‛बगान’मा मेरो आमाको भोगाइ छ, आमालाई सम्झेर अभियन गरेकी छु : अभिनेत्री करिश्मा मानन्धर


प्रकाशित मिति : असार २६, २०८० मंगलबार

एकल महिलाले जीवन यापनका लागि सामाजिक रुपमा गर्नु परेको कष्टपूर्ण यात्रालाई चित्रण गरिएको चलचित्र बगान यही असार २९ गतेबाट प्रदर्शनमा आउँदै छ । फिल्मका निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर छन्। यो चलचित्र मानिसहरुले किन हेर्ने ? नयाँ के छ ? भन्ने बारेमा एकल महिलाको भूमिकामा रहेकी अभिनेत्री करिश्मा मानन्धरसँग खसोखासले गरेको कुराकानीको सम्पादित अंश :

– तपाईले अभिनय गरेको चलचित्र ‘बगान’बाट नेपाली समाजलाई के दिन र देखाउन खोज्नु भएको हो ?

समाजमा धेरै समस्याहरु छन् । चलचित्र मार्फत् उठाउनु पर्ने मुद्धाहरु पनि अनगिन्ति छन् तर हामीले बगान मार्फत् एकल महिलाले समाजमा भोग्नु परेको समस्यासँगै समाधानको बाटोलाई औंल्याएका छौँ । यो स्वप्न नीरवको सर्ट स्टोरी हो । उहाँ आफै एकल महिला हो ।

मेरो आमा पनि एकल महिला हो । २२ वर्षको उमेरमा श्रीमान गुमाएकी मेरी आमाले हामीलाई एक्लैले हुर्काउनु भयो । उहाँ पनि एउटा पात्र हो । एकल महिलालाई पहिले भन्दा अहिले केही हदसम्म सहजता छ तर अहिले पनि एकल महिलाले सामाजिक, आर्थिक र परम्पराको नाममा विभिन्न लाञ्छनाहरु भोग्नु परेको समाचार हामीले बेलाबेला सञ्चार माध्यबाट पढ्ने र सुन्ने गरेका छौँ । जुन निकै पिडादायी हुन्छन् ।
पहिले मेरो आमाको पालामा निकै गाह्रो थियो । त्यो पात्रलाई मैले आमालाई सोँचेर जीवन्त बनाए । हामीले आखाँले देखेको मात्र संसार हुँदैन् । त्यसको अगाडी, पछाडी धेरै कुराहरु छन् ।

म अहिले यत्तिकै पढ्न गएको होइन । मान्छेहरुले बुढेशकालमा पढ्न ‘गईछे’ भनिरहेका छन् । बाल्यकालमा मलाई पढ्न मन नलागेर होइन, मेरो आमाले त्यो बेला पढाउन नसकेर हो । मेरो जीवनको यर्थाथ यही हो । मान्छेले बुढेशकालमा पढ्न गई भन्ने मात्र देखेका छन्, तर त्यो होइन् । मैले १४ वर्षको उमेरदेखि काम गर्नुपर्यो, पढाइलाई निरन्तरता दिन सकिन् । त्यो यथार्थ हो । मेरो आमा र म जस्ता छोरीहरु समाजमा धेरै हुनुहुन्छ । हामीले जति सुकै आधुनिकतालाई अपनाएपनि हाम्रो समाजभित्रको चालचलनमा जे छ, त्यही भोग्नुपर्ने हो ।

एउटा महिला विवाह गरिसकेपछि अर्काको घरमा जाने, श्रीमानको निधन या डिभोर्स भइसकेपछि एक जीवन बिताउनुपर्ने हुन्छ । वैदिक सनातन धर्मभित्र जति चलनहरु छन्, ती सबै निभाउँछौं । त्यसै अनुसार मानिसको जीवन अगाडी बढ्ने हो । जतिसुकैँ आधुनिकता अपनाएपनि मानिसको दिमागबाट त्यो चिज मेटेर गएको छैन् । संविधानमा एकल महिलाको लागि केही न केही लेखिएको छ, सरकारबाट केही सहुलियत पनि दिइएको छ, तर एकल महिलाको जीवन बिताउन त्यो पर्याप्त छैन । विभिन्न समस्या तथा चुनौतीका साथ जीवन बिताउनुपर्ने हुन्छ । त्यही कथा, त्यही भोगाइ देखाइएको छ ।

चलचित्र बगानको प्रचारप्रसारको क्रममा रुपन्देहीको बुटवलमा पत्रकार भेटघाट

– एकल महिलालाई हेर्ने दृष्टिकोणमा पहिले र अहिलेको अवस्थामा केही परिवर्तन भएको छ त ?
त्यस्तो ठूलो परिवर्तन भएको छैन् । कानूनमा केही कुरा लेखिएको होला, राजनीतिक परिवर्तनसँगै केही परिवर्तन पनि आएको होला । तर, मानिसको मानसिकता परिवर्तन भएको छैन । परिवर्तन हुनका लागि अझै केही पुस्ताहरु कुर्नु पर्छ जस्तो लाग्छ । यो फिल्ममा समस्या मात्र होइन समाधान देखाईको छ । परिवारमा एकअर्का प्रतिको दायित्व के हुनु पर्छ त ? भन्ने कुरा पनि यसमा देखाइएको छ ।

– आमाले गर्नु परेको संघर्षलाई याद गर्दा तपाईलाई अहिले पनि उत्तिकै पीडा दिने कुनै कुरा वा घटना छ ?
धेरै छन् । मेरो आमा ३२ वर्षको हुँदा त्यस्तै १२⁄ १३ वर्षकी थिए । आमा तपाइँ बुढी हुनुभयो, क्रिम लगाउनु भन्थे । हरेक बच्चाले आफ्नो आमा राम्रो होस् भन्ने चाहाँदो रहेछ । क्रिम लगाउनु भन्दा, होइन् म ‛विधवा’ भइसके भन्नु हुन्थ्यो । सानैदेखि सुनेको यो शब्द अहिले पनि सुन्दा मुटु घोच्छ । त्यो शब्द सुन्यो किन बाल्यकाल र मेरो आमाले पाएको दुःख याद आउँछ । यो मेरो जीवनको यर्थाथ हो । अरुले नाटक सोच्लान तर यो यथार्थ हो । हाम्रो समाजमा कति महिलाहरु एकल हुनुहुन्छ, तर उहाँहरुको समस्याको बारेमा हामीले कहिले पनि गहिरो गरी सोचेका छैनौं ! रमाइलो सबैलाई गर्न मन लाग्छ नि । यस्तो गर्न हुन्न्, त्यस्तो गर्न हुन्न भन्ने हाम्रो कुरिती छ । संस्कारलाई पो अंगाल्ने हो, तर यो कुरितीलाई हटाउनुपर्छ ।

चलचित्र बगानको प्रचारप्रसारको क्रममा चितवनको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालसँग चलचित्रको टोली

– लामो समय कलाकारिता, त्यसपछि राजनीति अनि फेरि कलाकारितामा फर्कदा अप्ठ्याराहरु केही भए कि ?
राजनीति त हरेक क्षेत्रहरुलाई सबल, सुदृढ र विकासलाइ अंगालेको छ । सबैलाई कुरालाई छोएको छ । यो हामीसँगै छ, हामीले बुझ्न सकिरहेका छैनौं । अभिनय समाज, राष्ट्रसँग नजिक छ । यो विश्वव्यापी भाषा हो, यसले हरेक मानिसको जीवनलाई पढ्छ । कलाकारिता राजनीति भन्दा पनि वृहत छ जस्तो लाग्छ । राजनीति समाधानको पाटो हो, राजनीतिबाट अलग म कहिले पनि भइन्, पार्टीमा आबद्ध हुँना साथ राजनीतिज्ञ हुने यदी नभए नहुने भन्ने हुँदैन् । पार्टी एउटा बाटो मात्रै हो ।

– पछिल्लो समय कलाकारहरुमा अलि बढी निराश छाएको पाइन्छ किन ?
अहिले कलाकारिता क्षेत्रमा मात्रै होइन् सबैतिर उस्तै पीडा छ, समस्या छ । यो उनीहरुले सहजता महशुस गर्न नसकेको हो । त्यसैले यस क्षेत्रमा काम गर्नेहरुलाई त्यही किसिमको काउन्सिलिंग, मार्गदर्शन लगाएतका कार्यक्रमहरु गर्नुपर्ने देख्छु । मान्छेले आत्महत्या किन गर्छन् भन्ने अहिलेसम्म मैले पत्ता पाउन सकेको छैन । जीवन यति सुन्दर छ । दुःख, सुख हुन्छ जीवनमा । आत्महत्या गर्नु भनेको आफूले आफ्नो जिम्मेवारीबोध गर्न नसक्नु हो । एउटा घटना बाहिर आउँदा त्यसले कति जनालाई निराश बनाउँछ । यो कुरालाई निराकरण गर्न राज्य संवेदनशील हुनुपर्छ । धेरै मान्छे निराश छन् । उनीहरुको ओठमा हासो छैन् ।

– हलमा आएर फिम हेर्ने दर्शक घटेका हुन ?
पहिले पहिले मनोरञ्जन भन्ने बित्तिकै सिनेमा मात्रै थियो । अहिले त मनोरञ्जन यति धरै भइसक्यो कि, कसैलाई क्लब जान मन लाग्ला, कसैलाई रेष्टुरेन्टमा खाना खान मन लाग्ला, कोही डाँडामा जान खोज्ला रु कोहीले सिनेमा हेर्ला । सिनेमामा यति धेरै गेट वे आएको छ, नेटफ्लिक्स रे… के-के हो के-के… घरमै सबैकुरा भएपछि हलमा दर्शक घटिरहेका छन् । केही दर्शकहरु छन्, जो हलमा नै जान चाहान्छन् । कुनै पनि सिनेमा आर्टको हिसाबले हेर्नुहुन्छ । सिनेमा एउटा किताब हो, सिनेमालाई महसुस गर्न हलमै जानुहोस् ।

– नेपाली चलचित्रमा कथा बस्तु राम्रोसँग प्रस्तुत गर्न सकेनन् भन्ने आलोचना दर्शकको वारम्बार आईरहेको हुन्छ, यसमा तपाई के भन्नुहुन्छ ?
दर्शकहरु एकदमै सही हुनुहुन्छ । उहाँहरुको आलोचना पनि सही छ । कथालाई स्क्रिनमा भन्ने हो नि, कथा भन्ने बेलामा मान्छेलाई ढुंगा नलागोस् मुखमा । त्यति चाँही हुनुपर्छ जस्तो लाग्छ मलाई । हाम्रो कमजोरी भनेको स्क्रिप्टमा छ । हामीले सुधार गर्नुपर्छ । त्यसको प्रमाण के हो भने, जसको स्क्रिप्ट राम्रो छ, ती चलचित्र राम्रो चलेका छन् । टिम वर्क गरेका फिल्महरु चलेका छन् । हामीले स्क्रिप्ट नै राम्रो बनाउनुपर्छ । हामीसँग कथा छ, कथालाई सही तरिकारले प्रस्तुत गर्नुपर्छ ।

अभिनेत्री करिश्मा मान्नधर

– ‘बगान’मा कलाकार को-को हुनुहन्छ ? कहिले रिलिज हुँदैछ ?
असार २९ गते रिलिज हुन्छ । यसमा सरोज खनाल, म, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मालगायत कलाकार हुनुहुन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com