‘क्यान व्यक्ति केन्द्रीत र सनकको भरमा चल्ने अवस्था आएकाले राजीनामा दिएँ’ : वृतान्त खनाल
प्रकाशित मिति : असार १७, २०८० आईतबार
नेपाल क्रिकेट संघ (क्यान)का महाप्रबन्धक वृतान्त खनालले भर्खर मात्रै आफ्नो पदबाट राजीनामा दिए । खनालले क्यानका अध्यक्ष चतुरबहादुर चन्दको कार्यशैलीप्रति असहमति जनाउँदै पदबाट राजीनामा दिएको बताए । उनको राजीनामा पनि स्वीकृति भइसकेको छ । क्यानले महाप्रबन्धक खनालको राजीनामा स्वीकृत गरेपछि आरोप–प्रत्यारोप सुरु भएको छ । गत २०७९ को वैशाख ३ मा क्यानको महाप्रबन्धक नियुक्त भएका खनालले एक वर्षभन्दा बढी कार्यभार सम्हाल्न सकेनन् । उनै खनालसँग क्यानभित्रका समस्या, विवाद लगाएतका विषयमा खसोखासकर्मी सुरज घिमिरेले गरेको कुराकानी ।
– नेपाल क्रिकेट संघ (क्यान) को महाप्रबन्धकमा नियुक्त भएको १४ महिनामै राजनीमा दिनुभयो ? राजीनामा दिनुपर्ने अवस्था कसरी आयो ?
कुनै व्यक्ति विशेषको बारेमा अहिले टिप्पणी गर्दा ठिक नहोला । समग्र रुपमा अहिलेको संघसंस्थाहरु अथवा मैले काम गरेको नेपाल क्रिकेट संघ (क्यान) अलिकति संगठन केन्द्रीत, व्यवस्थापन केन्द्रीत नभएर व्यक्ति केन्द्रीत भयो । साथै, सनकको भरमा चल्ने भएको कारणले पनि अलिकति समस्या आएको हो । तर, यो मेरो मात्र समस्या होइन् होला धेरैजसो अहिले कर्मचारी, व्यवस्थापन र बोर्डको बीचमा यस्तै समस्या छ । माथिल्लो हाकिमले कर्मचारीलाई सधै दासको रुपमा लिने रहेछन् । उसको मानवअधिकारको पनि सम्मान नगर्ने, उसको मूल्य र मान्यता पनि नराख्ने भएको हुनाले आफ्नो मूल्य र मान्यतालाई बचाएर राजीनामा दिएँ ।
– तपाईले सामाजिक सञ्जालमै क्यानका जिम्मेवार व्यक्तिलाई केन्द्रीत गरेर जे लेख्नु भयो त्यो सत्य हो कि आवेगमा आएर लेख्नुभयो ?
सबैकुरामा एउटा पोलिसी हुन्छ नि । कुनै संघसस्थामा एउटा पोलिसी हुन्छ, त्यो पोलिसीभित्र रहेर हामी चलिरहेका हुन्छौं । तर, त्यो पोलिसी नै मन परेन् वा कुनै व्यक्तिले भनेकै काम हुनुपर्यो भने त त्यसमा बस्नुको औचित्य नै हुन्न नि । व्यवस्थापनले संघ चलाउनुपर्ने, व्यवस्थापनले अगाडी बढाउने कुरामा व्यवस्थापन राम्रो सँग चल्न पनि सकेन् । अलिकति अभ्रद व्यवहार पनि भयो । मैले लेख्ने कुराहरु सामाजिक सञ्जालमा लेखेको छु । म मेरो शब्दको साक्षी नै छु । मैेले के के लेखेको छु, सोचेर नै लेखेको हो ।
– तपाइँको असन्तुष्टि के थियो ?
मैले हालै बोर्डलाई एउटा प्रतिवेदन बुझाएको छु । त्यो प्रतिवेदनमा क्रिकेट संघले गनुपर्ने काम के के हो ? यसलाई अझै व्यवस्थित गर्न सकिन्छ भनेर ! खेलकुद भनेको खेलकुद मात्रै होइन्, यो मनोरञ्जनसँग पनि गासिँएको छ । मनोरञ्जनमा कम्यूनिकेशन जनता सँगको वा फ्यानसँगको राम्रो भएन् भने चल्दैन् । जस्तो, खेलकुद परिषद्को मातहतमा दुई सयको आसपासमा संघहरु छन् तर ती सबै खेकुद संघहरु क्रिकेट फुटबल जसरी सबैले हेर्दैनन् । किनभने, उनीहरु कम्यूनिकेशन राम्रो सँग गर्दैनन् । म आइसकेपछि जुन वेथिति थियो, त्यसलाई केही हदसम्म सुधार्ने कोशिस गरें ।
तपाईले पनि ख्याल गर्नुभएको होला, सामाजिक सञ्जाल पनि एक्टिभ छ । यहाँबाट सामाजिक सञ्जालहरु चलाउने मान्छेलाई जिम्बाबे पठाएर हुन्छ कि, जसरी हुन्छ। त्यसलाई व्यापक बनाइएको छ । वेथिति कम्यूनिकेशनमा छ । वेथिति सैद्धान्तिक रुपमा संघसंस्था चलाउनुमा छ । व्यवस्थापनलाई प्रोफेशनल तरिकाले हेर्नुपर्यो, अनि त्यो प्रोफेशनल मूल्य दिनुपर्यो । तर, यो कस्तो छ भने, पैसा मात्र ल्याउनको लागि । अहिले के भनिरहिएको छ भने,, ५० करोड ल्याउन सकिएन्, २० करोड ल्याउन सकिएन्, १० करोड ल्याउन सकिएन्… एउटा बैंकको सीइओको काम पैसा ल्याउने मात्र त होइन् नि ? एउटा संघसंस्थाका व्यक्तिको काम त्यो काम होइन् नि ! काम व्यवस्थापनको हो । त्यो हिसाबले हेरिएन्, संकृण तरिकाले हेरियो ।
– यो अवस्था कहिले सम्म रहन्छ ?
जब सम्म नेपालभित्र रहेका सबै संघसंस्था बजारले चलाउन्छ भन्ने बुझदैनौं, तब तब यो रहीरहन्छ । ३८ सयको बजार अहिले १८ सयमा खसेको छ । १८ मा खस्किदाँ बजारमा पैसा नुहँदा क्यानमा कसरी पैसा आउँछ ? खनेर निकाल्ने हो, पानी हो ? होइन् नि ! त्यसैले पहिलो कुरा त बजार बुझ्ने हुनुपर्यो । मार्केट खराब छ, अहिलेको स्थितिमा २ करोड उठाउनु पनि ठूलो कुरा हो । बजारमा कतिवटा इभेन्ट म्यानेजमेन्ट कम्पनी बन्द भएका छन् । अहिले क्यान मात्रै नहेरौं,, फुटबलमा कति स्पोन्सर गइरहेका छन् ? करातेँमा कति स्पोन्सर गइरहेका छन्? भलिबलमा कति गइरहेका छन् ? सबै कुरालाई हेरौं न बल्ल त्यसपछि तुलना गरौं । तर, हाम्रो समस्या के हो भने, हामीलाई लगानी ठूलो चाहिन्छ । हामीलाई एउटा टुनामेन्ट गर्न पर्यो भने, लगभग ५० देखि ६० लाखसम्म हाम्रो खर्च छ । म आइसकेपछि ४३-४४ वटा खेलहरु भयो । बीसीसीआई, जो ३ सय ८५ मिलियन डलरको ग्रान्ड पाउँछ आइसीसीबाट उसले पनि ४४ मात्रै गरेको छ । उसको हाराहारीको खेल गरिएको छ । त्यो कुरालाई कहिले पनि सराहनीय नगर्ने, पैसा कति ल्याइस् भन्ने मात्र हेर्ने । त्यस्तो दृष्टिकोणबाट हेर्नुहुँदैन् भन्ने मेरो बुझाइँ हो ।
– क्यानको महाप्रबन्धक कुर्सी तातो भएको हो ? किन कोही धेरै बस्न चाहदैँनन् ?
म आएको पनि एक वर्ष त भएको थियो । हाम्रोमा समस्या भनेको, आउना साथ मूल्याकंन गरिदिने । कुनै पनि महाप्रबन्धक आउँदा खेरी उसलाई कस्तो समयमा प्रवेश गराइयो, बजार १८०० छ, त्यस्तो बेलामा छिरेको छ, यस्तो अवस्थामा पनि करिब ४४ वटा खेल गरेको छ, त्यस्तो बेलामा कहिले स्पोन्सर नपाएको महिला टोलीमा माई पेले स्पोन्सर गरेको छ । सबै प्रक्रियाहरु इन लाइन छ । अहिले नेपालको बजारले धान्न सक्दैन् भनेर विदेशीहरुलाई ल्याएर लगानी गर्न लगाइएको छ । तर, बोर्डले नै स्वीकृत गरिदिएन् भने त मैले आफैले त स्वीकृत गर्न मिल्दैन् । कि मलाई त्यो अधिकार दिनुपर्यो, तपाइँ दुबइ जानुस्, भारत जानुस्, सम्झौतामा सही गर्नु आउनुस् भन्नुपर्यो । त्यसको आधारमा मलाई मूल्याकंन गर्ने हो ठिक हो । यदी त्यो, गरिएको छैन् भने लाञ्छना् मात्रै लगाएर पनि त राम्रो देखिएन् नि ।
– मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नामै फेरिएछ नि ?
सैद्धान्तिक तरिकाले कुरा गर्दा पहिले मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको भोग, चलन अथवा त्यसको नामाकरण मुलपानी बासिन्दाले गर्नुपर्यो, कागेश्वरी मनोहराले गर्नुपर्यो । व्यक्ति, जिल्ला देश त पछि आउँछ नि । यो पनि बोर्डका सदस्यहरुलाई सोधिएर गरिएको निर्णय होइन । मैले पनि बोर्डको बैठकको दिन नै थाहा पाएको हो, यसको नाम परिवर्तन गर्न थालिएछ भनेर । म सँग पनि एकदम धेरै छलफल भएर भएको कुरा होइन् ।
– पछिल्लो समय नेपाली क्रिकेटको अवस्था कस्तो पाउनु भएको छ ? तपाइँ आएपछि के-के सुधार भए ?
क्रिकेटको अवस्था एकदमै राम्रो छ, शुभचिन्तकको नजरबाट हेर्दा । मैले म आएको दिन देखि प्रस्ताव गरिरहेको ‘ए’ टीम बन्नुपर्छ भनेर । अर्को अण्डर १९ को संरचना राम्रो बनिरहेको छ । अण्डर १६ को संरचना बन्नपर्छ । अन्डर १३ को पनि संरचना बन्नुपर्छ । जिम्बाबें अस्ती भर्खर हार्यौ हामीले । उसको अण्डर १० को संरचना छ, अण्डर १३ को संरचना छ, अण्डर १६ को संरचना छ । एउटा ८ वर्षको उमेरदेखि खेल्दा खेल्दा उ बल्ल सिनियर टिममा गएर परिपक्क हुन्छ । तसर्थ, यसरी क्रिकेट संघ चल्नुपर्यो । पहिले संरचना बन्नुपर्यो, त्यसपछि खेलाडी आफैँ आउँछन् । जहाँ सम्म बजारको कुरा छ, स्पोन्सरको कुरा छ, त्यो त सरकारले राम्रो गर्यो,व्यापार राम्रो भयो भने लगानी गर्ने मान्छेहरु आउँछन् । क्यानले पनि कर्पोरेट क्षेत्रसँग अन्तरक्रिया राम्रो गर्यो उसले लगानी गर्ने हो । आफ्नो कार्यक्रममा नीजि क्षेत्रलाई नल्याउने, नेताहरुलाई मात्रै ल्याउने गर्यो भने नेताले लगानी गर्दैनन् । नेताहरु क्यामेरा अगाडी आउनुहुन्छ, भोट माग्नुहुन्छ जानुहुन्छ । खेलको बेलामा व्यापारीलाई ल्याए पोे उहाँहरुले आफ्नो व्यापारलाई प्रोत्साहन गर्न लगानी गर्नुहुन्छ । त्यसैले अबका कार्यक्रममा व्यापारीलाई ल्याउनुपर्छ ।
– नेपाली क्रिकेटलाई सरकारले चासो नदिएको हो ?
सरकारले एकदमै चासो दिएको छ । खेलको बजेट क्रिकेटमा गइरहेको छ । तर, त्यो अनुसारको प्रतिफल भने आएको छैन । लगानीको प्रतिफल खेलकुद परिषद्ले क्यानसँग माग्न सकिरहेको छैन ।
– अन्त्यमा के भन्न चाहानुहुन्छ ? नयाँ महाप्रबन्धकलाई यहाँको सुझाब के छ ?
दर्शकहरुलाई संरचना क्यानको बन्नुपर्छ । बिनोद दास राम्रो प्रशासक हुनुहुन्छ, राम्रो हुँदै जान्छ भन्नेमा विश्वस्त छु । तर उहाँलाई स्वतन्त्र छाड्नुपर्छ । उहाँलाई जिल्ला जिल्लाका क्रिकेट संघसँग समन्वय गर्न दिनुपर्छ । जिल्ला क्रिकेट संघसँग समन्वय गर्न सक्नुभयो भने मात्र क्रिकेट राम्रो बन्छ । हामी काठमाडौंमा मात्रै बस्यौं भने केही पनि हुँदैन् । समग्र रुपमा व्यवस्थापनको कम्यूनिकेशनलाई बलियो बनायौं, सरकारलाई मनाउन वा विश्वास दिलाउन सक्यौं, व्यापारीहरुलाई बोलाऔं र यसपालिको बजेटमा आइसीसीसँग निवेदन गरेर सेप्टेम्बरमा नेशनल क्रिकेट कन्फोरेन्सको बजेट छ, नेशनल क्रिकेट कन्फोरेन्स गरौं त्यसमा सबैलाई बोलाएर विश्वास दिलाउन सकौं । यही भन्न चाहान्छु । क्रिकेटमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सधै मेरो साथ सहयोग रहनेछ ।