भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका प्रस्थान
प्रकाशित मिति : असार ५, २०८० मंगलबार
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका प्रस्थान गरेका छन् । मोदी जुन २१ देखि २३ सम्म अमेरिकाको भ्रमणमा छन्, त्यसपछि उनी इजिप्टको भ्रमण गर्नेछन् । मोदीको यो पहिलो ऐतिहासिक राजकीय अमेरिका भ्रमण हो ।
अमेरिका जानुअघि प्रधानमन्त्री मोदीले ट्विट गर्दै भनेका छन्, ‘अमेरिका प्रस्थान गर्दैछु, जहाँ म न्यूयोर्क शहर र वाशिंगटन डीसीमा हुने धेरै कार्यक्रममा भाग लिनेछु। यी कार्यक्रमहरूमा संयुक्त राष्ट्र संघको मुख्यालयमा योग दिवस मनाउने, अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको अन्तरक्रिया, अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्ने र अन्य धेरै कुराहरू समावेश छन्।’
“अमेरिकामा, मैले व्यापारिक नेताहरूलाई भेट्ने, भारतीय समुदायसँग अन्तरक्रिया गर्ने र जीवनका विभिन्न क्षेत्रका चिन्तकहरूलाई भेट्ने अवसर पनि पाउनेछु,” उनले थपे।
प्रधानमन्त्री मोदीले भारत अमेरिकासँग व्यापार, प्रविधि र अन्य धेरै महत्वपूर्ण क्षेत्रमा सम्बन्ध गहिरो बनाउन चाहेको बताएका छन् ।