजनीतिक अभियानमा जब होमियौं, त्यसपछि भनेको त, हामिले सके जतिको परिवर्तन गर्दै जाने हो । अहिले प्राप्त भएको हाम्रो राजनीतिक उपलब्धिलाई परिवर्तनसँग जोडेर हेर्ने हो भने संसद्मा कराउँदा खेरी भन्दा सरकारमा हुँदा बढी हुन सक्छ । यदी हामिले अहिले ५ वटा मन्त्रालय सम्हालेका हुन्थ्यौं भने, जनताले चाहेँ जस्तो बजेट आउन सक्थ्यों । तर अहिले केबल, ती मन्त्रालयमा आएको बजेटमा संशोधन प्रस्ताव राखेका छौं, आवाजहरु उठाएका छौं । अहिले हामिले संसद्मा उठाएको आवाजको सुनुवाई दर हेर्ने हो भने संस्द र सरकारको दरले हेर्दा शुन्य छ । आम नागरिको स्तरबाट हेर्ने हो भने हाम्रो संसद्मा उठाएको कुराहरुमा सही छ भनेर दुइ–चार हजार लाइक र कमेन्टहरु आएका छन् । तर, हामी सरकारमा हुन्थ्यौं भने बदलेर देखाउन सक्थ्यौं नि त । त्यसकारण हामीलाई सत्ता लोलुप भन्दा पनि हामी जुन रुपान्तरणको लागि आएका छौं । त्यो रुपान्तरण छिटो गर्न सकिन्छ कि भन्ने एउटा लालशा हो ।

हामी जति भन्दा छिटो रुपान्तरण गर्न सक्छौं कि भन्ने अध्यास र दौडमा छौं । त्यो कारणले नै हामी पार्टी खोलेको तीन चार महिनामै चुनावमा होमियौं नि । नत्र त हामी ५ वर्ष कुरेर चुनावमा गएको भएपनि त हुन्थ्यो नि । हामिले त्यो एउटा छनक देखाइसकेका थियौं । यसको कुरा के हो भने, हामीले छिटो रुपान्तरण लिएर आउने, आमजनआकांक्षा अनुसारको बदलाब लिएर आउने, अवस्था परिवर्तन गर्ने हेतु नै यो चिजहरु गरिरहेका छौं । हामी सत्तामा बसेर त्यसबाट कमाई खान्छौं भन्ने सोँच छैन् ।।

– संसद्मा पनि जनताका मुद्दालाई त्यति बढी प्राथमिकता दिएको देखिएन नि ?
अहिले हामिलाई आम नागरिकहरुले जुन साथ दिनुभएको छ, जुन अपेक्षा राख्नुभएको छ । अहिले सानासाना विकास निर्माणदेखि लिएर ठूलाठूला काण्डमा पनि पार्टीमा फोनहरु आउँछ, पार्टीलाई झकझकाउने कामहरु हुन्छ । तर, पार्टी संसद्मा बोल्ने मात्रै हो, गर्ने काम छैन् । संसद्मा बोल्ने पनि पालो अनुसार बोल्ने हो, दिनभर हामि नै बोलिराख्न पाउँदैनौं । त्यसो भएकोले देशभरका सानासाना समस्याहरुलाई पनि संसद्मा राख्न पाउँदैनौं । मुलुकलाई सुनाउन नसकेका सयौं समस्याहरु र्जजर परेर बसिरहेका छन् । त्यसैले सानादेखी ठूला समस्याहरुलाई सम्बोधन गर्न अब ठूलो संघर्ष गर्नुपर्ने अवस्था छ । आम नागरिकको ठूलो अपेक्षा छ, त्यसलाई सम्बोधन गर्नुपर्ने छ । हाम्रो सदस्यता वृद्धिदर पनि उल्लासमय छ । यसको व्यवस्थापन एउटा महत्वपूर्ण पाटो छ, यसलाई महत्वरुपमा हेरेका छौं ।।

– अब रास्वपा कसरी अघि बढ्छ ? अबको भिजन के छ ?
पाटी भित्रको आन्तरिक व्यवस्थापनको विषय छ, आन्तरिक नीति विचारको किलियारिटी गरेर जाने, छलफल गरेर जाने, तलदेखि माथि सम्मको विषयलाई छलफल गरेर टुंगोमा लैजाने कुराहरु छ । संघीयता, प्रदेश संरचना, स्थानीय तहलाई मजबुत बनाउने कुराहरु छन् । भोलीको दिनमा पार्टीले गर्नुपर्ने थुप्रै नीतिगत कामहरु छन् त्यसको तयारी र त्यसको दस्तावेजीकरणको लागि अहिले पार्टीले काम गर्नुपर्नेछ । त्यतातिर अहिले हामी केन्द्रीत छौं ।

– पार्टीभित्रका नेताहरु नै विभिन्न काण्डमा फस्ने, पार्टीभित्र पनि पछिल्लो समय गुटगत प्रवृत्ति हाबि हुने देखिएको छ । यसले तपाइँहरु बरालिने डर पनि बढी देखियो नि ?
हामिले अहिले जुन रोड म्याम तयार गरिरहेका छौं, आन्तरिक रुपमा । संसद्का साथीहरुले संसद्मा बुलन्द आवाज निकाल्ने, त्यो आवाजलाई जनतासँग जोड्ने । त्यस्तै, पार्टीका साथिहरुले पार्टीको संरचनाहरु मजबुत् बनाएर लैजाने, आमजन आकांक्षालाई पूरा गर्ने हेतुको तयारी गरेर जाने तिर केन्द्रीत छौं । त्यो कारणले हामी कहिँ अलमललिएका छैनौं । हामि स्पष्ट रोड म्यापमा छौं । अर्को कुरा, पार्टीभित्र छलफल संवाद नै भएन् भने त पार्टी मृत सरह हुन्छ । त्यो कारणले पार्टीलाई जिवित राख्नको लागि पार्टी भित्र छलफल, संवाद प्रारम्भ गरेका छौं । पार्टीमा त्यस्तो विवाद कहीँ कतै भएको छैन् । पार्टी छलफल कै क्रममा छ र छलफलबाटै निष्कर्ष निकाल्नुपर्छ भन्ने हाम्रो सुरुको जुन प्रारम्भ छ, त्यही प्रारम्भको आधारमा अहिलेसम्म आइरहेका छौं । एउटा पार्टीमा राजनीतिक अभ्यास बढ्दै जाँदा त्यसलाई अलिकति व्यवस्थित गरेर जाने भन्ने सबै पार्टीमा हुन्छ । हामिले त्यसलाई व्यवस्थित गरेका छौं । संशोधन प्रस्तावहरु ल्याउन सक्ने विधिलाई खुला गरेका छौं । पालिकादेखि जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म विचारहरु आउन सक्ने बाटोलाई खुला गरेका छौं । आम नागरिकको सपनालाई साकार पार्ने दिशामा हामी केन्द्रीत छौं ।

– यो एक वर्षको अवधिमा सदस्य कति पुगे ? सदस्यता शुल्कबाट उठेको रकम के गर्नुहुन्छ ?
५ वर्षको लागि एकमुष्ट एकहजार रुपैँया सदस्यता शुल्क तोकका छौं । जसले त्यो शुल्क तिर्न सक्नुहुन्न्, उहाँहरुको लागि छुटको लागि पनि व्यवस्था गरेका छौं । प्रदेश, जिल्ला, पालिकाहरुले त्यसको निर्णय गर्न सक्ने व्यवस्था गरेका छौं । ५ वर्षको लागि एकमुष्ट नविकरण गर्नेको संख्या ३२ हजार पुगेको छ । हाम्रो सदस्यता अफलाइनबाट आवेदन गर्नेको संख्या ८५ हजार माथि छ । अनलाइनबाट आवेदन दिनुभएको तर विभिन्न प्रक्रियाले अस्विकार भएको संख्या ६५ हजार माथि छ । यसरी हेर्दा करिब करिब दुइलाखको सेरोफेरोमा सदस्यता विस्तार गर्न सक्षम भएका छौं । ५ वर्षको नविकरण गर्नुभएको शुल्क, पार्टीको आकार हेर्ने हो भने, यस्तै पार्टी सञ्चालन गर्न अरु दलले मासिक दुइ करोड सम्म खर्च गरेका छन् तर हाम्रो त्यो लेबलको खर्च छैन् । हामी पार्टीलाई आर्थिक रुपमा अनुशासित बनाउन कोशिस गरिरहेका छौं । उठेको पैसा पनि ३० प्रतिशत पालिकामा, २० प्रतिशत प्रदेशमा, २५ प्रतिशत प्राविधिक खर्च हुन्छ । बाँकी २५ प्रतिशत पैसा केन्द्रको राजनीतिक गतिविधि सञ्चालनको लागि खर्च गछौं । हाम्रो मासिक रुपमा ४०/५० लाख खर्च हुने जस्तो देखिन्छ, त्यसलाई घटाएर लैजाने अवस्थामा छौं ।।

-अन्त्यमा, के भन्न चाहनुहुन्छ ?
यो उत्साहपूर्वक पार्टीलाई यहाँसम्म लिएर आउनको लागि आम नागरिक, सञ्चारमाध्यम, बुद्धिजीविहरुको सहयोग रहेको छ । यो सहयोग आगामी दिन अझै बढिरहनुपर्नेछ । देशलाई नयाँ युगमा लैजान आम नेपाली मनमा रुपान्तरणको जुन हुटुहुटी छ, त्यसको लागि आम नागरिक, बुद्धिजीवि, सञ्चारमाध्यम लगाएतको तर्फबाट सहयोगको अपेक्षा गर्दछौं ।आगामी दिनमा थप सहयोग रहन्छ भन्नेमा विश्वास व्यक्त गर्दछु ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com