न्यायिक प्रणाली परिमार्जन विधेयक पारित भएपछि इजरायलमा व्यापक असन्तुष्टि


प्रकाशित मिति : श्रावण ९, २०८० मंगलबार

इजरायली संसद्ले देशको न्यायिक प्रणालीलाई परिमार्जन गर्ने विवादास्पद योजनाको मुख्य विधेयक पारित गरेसँगै नागरिकमा व्यापक असन्तुष्टि छाएको छ । लगातार २९ हप्तासम्म भएको विरोधप्रदर्शनका बाबजुद विधेयक पारित भएकामा आम नागरिक आक्रोशित भएका छन् ।

विवादास्पद न्यायिक सुधार विधेयकमा सदनमा नै स्पष्ट विभाजन भए पनि मतदानमार्फत पारित भएपछि पेशाकर्मीलगायत सर्वसाधारण आम हडताल र विरोध प्रदर्शनको तयारीमा जुटेका छन् । इजरायली दुई खेमामा विभाजित भएका छन्भने इजरायलका विदेशी सहयोगीले विधेयक पारित भएकामा त्यसको आलोचना गरेका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कट्टर दक्षिणपन्थी सरकारले सोमबार विधेयक पारित गरेपछि त्यसको विरोधमा आज चिकित्सक प्रदर्शनमा उत्रेका छन् । विपक्षीहरूले पनि सडकमा उत्रन आह्वान गरेका छन् जसले कानुन कार्यान्वयनमा चुनौती थपेको छभने सडकमा झडप निम्त्याएको छ । इजरायल मेडिकल एसोसिएसनका प्रमुख सियोन हागेले काम नगर्ने घोषणा गर्दै विरोध जनाएका छन् ।

सोमबार मतदान अघि सबै ५६ जना विपक्षी सांसदले विधेयकका प्रतिलिपिहरू च्यात्नका साथै त्यसको विरोधमा नारा लगाएर मतदान बहिष्कार गरेका थिए । विधेयकको विरोधमा जेरुसेलम र तेल अविभमा पनि प्रदर्शन भएका थिए । संसद् भवन बाहिर हजारौँ प्रदर्शनकारीले इजरायली झण्डा फहराउँदै जुलुस निकालेका थिए । प्रहरीले पानीको फोहोरा हानेर उनीहरूलाई तितरबितर पार्ने प्रयास गरेको थियो ।

मतदानपछि संसद्लाई सम्बोधन गर्दै न्याय मन्त्री यारिभ लेभिनले न्यायिक प्रणालीलाई सुधार गर्ने र सरकारलाई शक्ति फिर्ता गर्ने ऐतिहासिक प्रक्रियाको पहिलो चरण भन्दै त्यसको स्वागत गरेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com