प्रसादी दिने बहानामा दर्शनार्थीमाथी दुर्व्यवहार गर्ने भैरवस्थान मन्दिरका पुजारी निलम्बित
प्रकाशित मिति : असार १४, २०८० बिहीबार
पाल्पाको भैरवस्थान मन्दिरका मुख्य पुजारी जीतनाथ योगीलाई मन्दिर व्यवस्थापन समितिले निलम्बन गरेको छ । प्रसादी दिने बहानामा महिला दर्शनार्थीमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेपछि मुख्य पुजारी योगीलाई निलम्बन गरिएको समितिले जनाएको छ ।
योगीले महिला दर्शनार्थीहरूमाथि यौनजन्य दुर्व्यवहार गरेको गुनासो आएपछि समितिको आकस्मिक बैठकले सत्यतथ्य छानबिन नहुँदासम्म उनलाई मुख्य पुजारीको जिम्मेवारीबाट हटाउने निर्णय समितिका अध्यक्ष गोविन्द बहादुर पोखरेलले जानकारी दिए ।
योगीले मन्दिर दर्शनको लागि जाने महिला दर्शनार्थीहरूलाई प्रसादी दिने बहानामा उनीहरूको संवेदनशील अंगमा छुने गरेको समाचारहरु विभिन्न सञ्चारमाध्यमा प्रकाशित भएका थिए । उनले २०५९ देखि भैरवस्थान मन्दिरमा मुख्य पुजारीको रूपमा काम गर्दै आएका थिए।