‘अलविदा सीता ! आदर्श आमाको रूपमा इतिहासले सधैं सम्झिरहनेछ’


प्रकाशित मिति : असार २७, २०८० बुधबार

शान्त, शालिन र अनुशासित सीता दाहाल प्रत्यक्ष राजनीतिमा नदेखिएपनि श्रीमान् पुष्पकमल दाहाललाई माध्यमिक विद्यालयको शिक्षकदेखि प्रधानमन्त्रीसम्मको यात्रामा अनवरत् साथ दिईन् ।  सीता दाहालको जन्म वि.सं. २०११ साल असार २१ गते कास्कीको हेम्जामा भएको थियो । सीता ८ वर्षकी हुँदा आफ्नो परिवारसँगै चितवनको सुन्दरबस्तीमा बसाइ सरेर गएकी थिइन् । सीताको २०२६ साल वैशाखमा प्रचण्डसँग मागि विवाह भएको थियो । विवाहपछि उनी श्रीमान् प्रचण्डकै राजनीतिक गोरेटोमा हिँडिन् ।

सीता २०२८ सालदेखि कम्युनिष्ट पार्टीको सदस्य भएर भूमिगत राजनीतिको पृष्ठभूमिमा सक्रिय भइन् । उनले आमा, श्रीमती र राजनीतिक कार्यकर्ताको रूपमा पार्टीलाई योगदान पुर्याउँदै आइन् । २०२८ देखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध सीता जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै आइन् । उनी पछिल्लो समय माओवादी केन्द्रको सल्लाहकार थिइन् ।

मुलुकमा गणतन्त्रको स्थापनाको लागि भएको जनयुद्धको समयमा श्रीमानको नेतृत्वलाई सफलतामा पुर्याउन आफ्नो जीवन नै बाजी लगाएर सहयोग पर्याएकी थिइन् । पार्टी कामका लागि पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी दाहालले देशमा जनयुद्ध सुरुआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियरूपमा सहभागी भएकी थिइन् ।

जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उनले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्दै आइन् । भूमिगतकालमा प्रचण्डका हरेक आरोह–अवरोहमा सँगसँगै रहेकी सीताको जिन्दगी शान्ति प्रक्रियापछिको शान्ति प्रक्रियामा भने सहज हुन सकेन् । २०७० चैत १३ मा जेठी छोरी ज्ञानु केसीको क्यान्सरका कारण निधन भएपछि सीता राजनीतिबाट पछाडी हटिन् । छोरी ज्ञानुको निधनपछि विक्षिप्त बनेकी सीतालाई ४ वर्षपछि पुनः अर्को बज्रपात आइलाग्यो । २०७४ मंसिर ३ गते सीताले आफ्नो छोरा प्रकाश दाहाललाई पनि गुमाइन् ।

छोराछोरीको निधनपछि मानसिक रुपमा विक्षिप्त बनेकी उनी निको नहुने रोगको सिकार बनिन् । पार्किन्सनलगायत रोगबाट पीडित सीता ६९ वर्षको उमेरमा संसारबाट अस्ताएकी छन् । सीतालाई आदर्श आमाको रूपमा इतिहासले सधैं सम्झिरहनेछ । अलविदा सीता !

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com