‘यौनिक अल्पसंख्यक लगायत एकल महिला र घरेलु हिंशा पीडितलाई पनि सहयोग गरिरहेकी छु’
प्रकाशित मिति : असार १८, २०८० सोमबार
मेकअप आर्टिस्ट तथा मोडल निलम पौडेललाई धेरैले चिन्छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी उनले आफ्नो स्थान बनाउनका लागि निकै ठूलो संघर्ष गर्नु परेको थियो । सुकुम्बासी बस्तीबाट रंगिन दुनियामा आफ्नो स्थान बनाउनु चानचुने कुरा होइन । कडा परिश्रमले उनलाई अहिले रोलमोडलको रुपमा खडा गरिदिएको छ । उनी आफू मात्र होइन धेरैलाई आत्मनिर्भर बनाउनका लागि सीप मुलक तालिम दिँदै आएकी छिन् । खासगरी बाध्यताले यौन पेशा अंगाल्न बाध्यभएकाहरुलाई सिप सिकाउने र त्यो दुनियाँबाट बाहिर निकाल्ने काम उनको निकै सराहनीय छ । त्यसको साथै यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको हक अधिकारका लागि काम गर्दै आएकी छिन् । निलम पौडेलसँग खसोखासले गरेको कुराकानीको सम्पादित अंश :
यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको न्याय तथा यौन पेसामा लाग्न बाध्य भएका महिलालाई समाजमा सम्मान जनक जीवनयापनका लागि सीप मुलक तालिम दिँदै आउनु भएको छ, कति गाह्रो हुँदो रहेछ ?
मैले जुन समूदायलाई आत्मनिर्भर बनाउनको लागि काम गरेकी छु, उनीहरु आर्थिक र सामाजिक रुपमा कमजोर अवस्थाका हुन्छन् । मेरो उदेश्य भनेको उनीहरुलाई बाध्यताले अंगालेको पेशाबाट निकाल्नु हो । उनीहरुलाई सिप सिकाएर समाजमा सम्मान जनक जीवनयापन गर्न सिकाउनु हो । म पनि सामान्य परिवारबाट आएको मान्छे हो । मानिसका बाध्यता विवसता राम्रोसँग बुझ्न सक्छु । एक दुई जनाको कुरा होइन, धेरैलाई तालिम दिँदा चाहिने आधारभूत सामानहरु किन्नुपर्छ त्यसको लागि आर्थिक रुपमा गाह्रो हुन्छ । मैले व्यक्तिगत रुपमा किन्न पनि सक्दैन् । मैले दिने भनेको सीप मात्र हो । फण्ड पाउनको लागि गाह्रो छ। मैले उहाँहरुको सीप विकासका कक्षाहरु, उहाँहरुलाई केही राम्रो होस् भनेर काम गरेको छु । ठाउँ ठाउँबाट उहाँहरु आफैले ३०/४० जनाहरुको लिष्ट पठाएर हामीलाई सिप सिकाइ दिनु भन्नै अनुरोध गर्नु भएको छ तर त्यति हुँदा पनि मैले फाइनान्सियल समस्या गर्दा त्यो क्लासहरु गर्न पाइराखेकी छैन् । मेरो मुख्य चुनौती नै त्यही भइरहेको छ ।
सीप मुलक तालिम दिनुको साथै उहाँहरुलाई सोध्ने गर्छु। दैनिक जीवनमा के गर्नुहुन्छ ? के परिवर्तन आएको छ ? तालिमपछि के परिवर्तन आयो ? क्लास सकिएपछि के गर्ने सोचँ बनाउनुभएको छ ? यस्तो कुराहरु सोध्छु । त्यसको साथै, हाम्रो संविधानमा के-के लेखिएको छ ? यदी हामीलाई कसैले उत्पीडन गर्यो भने कसरी आवाज उठाउने ? मोबाइलहरु चलाउन आउँदैन् भने कस्तो व्यक्तिलाई सम्पर्क गर्ने ? कस्तो व्यक्तिलाई भन्ने ? सुरक्षित यौनसम्पर्कको कुराहरुको बाारेमा जनचेतना जगाउने काम पनि मेरो क्लासमा भइरहेको हुन्छ ।
अहिलेसम्म कति जनालाई सीप मूलक तालिम दिनुभयो ?
अहिलेसम्म ६ वटा सहरहरुमा क्लासहरु गरें । गरिब एक सय ५० जना बढी जनालाई सीप तथा व्यक्तित्व विकास तालिम सम्बन्धि कक्षाहरु गरिसकेकी छु । उहाँहरुलाई मेरै संस्थाबाट प्रमाणपत्र प्रदान गरिसकेकी छु । उहाँहरुलाई स्कील डेभलपमेन्ट क्लासपछि केही ठाउँमा रोजगारीको लागि सहयोग गर्दै आइरहेकी छु । उहाँहरु मध्ये केहीले पार्लरमा काम गर्ने र केही साथीहरु मिलेर पार्लर नै खोल्नु भएको छ ।
यौनिक तथा लैंगिक अल्पसंख्यकलाई मात्रै हो कि अन्य समूदायलाई पनि तालिम दिनुहुन्छ ?
मैले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई मात्रै नभएर अन्यलाई पनि तालिम दिँदै आइरहेकी छु । जो एकल आमाहरु हुनुहुन्छ, उहाँहरुलाई पनि सीप मुलक तालिमहरु दिँदै आइरहेकी छु । यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको पनि जो पीडित हुनुहुन्छ। जसले घरेलु हिंसाहरु भोगिरहनु भएको छ उहाँहरुलाई पनि सहयोग गरिरहेकी छु ।
तालिमपछि उहाँहरुमा केही परिवर्तन आएको छ ?
तालिमपछि उहाँहरुको हातमा सीप मिलेको छ । उहाँहरु अब डराउनुपर्दैन । ‘मैले काम गर्न सकिन, म राम्री देखिइन’ लगायतका कुराहरु उहाँहरुको दिमागमा आउँथ्यो भने अहिले उहाँहरु आफूले आफैलाई श्रृंगार्न सक्ने, आफूले आफूलाई सबल बनाउन सक्ने, त्यसका साथै उहाँहरुले आफ्नो हातको सीपबाट केही आम्दानी गर्न सक्ने पनि हुनुभएको छ ।
आफु मात्र होइन, अरुलाई पनि आत्मनिर्भर बनाउनुपर्छ । आफ्नो अधिकारको लागि आफैँ आवाज उठाउनुपर्छ भन्ने अवस्थासम्म आउँदा तपाईले भोग्नु परेका अप्ठ्याराहरु के-के रहे ?
पहिलो कुरा, त म आफै सुकुम्बासी क्षेत्रमा घर भएको, आफै पैसा कमाएर पढिरहेको र आफ्नो परिवारलाई पनि सहयोग गरिहेको मान्छे हुँ । एउटा ट्रान्स महिला भइसकेपछि समाजमा कति धेरै समस्याहरु आए, कति धेरै अप्ठ्याराहरु आए, गरिरहेको काम पनि छोड्नुपर्यो । समस्याहरु त धेरै नै भए । मुख्यतः पहिलो समस्या भनेकै आर्थिक समस्या हो । त्यतिखेर केही सिक्नलाई पनि अगाडी बढ्न नसक्ने अवस्थामा थिए । पछि बाहिर गए । बाहिर बसेर घरेलु कामदारको रुपमा काम गरे । त्यहाँ कमाएको पैसालाई बचत गरेर फर्किसकेपछि आफ्नो सपनालाई पुरा गर्न सके । त्यसरी नै संघर्ष गरे । अलिकति गाह्रो नै भएको थियो, काठमाडौंमा सहयोग माग्नलाई चिनेको पनि कोही हुनुहुँदैन्थ्यों । मैले सबै आफ्नो तर्फबाट आफै लागि परेर गर्नु परेको हुँदा धेरै नै चुनौतीहरुको सामना गर्नुपर्यो । मानसिक तनाव हुन्थ्यों । आफू ट्रान्सउमन भएर पनि हुन सक्छ, आफूलाई नराम्रो व्यवहार गरेको हो कि जस्तो पनि लाग्ने गर्दथ्यों ।
अहिले मान्छेले तपाइँलाई हेर्ने दृष्टिकोण कस्तो छ ?
पैसा सबै कुरा हो र पैसा मात्रै सबै होइन पनि भनिन्छ । तर, यहाँ चाँही मानिसको सीप, मानिसको मेहनतभन्दा पनि बैंकमा पैसा कति छ भन्ने कुरा एकदमै महत्वपूर्ण हुनेरहेछ । मैले बच्चादेखि नै पैसाको महत्व बुझेकी छु । पछि, झन धेरै पैसाको महत्व बुझें । पैसा भएन भने केही गर्न नसकिने रहेछ भन्ने राम्ररी बुझें । अगाडी पछाडी राम्रो मान्छेसँग हिड्नुछ भने, राम्रो लगाउनै पर्यो, राम्रो खानै पर्यो, राम्रो ठाउँमा जानै पर्यो । त्यही अनुसारले पैसा खर्च गर्ने हुनुपर्यो । पैसाको पावर हुने रहेछ भन्ने मज्जासँग बुझियो ।
मेकअप आर्टिस्ट बन्नको लागि आउन चाहनेलाई यहाँको सुझाव के छ ?
कहिले हार नमान्नुहोस् । आफ्नो जीवन कहिल्यै अरुसँग तुलना नगर्नुहोस् । पाइँ जे हुनुहुन्छ त्यसमा प्रफेक्ट हुनुहुन्छ, तपाइँ जस्तो हुनुहुन्छ त्यसमा प्रफेक्ट हुनुहुन्छ । कहिले पनि आत्तिने, डराउने गर्नुहुँदैन् । मैले यो गर्न सक्दिन भनेर कहिले पनि सोच्नुहुँदैन् । हामीले केही पनि कुरा आमाको पेटबाट सिकेर आएका हुँदैनौं । कति कुराहरु एउटा आराम क्षेत्रबाट बाहिर निस्केपछि थाहा हुने कुराहरु हुन्छ । त्यसैले मेहनत गर्न छोड्नुभएन् र धैर्यता राख्न सकियो भने आफूले चाहेको कुरा सजिलै पुरा हुन्छ ।
समलिङ्गी विवाहको बारेमा हालै सर्वोच्चले दिएको अन्तरिम आदेशका बारेमा तपाई के भन्नु हुन्छ ?
कति जनाले मलाई सोध्नुभयो- तपाइहरुको लडाइँको अन्त्य भयो ? हाम्रो लडाईँ त अब सुरुवात भएको छ । अझै धेरै लड्नुछ । म हिजोको दिनमा कसैलाई आफ्नो भन्न डराउन्थे भने अब मेरो मान्छे यो हो रु भनेर सार्वजनिक रुपमै भन्न सक्छु कि भन्ने आटँ आयो । किनभने, हिजोको दिनमा प्रमाणित हुँदैनथ्यो। विवाह दर्ता गर्न पाउदैनथें । सामाजिक रुपमा सुरक्षा भएको जस्तो महसुस भएको छ मलाई ।
विवाहको बारेमा के सोच्नु भएको छ ?
हामी ट्रान्सजेण्डरहरु मायाको भोगी हुन्छौं । केयरको भोगी हुन्छौं । कसैले सानो आफ्नो पन देखाइदियो भने त्यसमा पग्लिहाल्छौं । मेरो पनि मन छ, मलाई माया गर्ने मान्छे कोही होस् । मलाई पनि मन छ, मेरो पनि श्रीमान होस्, उहाँहरुसँग खेलेर, उहाँहरुको केयर गरेर आफ्नो जीवन बिताउने चाहाना छ । तर, कति सपनाहरु चाहेर पनि त पूरा हुँदैनन् नि त ! म चाँही अहिले अविवाहित नै छु । मलाई बुझ्ने कोही पाए भने, भोली उहाँसँग बस्नेछु । अहिले चाँही मैले कोही पाएको छैन्, जस्ले मलाई मेरो हो भन्न सकोस् ।